गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । तामाङ पत्रकार सङ्घको २२ औँ स्थापना दिवसका अवसरमा तीन सञ्चारकर्मी र नाट्यकर्मीलाई पुरस्कृत गरिएको छ । तामाङ पत्रकार सङ्घ, काठमाडौँद्वारा आइतबार आयोजित कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा ‘रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार’ १५ हजारसहित सञ्चारकर्मी सुनील दोङ तामाङ, ‘दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार’ १० हजार रुपियाँसहित सञ्चारकर्मी अञ्जु डिम्दोङ तामाङ र ‘तामाङ मातृभाषा पत्रकारिता पुरस्कार’ १० हजार रुपियाँसहित सञ्चारकर्मी वीरमान तामाङले पाउनुभयो । त्यसै गरी लेखक एवं सञ्चारकर्मी रवीन्द्र तामाङकी आमाको नाममा राखिएको ‘कालिका तामाङ नारी प्रतिभा’ पुरस्कारबाट पाँच हजार रुपियाँसहित नाट्यकर्मी शान्ति वाइबा तामाङ पुरस्कृत हुनुभयो ।
मन्त्री कुलमान घिसिङले सञ्चारकर्मीले आफ्नो धर्म निर्वाह गर्दा समाज, राष्ट्र र नेपालीको हित गर्ने विषयमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हालको अवस्थामा आगामी निर्वाचनबाट सही नेतृत्व चयन होस् भन्नेतर्फ पनि आमनागरिकलाई सचेतना फैलाउने काममा सञ्चारकर्मीको योगदान हुने बताउनुभयो । उहाँले तामाङ सञ्चारकर्मीको मूलधारका सञ्चार माध्यममा पनि संलग्नता बढ्दै गएको सन्दर्भमा तामाङ पत्रकार सङ्घको २२ वर्षको इतिहासलाई निरन्तरता दिन नयाँ पुस्तालाई यस क्षेत्रमा आउन पनि प्रोत्साहन दिन सक्नुपर्ने भनाइ राख्नुभयो ।
सङ्घका संस्थापक रवीन्द्र तामाङले तामाङ पत्रकार औँलामा गन्न सकिने बेलामा पत्रकारलाई सङ्गठित गर्न स्थापना गरिएको तामाङ पत्रकार समूह हुँदै सङ्घसम्मको यात्रा तय गर्दा तामाङ पत्रकारको प्रोत्साहनका लागि निरन्तर काम गर्न सफल भएको बताउनुभयो । पुरस्कृत सञ्चारकर्मी सुनील दोङले करिब डेढ दशकको पत्रकारिता पेसामा रहँदा भोग्नु परेको सङ्घर्षबारे चर्चा गर्दै निरन्तर काम गर्दा पुरस्कृत हुने अवसर पाएको बताउनुभयो । उहाँले प्राप्त गर्नुभएको रवीन्द्र पत्रकारिता पुरस्कारको नगद राशि १५ हजार रुपियाँ सङ्घको तामाङ पत्रकार कोषमा जम्मा गर्नुभएको छ ।