• १४ जेठ २०८१, सोमबार

सद्भावका देवता सेतो मच्छिन्द्रनाथकाे रथजात्रा सुरु

blog

सेतो मच्छिन्द्रनाथकाे जात्रा । फाइल तस्बिर ।

काठमाडौं, वैशाख ४ गते । हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सुरु हुन्छ । राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ ।

१० औँ शताब्दीमा मल्लयुगमा निर्माण गरिएको सेतो मच्छिन्द्रनाथको मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ । रथयात्राको पहिलो दिन रथलाई जमल, घण्टाघरबाट तानेर असनसम्म पुर्‍याइन्छ भने भोलिपल्ट असनबाट हनुमानढोका अगाडिसम्म रथ तानिन्छ । विधिवत् रूपमा पुजारीहरूले सेतो मच्छिन्द्रनाथलाई निकालेपछि त्यसको भोलिपल्ट रथ जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । त्यस्तै, भोलिपल्ट असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमानढोका र वैशाख ५ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन  पुर्‍याइन्छ 

यसैगरी, रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सिमा नामक रुखलाई दुई पटक परिक्रमा गरेपछि पुन: लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म  पुर्‍याइन्छ । यसपछि भने विधिवत् रूपमा पुजारीहरूले रथबाट निकालेर सानो खटमा राखेर सिन्दुर जात्रा गरेर जनबहालमा पुनः विराजमान गरी जात्रा समापन गर्ने परम्परा छ ।

सेतो मच्छिन्द्रनाथको पुजारीको जिम्माबाट अवकश लिइसक्नुभएका नीलकाजी शाक्यका अनुसार जगतप्राणी अर्थात् सम्पूर्ण संसार, कीटाणु, जीवजन्तुलगायत सबैको उद्धार र दीर्घजीवनका लागि करुणामय भगवानको उत्पत्ति भएको किम्बदन्ती छ । उहाँ भन्नुहुन्छ, सबैलाई करुणाका दृष्टिकोणले हेर्ने र बोधिसत्त्व प्राप्त भए पनि बोधिसत्त्व नलिनु भएको भगवानको रूपमा सेतो मच्छिन्द्रनाथलाई लिने गरिन्छ । बोधिसत्त्व वा बोधिचित्त अर्थात् सबैको भलो गर्नु वा आयु आरोग्य हुने हो । 

शाक्य भन्नुहुन्छ, “सेतो मच्छिन्द्रनाथलाई विश्वका सम्पूर्ण प्राणीहरूको उद्धार गर्ने भगवानको रूपमा पुजिने कारणले यो जात्रा नेवार समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीको रूपमा लिन सकिन्छ ।” उहाँका अनुसार सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको स्थापनासँगै यो जात्रालाई निरन्तरता दिएको पाइन्छ ।

विश्वलाई अपनत्व महसुस गराउने प्रयत्नले सेतो मच्छिन्द्रनाथको जात्रा सञ्चालन गरिरहेको उहाँको भनाइ छ । नेपाली जनतामा धर्म र संस्कृतिलाई संवर्द्धन, प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भावनाको विकास भएको कारण यो जात्रा अझै पहिलेभन्दा व्यवस्थित र हर्षोल्लासका साथ मनाउने गरेको उहाँ बताउनुहुन्छ । 

“हाम्रो धर्म, संस्कृति, समाज र प्रगतिसँग सम्बन्ध भएको आस्थाका देवता हुन् सेतो मच्छिन्द्रनाथ अर्थात् करुणामय । बिहानै काग उठ्नुअघि चोखो पानीले महास्नान गराइ पूजाआजा गरेर दिने प्रसाद सेतो मच्छिन्द्रनाथको सेतो टीका प्रसाद हो, यसको पनि छुट्टै महत्व छ” शाक्यले भन्नुभयो । यस्तै, मच्छिन्द्रनाथको महास्नानको समयमा दशकर्म विधिअनुसार जन्मोत्सव, विवाह, गुफा राख्ने गरिन्छ । जस्तै करुणामयलाई महिलाको स्वरुपमा पूजा गरिन्छ त्यसैले महास्नान, बेल विवाह सबै नियमपूर्वक गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

“यसैगरी, महिलाको रुपलाई पनि सम्मान र पुरुषको रुपलाई पनि सम्मान दिनुपर्छ भन्ने भगवानको पालादेखि नै चलिआएको मानिन्छ”, शाक्य भन्नुहुन्छ,  “महिला र पुरुषको सिम्बोलिक अर्थात् महिला र पुरुषलाई छुट्याउन नहुने भन्ने पनि योसँग जोडिएको छ ।” 


यस्तै, रथको 'घमा’ अर्थात् नागराजा । रथको पाङ्ग्राको छुटै धार्मिक महत्व रहेको शाक्य बताउनुहुन्छ । "रथको चार वटा पाङ्ग्रालाई भैरव प्रतीकको रूपमा पनि पुज्ने चलन छ । रथको हरेक भागले विभिन्न भगवानको प्रतीकको सङ्केत गर्दछ" उहाँले भन्नुभयाे ।

सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीक हो । सेतो मच्छिन्द्रनाथलाई हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको मानिन्छ । 

काठमाडौं उपत्यकामा चार लोकेश्वर छन् । सद्भावका देवताका रूपमा सेतो मच्छिन्द्रनाथ, रोग र सम्बन्धविच्छेदको व्यवस्थापन गर्ने चोभारका आनन्दादि लोकेश्वर, वर्षा र सहकालका देवताका रूपमा बुङ्गमतीका रातो मच्छिन्द्रनाथ, सृष्टि र संहारको व्यवस्थापन गर्ने देवताका रूपमा नालाका सृष्टिकान्ता लोकेश्वरलाई पुज्ने चलन छ ।