• १० कात्तिक २०८१, शनिबार

'नेतृत्वमा पुग्न सबैभन्दा पहिले आफैँसँग लडाइँ लड्नुपर्छ'

blog

कार्यक्रममा धारणा राख्नुहुँदै पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे ।

काठमाडौँ, असोज १६ गते । पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा प्रतिनिधि सभाका पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नेतृत्वमा अघि बढ्न सबैभन्दा पहिले आफैँसँग लडाइँ लड्नुपर्ने बताउनुभएको छ । 'टुगेदर बि लिड' भन्ने नारा सहित सञ्चारीका समूहले आयोजना गरेको 'टक सिरिज' कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "नेतृत्वमा पुग्न सबैभन्दा पहिले आफैँसँग लडाइँ लड्नुपर्छ । अघि बढ्नका लागि मैले के गर्छु र के गर्न सक्छु भन्ने विषयलाई प्राथमिकता दिनुपर्छ । जबसम्म भित्रबाट म आफैँ तयार हुँदिन तबसम्म अघि बढ्न सकिँदैन ।" 

उहाँले राजनीतिमा सर्वसाधारणको भावनालाई प्रतिनिधित्व गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । राजनीति सामान्य विषय नभएर सिङ्गो मुलुकलाई डोर्‍याउने एक माध्यम भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "राजनीति सजिलो विषय होइन । यसका विभिन्न पाटाहरू हुन्छन् । हामी सबै राजनीतिसँग जोडिएका छौँ ।" 


"महिलालाई नेतृत्व तहमा पुर्‍याउनका लागि महिला र पुरुषको एउटै आवाज बनाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । महिलालाई नेतृत्व तहसम्म पुर्‍याउनका लागि महिला र पुरुष दुवैले आवाज उठाउनुपर्छ", उहाँले भन्नुभयो । 

नेपालमा धेरै लामो समयसम्म महिला आन्दोलन चल्यो । महिलाका लागि हामीले महिलालाई नै अगाडि बढायौँ । तर यो महिला आन्दोलनमा महिलालाई मात्रै अगाडि बढाउँदा हामी पुग्नुपर्ने ठाउँमा पुग्न सक्दैनौ भन्ने पुष्टि भइसकेको उहाँको तर्क छ ।

यस्तै, उहाँले नेतृत्व तहसम्म पुग्न महिलाले आफ्नो कार्यक्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो अनुभव र अरूको अनुभवको आधारमा आफूलाई सक्षम बनाउनुपर्नेमा महिला अग्रसर रहनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "महिला पुरुषसँग प्रतिस्पर्धा गरी अब्बल बनेर देशको नेता बन्न सक्छन् । तर महिलाले प्रतिस्पर्धामा टिक्न सक्ने क्षमताको विकास गर्न नसके अहिलेको अवस्थाभन्दा अगाडि बढ्न समस्या पर्नसक्छ ।" 

तुम्बाहाङ्फे भन्नुहुन्छ, "सबै क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने हेतुले संविधानमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरिए पनि राजनीतिक दलभित्र नै महिलाको सहभागिता कम छ ।" 

राजनीतिमा महिला आफैँ अघि बढ्नुपर्ने उहाँको सुझाव छ । अरूको भरोसामा अगाडि बढ्दा कुनै औचित्य नहुने उल्लेख गर्दै उहाँले पहिले 'म' र 'हामी' अगाडि बढ्न सक्छौँ भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउनुभयो । 

"पितृसत्तात्मक सोचसँग लड्ने क्षमताको विकास आफैँले गर्नुपर्छ । नेपालमा सबै महिला र पुरुष महिलावादी हो", उहाँले भन्नुभयो, "महिलाको अधिकारको लागि महिला मात्र हैन पुरुष पनि सँगसँगै बोल्नुपर्छ । जबसम्म महिलाको हक र अधिकारको लागि महिला र पुरुष सँगसँगै अघि बढ्दैनन्, देश विकासतिर उन्मुख हुँदैन ।"

यसैगरी, उहाँले पुरानो दल र नयाँ दलको आआफ्नो भूमिका रहेको बताउनुभयो । "यो मुलुकमा पुरानो दल नभइदिएको भए अहिले हामीले के खोजेका थियौँ त्यो कतै पाउँथ्यौँ ? यो सोच्ने विषय हो", उहाँले प्रश्न गर्नुभयो । 


पुराना दलले पहिलेभन्दा अहिले आफूलाई परिमार्जित गर्दै आएको उहाँको ठहर छ । 

"७० वर्षको लामो अन्तरालमा हामीले एक महिला मुख्य सचिव पाएका छौँ । यसमा हामी गौरव गरौँ । पुरानो दलले पितृसत्तात्मक सोच राखेर महिलालाई अगाडि बढाउनुपर्छ भन्ने सोच नआएको भए हामीले अहिले महिला मुख्य सचिव पाउने अवस्था थिएन", उहाँले भन्नुभयो ।

"आजको दिनसम्म हामीले धेरै कुरा पाएका छौँ । पुराना दलले महिलामा कुनै लगानी नगरेको भए हामी आज जुन ठाउँमा छौँ, त्यहाँ पुग्न सक्दैन थियौँ । नेपालको संविधान २०७२ ले महिलाको हक र अधिकारलाई लिपिबद्ध गर्ने यही पुरानो पार्टी हो । कुनै नयाँ पार्टीले गरेको हैन," उहाँले थप्नुभयो ।