• ५ मंसिर २०८२, शुक्रबार

निजामती कर्मचारी : पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित

blog

परीक्षा तयारी गर्नकै लागि कर्मचारीहरूले सेवाग्राहीको चाप कम हुने कार्यालयमा सरुवा हुन भनसुनसमेत गर्ने गरेका छन् । 

काठमाडौँ, मङ्सिर ५ गते । निजामती कर्मचारीमा नियमित वृत्तिविकास नहुँदा कर्मचारी बिदा लिएर वा कार्यालय समयमा नै पढेर बस्न बाध्य भएका छन् । कतिपय कर्मचारी बिदा लिएर लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका छन् भने कतिपय कर्मचारी कार्यकक्षमै बसेर पढ्ने गरेका छन् । कर्मचारीको पढ्नमै अर्जुनदृष्टि हुँदा सेवाप्रवाहमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको छ । 

यसअघि आठदेखि १० वर्षमा हुने निजामती कर्मचारीको नियमित बढुवा अहिले १५ वर्षसम्म पनि नहुँदा कतिपय निजामती कर्मचारी लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कार्यकक्षमै र बिदामा बसेर परीक्षाको तयारी गर्न बाध्य छन् । परीक्षा तयारीले काममा बाधा नपरेको दाबी गरिए पनि कर्मचारी बिदामा बस्दा काममा चाप पर्न सक्ने छ । 

सचिव र सहसचिव पदमा धेरै कर्मचारी हुँदा नयाँ नियुक्ति हुने शाखा अधिकृतका लागि सचिवसम्म पुग्ने बाटो नै ‘ब्लक’ भएको छ । यसले पनि कतिपय कर्मचारी कार्यालयमा नै बसेर र बिदा लिएर पढ्ने गरेका हुन् ।  

छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति हुँदा भने कर्मचारी बढुवाकै लागि कार्यालय समयमा परीक्षाको तयारी गरेर बस्ने अवस्थाको अन्त्य हुने थियो । लोक सेवा आयोगले हरेक वर्ष खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरेको छ ।   

लोक सेवा आयोगले असोजदेखि सहसचिव हुँदै फागुनसम्म खरिदारसम्मको परीक्षा कार्यतालिका सार्वजनिक गर्दै आएको छ । परीक्षाको कार्यतालिका सार्वजनिक भएसँगै बढुवाका लागि भन्दै कर्मचारी कार्यालयमा नै र कतिपय बिदामा बसेर परीक्षाको तयारीमा जुटेका हुन् ।  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत उपसचिव प्रदीप पौडेलले सेवाग्राहीको काम नै रोकेर कर्मचारी पढेर नबसेको दाबी गर्नुभयो । “सेवाग्राहीको चाप कम हुने काम नभएको समयमा कोही कर्मचारी मोबाइल चलाउनुको सट्टा अध्ययन गरेर बसेको हुन सक्छ । यसलाई नकारात्मक रूपमा लिनु हुँदैन,” उहाँले भन्नुभयो, “लामो समयसम्म बढुवा नहुँदा यसका लागि कर्मचारीले परीक्षाको तयारी गर्ने गरेका हुन् ।”   

नायब सुब्बाको परीक्षाअघिदेखि परीक्षा अवधिभर खरिदार अनुपस्थिति, शाखा अधिकृतका लागि नायब सुब्बा अनुपस्थिति, उपसचिवको परीक्षा हुँदा शाखा अधिकृत अनुपस्थित र सहसचिवको परीक्षा हुँदा उपसचिव अनुपस्थित हुने गरेको मन्त्रालयले नै स्वीकार गरेको छ ।

निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले निजामती कर्मचारीमा लामो समयसम्म वृत्ति विकास अवरुद्ध हुँदा कर्मचारी बिदा लिएर वा सेवाग्राहीको सेवामा अवरुद्ध नगरी कार्यालयमै बसेर पढ्न बाध्य हुनुपरेको बताउनुभयो । “राजपत्र अनङ्कित पदहरूमा १९ वर्षदेखि राजपत्राङ्कित पदहरूमा १६ वर्षसम्म पनि कर्मचारीको बढुवा नहुँदा कर्मचारीमा निराशा पैदा भएको छ । सेवाग्राही र कार्यालयको नियमित काममा बाधा नपु¥याई कर्मचारी पढेर बस्नुलाई अन्यथा बुझ्नु हुँदैन ।”  

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता निता पोखरेल अर्यालले कार्यालयमा नै बसेर कर्मचारीले अध्ययन नगरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै कर्मचारीले कुनै प्रसङ्गमा कार्यालयमा पुस्तक अध्ययन गरेको हुन सक्छ तर त्यसलाई सेवाग्राहीको काममा अवरोध गरेर पढेरै बसेको भन्न मिल्दैन ।” कर्मचारी लामो समयसम्म बढुवा नहुँदा स्तरवृद्धिका लागि परीक्षाको तयारी स्वाभाविक भएको मन्त्रालयले जनाएको छ । 

परीक्षा तयारीकै लागि सरुवा

परीक्षा तयारी गर्नकै लागि कर्मचारीहरूले सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । 

विघटित प्रतिनिधि सभाबाट राष्ट्रिय सभा हुँदै पुनः प्रतिनिधि सभामा फर्केको सङ्घीय निजामती सेवा विधेयकमा बढुवाका लागि न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता पूरा भएका कर्मचारीलाई केही सहज हुने गरी प्रस्ताव गरिएको थियो । प्रतिनिधि सभा विघटनका कारण सो विधेयक शून्य अवस्थामा पुगेको छ ।