• ३० वैशाख २०८३, बुधबार

कर्मचारीलाई दुध र घिउ कटौती

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको दुुध र घिउको सुविधा रोक्न निर्देशन दिनुभएको छ । संस्थान लामो समयदेखि घाटामा गएर धराशायी अवस्थामा पुगेपछि कर्मचारीले पाउँदै आएको सुविधा मन्त्री चौधरीले कटौती गर्न निर्देशन दिनुभएको हो । 

डिडिसीका कर्मचारीले दैनिक एक लिटर दुध र महिनामा एक केजी घिउ पाउँदै आएका थिए । नियमविपरीत र अनावश्यक रूपमा दैनिक दुध र मासिक घिउ सित्तैमा घर लैजाँदा एकातिर संस्थान घाटामा जाने र अर्कातिर किसानले दुधको भुक्तानी नपाएर सडकमा दुध पोख्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री चौधरीले सो सुविधा कटौती गर्नुभएको हो । 

कर्मचारीले पाउँदै आएको सो सुविधा कटौती भएपछि वार्षिक दुई करोड ८५ लाख रुपियाँ जोगिने मन्त्रालयले जनाएको छ । कर्मचारीको सुविधा कटौती गरेर जोगिएको उक्त रकम अब किसानको बाँकी बक्यौता भुक्तानी गर्ने र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ । 

हाल संस्थानले देशभरबाट दैनिक करिब ७० हजार लिटर दुध सङ्कलन गरिरहेको छ तर बजारमा दैनिक माग ५० देखि ६० हजार लिटर माग रहेको छ । मागभन्दा बढी सङ्कलन भएको दुधलाई धुलो दुध र बटरमा रूपान्तरण गरी भण्डारण गरिँदा संस्थानको ठुलो रकम थुप्रिएको डिडिसीले जनाएको छ ।

डिडिसीका अनुसार ८० करोड रुपियाँ बराबरको पाँच सय मेट्रिक टन धुलो दुध र ३५० मेट्रिक टन बटर मौज्दात रहेको छ । बटर र धुलो दुध मौज्दात रहेकाले किसानको भुक्तानी समयमा गर्न नसकेको डिडिसीले जनाएको छ । गत माघदेखिको दुध खरिद गरेको रकम भुक्तानी गर्न बाँकी रहेको डिडिसीले जनाएको छ । जसमा तीन महिनाको ६० करोड रुपियाँ रहेको छ ।