कोकिला ढकाल
इलाम, वैशाख ३० गते । नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि चिया क्षेत्र नै सङ्कटमा परेको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) मा कडाइ गरेपछि नेपाली चिया निकासी बन्द जस्तै भएको छ ।
निकासीमा कडाइ भएपछि तयारी अवस्थामा रहेको उच्च गुणस्तरको मानिने ‘फस्ट फ्लस’ नै गोदाममा थन्क्याउनु परेको उद्योगीले बताएका छन् । अहिले करिब पाँच लाख किलो ‘फस्ट फ्लस’ निकासीको तयारी अवस्थामा थियो । मे १ यता अहिलेसम्म दुई वटा गाडीमा आठ हजार किलो चिया मात्र निकासी भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षण गर्न कोलकाता पु¥याउनुपर्ने र त्यसको नतिजा आउन करिब १५ दिन लाग्ने जानकारी समेत झापाको मेची भन्सार कार्यालयलाई दिएको छ ।
“भारतको पानीट्याङ्कीस्थित कस्टमले हामीलाई नजिकमा प्रयोगशाला नभएको र नयाँ नियम लागु भएसँगै चियाको नमुना कोलकाता पठाउन र त्यसको नतिजा आउन १५ दिन लाग्ने जानकारी पठाएको छ ।” मेची भन्सार कार्यालयका सूचना अधिकारी हुमगाईंले भन्नुभयो, “त्यसयता नेपालबाट खासै चिया निकासी भएको छैन ।”
चिया निकासी र बिक्री नहुँदा त्यसको असर नेपाली साना किसानदेखि विद्यालय जाने बालबालिका समेतमा पर्ने गरेको छ । चिया बिक्री गरेर छोराछोरी पढाउने र दैनिक घरखर्च चलाउने साना किसानसम्म यो समस्या आएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । “भारतले भने अनुसारको नियम पूरा गर्न उद्योगी, सहकारी र व्यापारीले खर्च धान्न सक्ने अवस्था छैन । अब किसानको हरियो चिया नै बिक्री हुने अवस्था रहँदैन ।”
राईले भन्नुभयो, “सरकारले चियाका लागि ध्यान दिएन भने विदेशी मुद्रा आर्जन गर्न मात्र होइन, साना किसानको हातमुख बन्द हुने अवस्था रहन्छ ।” राईले अन्तर्राष्ट्रिय नासा, आइओएम जस्ता संस्थाबाट अर्गानिक प्रमाणीकरण भइरहेको चियालाई समेत निकासीमा समस्या भएको जानकारी दिनुभयो ।
निकासी ठप्प भएपछि इलामबाट चिया उद्योगी र किसानको टोली समाधान खोज्न राजधानी काठमाडौँ पुगेको छ । चिया उद्योगीको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले विभिन्न छबुँदे माग तथा ध्यानाकर्षणपत्र प्रधानमन्त्रीलाई बुझाएको छ । ज्ञापनपत्रमा एउटा गाडीको एक पटक परीक्षणका लागि नेपाली २५ हजार रुपियाँ लाग्ने गरेको उल्लेख छ । त्यसको नतिजा आउन १५ दिन लाग्ने र १५ दिनसम्म चिया बोकेको गाडी भारतीय सीमाभित्र पानीट्याङ्कीमा राख्नुपर्ने तथा गाडीको खर्च पनि उत्तिकै लाग्ने बाध्यता उल्लेख गरिएको छ । ज्ञापनपत्रमा सरकारले ‘जिटुजी’ मार्फत कूटनीतिक पहल गरेर समाधान खोज्न आग्रहसमेत गरिएको छ ।
चियाको समस्या र त्यसको समाधान विषयमा नेपाल सरकारको उद्योग, अर्थ, कृषि, परराष्ट्र मन्त्रालयका सचिवसँग छलफल भएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो । “सचिवसँगको छलफलमा जिटुजी माध्यमबाट समस्या समाधान गर्ने आश्वासन आएको छ तर अब चिया कसरी निर्यात गर्नै भन्ने कुनै टुङ्गो लागेको छैन,” कट्टेलले भन्नुभयो, “यस्तो समस्या पटक पटक आएको हो, यो नयाँ होइन, सरकारको कूटनीतिक पहलबाट मात्र समाधान हुन सक्छ । हामी सरकारको ध्यानाकर्षण गराउँछौँ । नत्र सबै उद्योग बन्द गर्नुको विकल्प छैन ।” ज्ञापनपत्रमा चिया क्षेत्रमा १५० भन्दा बढी उद्योग रहेको, ३० हजारभन्दा बढी किसान तथा ५० हजारभन्दा बढी श्रमिक आश्रित रहेकाले चिया निकासी सहज नहुँदा उद्योगदेखि श्रमिकसमेतको अवस्था समस्यामा रहेको जनाइएको छ ।
यता आव २०८२÷८३ को चैत मसान्तसम्म दुई अर्ब ५८ करोड ८५ लाख रुपियाँ मूल्य बराबरको चिया निकासी भएको मेची भन्सार कार्यालयको तथ्याङ्क छ । त्यसै गरी यो समयमा ९९ लाख ४९ हजार ७९४ किलो चिया निर्यात भएको छ ।