इलाम, जेठ ११ गते । चलचित्र पत्रकार संघले २६ औँ स्थापना दिवसको अवसरमा पर्यटकीय स्थल श्री अन्तुमा विभिन्न कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ ।
चलचित्र पत्रकार संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ सार्वजनिक भएको छ । घोषणा पत्रमा इलामको दश वटा स्थानीय तहमा नेपाली चलचित्र र पर्यटन विकास विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न माग गरिएको छ ।
यस्तै, नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर याेगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य, समन्वय गरी प्रोत्साहन र प्रवर्द्धनका लागि आग्रह गरिएको छ ।
सरकारले पत्रकारसम्बद्ध संघ संस्थालाई दिँदै आएको सहुलियत अनुदान रकम न्यून भएकाले चलचित्र पत्रकार संघ नेपालले अनुदान समेत प्राप्त गर्न सकेको छैन। चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरिएको छ ।
कार्यक्रमको पहिलो दिन अर्थात् जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्याउनुभएका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, अभिनेता शिव श्रेष्ठ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठसहित चलचित्र पत्रकारको उपस्थिति थियो ।

चलचित्र विकास र्बोडका अध्यक्ष दिनेश डिसीले वर्तमान अवस्थामा चलचित्र र चलचित्र पत्रिकारिताका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे । उहाँले आम दर्शकलाई नेपाली चलचित्र बुझाउन नेपाल चलचित्र विकास बोर्डले ठुलो भूमिका रहेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, "चलचित्र र पत्रकारबिच नङ र मासुको सम्बन्ध छ । यी दुई एक अर्का बिना चल्न सक्दैनन् । त्यसैले चलचित्र पत्रकारमा यस क्षेत्रको सम्पूर्ण ज्ञान हुनुपर्छ ।"
कार्यक्रमको ‘मिडिया मन्थन’ मा अभिनेत्री गौरी मल्लले चलचित्र पत्रकारले आफ्नो मान र मर्यादा विर्सन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, "नेपाली चलचित्र दर्शकमाझ पुर्याउनुमा चलचित्र पत्रकारको ठुलो भूमिका छ ।"

कार्यक्रममा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ (५५,५५५ नगद), विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ (५१,००० नगद) प्रदान गरिएको छ ।
यस्तै, रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसीप्रसाद निरौलालाई कोसी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई २५,००० नगद) प्रदान गरिएको हो ।

चलचित्र पत्रकारको श्रीअन्तु ११ बुँदे घोषणा पत्र



 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                