• १५ वैशाख २०८१, शनिबार

मिस पवी म्युजिक भिडियोको छायाङ्कनमै व्यस्त

blog

मिस पवी, पवित्रा साकी

काठमाडौं, जेठ २९ गते । केही वर्षयता सामाजिक सञ्जाल टिकटक हरेक उमेर समूहमा लोकप्रिय बन्दै गएको छ। टिकटकमा मनोरञ्जनात्मक सँगसँगै सामाजिक विषयवस्तुमा आधारित विषयको भिडियोसमेत राख्ने चलन बढेको छ। 

कोरोनाको समयमा अर्थात् लकडाउनमा मनोरञ्जनका लागि बनाइएको टिकटकमार्फत् जीवनको नयाँ अध्याय सुरु गर्नुभएको छ पवित्रा साकी अर्थात् मिस पवीले।आफूलाई पबीको नामले नै चिनेको मन पराउने मिस पवीको वास्तविक नाम पवित्रा साकी हो। पछिल्लो समय म्युजिक भिडियोको छायाङ्कनमै व्यस्त र मस्त रहने मिस पवी कलाकारितामा उडाउँदो नाम हो।

डडेलधुरामा जन्मिनुभएकी पवित्रालाई घर परिवारमा सबै जनाले पवी नामले बोलाउने गर्थे। तर टिकटकबाट उहाँले मिस पवीको यात्रा सुरु गर्नुभयो। उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जालमा प्रायले आफ्नो वास्तविक नाम राख्दैनन्, त्यसैगरी मैले पनि मिस थपेर नाम राखेकी थिएँ। सुरुमा टिकटक चलाउँदा पवित्रा राखेँ तर पवित्रा भन्न धेरैलाई गाह्रो भएको कारण सानो र सजिलो हुने नाम पवी राखेँ। 

पवी टिकटक बनाउँदाका पुराना दिन सम्झिनुहुन्छ, ‘‘म टिकटक पहिलेदेखि नै हेर्थेँ तर बनाउँदिन थिएँ। अरूको टिकटक हेरेर म दङ्ग हुन्थेँ। पछि लकडाउनपछि फुर्सदको समयमा आफूले पनि मनोरञ्जनका लागि टिकटक बनाउन सुरु गरेँ। सुरुमा अरूले जस्तै गीतहरूमा लिप्सिङ् गरेर बनाउँथेँ। तर पछि आफ्नै भाषा बोलेर सानो भिडियो बनाउन सुरु गरेँ। 

पहिलो टिकटक डोटेली भाषामा 

“सुरुमा आफैँले बोलेको मलाई आफैँलाई मन पर्दैन थियो। गत वर्ष म, बहिनी र साथी मेलामा गएका थियौँ। मेलामा पुग्न हामी तीनैजना उकालो ओरालो हिँड्दै जानुपर्ने, डेडेलधुरा गाउँघरको बाटो उकालो ओरालो गर्दै पुग्ने र फर्कियौँ। यसरी हामी साथीसाथी बसेर आफ्नै भाषामा भिडियो बनायौँ,” पवी सम्झिनुहुन्छ,, “आफूहरू रमाउन वा थकाइ मार्न बनाएको टिकटकको भिडियोले एकदमै राम्रो भ्यूज पायो। त्यसपछि फेरि बनाउन मन लाग्यो, भ्यूज पनि बढ्दै गयो। टिकटमा सबैले डोटेली भाषाप्रति विभिन्न प्रतिक्रियासँगै अझै धेरै बोल्न प्रेरित गर्नुभयो। जस कारण आज म यहाँ काठमाडौंसम्म पुगेकी छु।” 

सुरुवाती दिनमा टिकटकमा उहाँलाई धेरै यो कुन देशको भाषा हो भनेर प्रश्न गरेका छन्। त्यो समय सम्झँदै उहाँ भन्नुहुन्छ, ‘‘मलाई टिकटकमार्फत सुदूरपश्चिम र डोटेली भाषाको बारेमा सबैलाई बुझाउन मन लाग्यो। यो नेपालको सुदूरपश्चिम डडेल्धुराको डोटेली भाषा भनेर मैले बुझाएँ। सबैजनाले अझै धेरै बोल्न प्रेरित गर्नुभयो। मनोरञ्जनका लागि ख्यालख्यालमै आफ्नो भाषामा बनाएको टिकटकको भिडियोले मेरो कलाकारिताको यात्रा तय गर्‍यो।” 

यसरी उहाँलाई म्युजिक भिडियो, विज्ञापनमा अभिनय गर्ने प्रस्ताव आउन सुरु भयो। मिस पवीले म्युजिक भिडियोमा काम सुरु गर्नुभएको करिब ६ महिना भयो। यो छोटो अवधिमा उहाँले लगभग ३० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ। 

कलाकारिताका चुनौती 

सानैदेखि कलाकार देशको गहना हो भन्ने सुन्दै हुर्किनुभएकी पवित्रालाई कलाकारहरू आकर्षणको केन्द्रबिन्दु भन्ने लाग्थ्यो।  उहाँ भन्नुहुन्छ, ‘‘जुनसुकै काम आफूले सुनेको र भोग्नुपरेकोमा फरक हुँदो रहेछ। हुन त सबै काममा आआफ्नै चुनौती होलान् तर कलाकारितामा अझै चुनौती छ जस्तो लाग्छ मलाई। सुनेको भन्दा भोगेपछि मात्रै बुझिने रहेछ।”

हाल मिस पवीको सामाजिक सञ्जाल टिकटकमा नौ लाख ८० हजारभन्दा बढीले पछ्याइरहेका छन्। मिस पवीसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :