राममणि दाहाल
मकवानपुर, मङ्सिर ५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडकलगायत पूर्वाधार विकासमा भारतको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनुभएको छ । भारत सरकारले विपत्को समयमा आपत्कालीन प्रयोगका लागि प्रदान गरेको बेलिब्रिज बिहीबार हेटौँडामा हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री घिसिङले नेपालको दिगो विकासमा भारतले निरन्तर सहयोग गर्दै आएको बताउनुभएको हो ।
बाढीपहिरोका कारण सम्पर्कविच्छेद भएका देशका विभिन्न स्थानलाई सडक सञ्जालसँग जोड्न भारत सरकारले नेपाललाई थप १० वटा बेलिब्रिज अनुदानमा प्रदान गरेको छ । भारतले गत वर्ष पनि १० वटा बेलिब्रिज दिएको थियो । ती बेलिब्रिज कान्ति लोकपथसँगै इलाम, दोलखा, रामेछापलगायतका जिल्लामा प्रयोगमा ल्याइएको छ । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो ।
यस वर्ष भारत सरकारले अनुदानमा दिने पुलमध्ये प्रारम्भिक एउटा बेलिब्रिज उपलब्ध गराएको र बाँकी नौ वटा पुल आउनेक्रममा रहेको जानकारी दिइएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मन्त्री घिसिङलाई बेलिब्रिज हस्तान्तरण गर्नुभएको थियो ।
बेलिब्रिज हस्तान्तरण कार्यक्रममा मन्त्री घिसिङले भारत सरकारको सहयोगमा निर्मित त्रिभुवन राजपथ, हुलाकी राजमार्गलगायत पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने मार्गले यातायातको पहुँच विस्तार गरी नागरिकलाई सेवा र बजारसँग जोडेको भन्दै ती सडकले क्षेत्रीय एवं राष्ट्रिय रूपमा सडक सञ्जाललाई जोड्दै विकासमा सहयोग पु¥याएको बताउनुभयो ।
“भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, छात्रवृत्तिलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ,” मन्त्री घिसिङले भन्नुभयो, “नेपाल र भारतबिच जनस्तरमा सम्बन्ध रहँदै आएको छ । नेपालको विकासमा भारत विश्वसनीय र भरपर्दो साझेदारका रूपमा रहेको छ ।”
विनाशकारी भूकम्प, बाढीपहिरोलगायतका सङ्कटमा भारतले गरेको द्रुत र उद्धार सहयोग स्मरण गर्दै मन्त्री घिसिङले भन्नुभयो, “सीमापार रेल सञ्जाल, विशेष गरी जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास लाइन र जोगबनी–विराटनगर कोरिडोर विस्तारमा भारत सरकारको महत्वपूर्ण सहयोग रहेको छ ।” उहाँले नेपाल र भारतबिच भविष्यमा हरित पूर्वाधार, जलवायु–उत्थानशील यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्य गर्न सकिने बताउनुभयो ।
बढी लम्बाइको बेलिब्रिज बजारमा नपाइने भएकाले समस्या रहँदै आएकोमा भारत सरकारले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । भारत सरकारबाट ७० मिटरभन्दा बढी लम्बाइको बेलिब्रिज सहयोग प्राप्त भएको उहाँको भनाइ छ । सडक विभागका महानिर्देशक विजय जैसीले प्राकृतिक विपत्ले क्षति पु¥याएका सडक सञ्चालनका लागि भारत सरकारतर्फबाट उपलब्ध सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।
भारतले उपलब्ध गराएको बेलिब्रिजको लम्बाइ ७० मिटर रहेको र सिङ्गल लेनको रहेको छ । यस वर्ष उपलब्ध गराएका १० बेलिब्रिजमध्ये पाँच वटा सडक डिभिजन कार्यालय, हेटौँडामा पाँच वटा र विराटनगर कार्यालय अन्तर्गत पाँच वटा रहने जनाइएको छ ।