• २८ वैशाख २०८१, शुक्रबार

आशीर्वाद दिन्न, ज्ञान दिन्छु : सत्यमोहन

blog

शताब्दीपुरुष सत्यमोहन जोशीले सधैँ परम्परा र पर्वको सम्मानमा दशैँ मनाउनु भयो । शताब्दीपुरुषले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रकालका दशैँ मनाउनु भयो । १०३ वर्ष पार गर्नुभएका उहाँ अघिल्ला वर्षमा जस्तै यसपालि पनि परिवारसँग सामान्य रूपमा दशैँ मनाउने तयारीमा हुनुहुन्छ । त्यसो त शताब्दीपुरुष जोशी दशैँमा टीका लगाउनु हुन्न । तर उहाँ यो चाडले फुर्सदमा ठूलाबडाको कुरा सुन्नुपर्ने सिकाएको बताउनु हुन्छ । 

“दशैँमा केही लेखक, कवि र कलाकार टीका लगाउन घरमै आइपुग्नु हुन्छ । तर म टीका लगाएर आशीर्वाद दिने गर्दिनँ । बरु आफूले जानेका ज्ञान बाँड्छु ।” शताब्दीपुरुषले भन्नुभयो, “टीका लगाएर आशीर्वाद दिनु भनेकै ज्ञानी बन भन्नू त हो नि ।” 

जनकवि दुर्गालाल श्रेष्ठ ८८ वर्ष हुनु भयो । हरेक दशैँमा उहाँ आफ्नो बाल्यकालको दशैँ सम्झेर उत्साहित हुनुहुन्छ । काठमाडौँको असनमा हुर्किनुभएका उहाँ सांस्कृतिक र धार्मिक जात्रा र पर्वहरूका विविध अनुभवले भरिनु भएको छ । “मेरो व्यक्तिगत अनुभव के छ भने पहिले आर्थिक रूपमा विपन्न भए पनि मलाई दशैँका बेला कहिल्यै गरिबी महसुस नहुने । त्यसको एक मात्र कारण थियो, संस्कृतिको मोह । संस्कृतिभित्र त्यो तìव हुँदोरहेछ, जसबाट मान्छेले आफ्नो विपन्नता भुल्दो रहेछ ।” अभाव र गरिबीले भरिएको दशैँमा रमाउने गर्नुभएका जनकवि दुर्गालाल भन्नुहुन्छ, “बरु मलाई अहिले पो गरिब भएको महसुस हुन्छ । राजनीतिक कारणले यस्तो महसुस हँुदोरहेछ । हेर्नुस् त अहिले महँगी कस्तो छ ? मानिसहरूले कसरी किनेर खान सक्लान् ? गरिबले दशैँ कसरी मनाउलान् ?” पहिले चाडपर्वमा मन्दिर र तीर्थस्थलहरू घुम्ने उहाँ अहिले चाडबाडको रस नै पाउनु हुन्न । खासै घुम्नु पनि हुन्न । 

दशैँमा केही लेखक, कवि र कलाकार टीका लगाउन घरमै आइपुग्नु हुन्छ । तर म टीका लगाएर आशीर्वाद दिने गर्दिनँ । बरु आफूले जानेका ज्ञान बाँड्छु । 

८८ वर्षकी साहित्यकार गीताकेशरी भने यसपालि दशैँमा त्यति उत्साहित हुनुहुन्न । कोभिड र डेङ्गु बढेका कारण उहाँ केही चिन्तित हुनुहुन्छ । “मेरा लागि घर बाहिर जाने वातावरण यसपालि पनि छैन । डेङ्गु बढेको छ । घरभित्रै दुर्गा भवानीको पूजाआराधना गरेर दशैँ मनाउँछु ।” भवानीको कृपाले रोगव्याधि हटोस् र उल्लासले दशैँ सबैले मनाउन पाउन् भनेर उहाँले कामना पनि गर्नु भयो । 

धनकुटामा रहनुभएकी झमककुमारी घिमिरेको दशैँ यसपालि परिवारसँग नै बित्नेछ । “धनकुटा घरमै छु । यतै परिवारसँग दशैँ मनाउँछु । केही आफन्त र शुभचिन्तक भेट्न आउनुहुन्छ । उहाँहरूसँग दशैँ रमाइलै हुनेछ ।” खुट्टाको सहाराले लेख्दै झमकले जवाफ फर्काउनु भयो । आख्यानकार डा. ध्रुवचन्द्र गौतमले भने परिवारसँग काठमाडौँको चण्डोलमा नै दशैँ मनाउनु हुन्छ । तर हरेक दशैँमा उहाँ आफ्नो बाल्यकालको दशैँ सम्झेर रोमाञ्चित हुनुहुन्छ । “वीरगञ्जको दशैँ अर्कै थियो । काठमाडौँ आएपछि दशैँ अर्कै भयो ।” त्यसो त डा. ध्रुवचन्द्र गौतमलाई उमेरअनुसार दशैँको रौनक र प्रभाव फरक हुन्छ भन्ने थाहा छ । “युवा हुँदाको दशैँ र अहिलेको दशैँ फरक छ । तर पारिवारिक जमघटको यो अवसर मलाई सधैँ रमाइलै लाग्छ ।” 


हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा 

भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा 

जता जाउँ उतै भन्छन् दशैँ आयो दशैँ आयो 

त्यही आनन्द चर्चाले सबै सङ्कट बिर्सायो । 

कविशिरोमणि लेखनाथ पौडेल 

तर यसापालि पानीको वर्षा हराउलाजस्तो छैन । मनसुन पूर्ण रूपमा नहटेकाले हिलो र झरीकै बीच मानिसहरू दशैँलाई उल्लासमय बनाउन तल्लीन छन् । लेखक–साहित्यकारहरूले पनि दशैँलाई आआफ्नै तरिकाले मनाउँछन् । अधिकांश साहित्यकारले परिवारसँग दशैँ मनाउने बताए भने केही लेखक–साहित्यकार दशैँको छेको पारेर यात्रामा निस्कँदैछन् । केही चाहिँ दशैँकै बिदामा नयाँ किताब पढ्ने तयारीमा छन् । धेरै स्रष्टा भने विदेशमा रहेका सन्तान दशैँ मान्न घर आउने भएकाले हर्षित छन् । त्यसो त शोक परेका कारण केही स्रष्टाका निधार यसपालि खाली हुनेछ । 

दशैँमा दङ्ग 

हुन त दशैँमा सबै दङ्ग नै हुन्छन् । तर यो वर्षको मदन पुरस्कार विजेता डा. नवराज लम्साल विशेष दङ्ग हुनुहुन्छ । अघिल्ला वर्षका दशैँमा उहाँलाई कार्यालयको कामको चटारो हुन्थ्यो । उहाँ रेडियो नेपालका विशिष्ट श्रेणीका कर्मचारी हुनुहुन्छ । मदन पुरस्कार जितेको वर्ष हुनाले यसपालि उहाँ पूर्ण रूपमा उल्लासमय तरिकाले परिवारसँग दशैँ मनाउँदै हुनुहुन्छ । “अफिसमा ड्युटीको दबाब यसपालि छैन । कतै जाने योजना पनि छैन । काठमाडौँमै परिवारसँग दशैँ मनाउँछु,” उहाँले भन्नुभयो । 

यसैगरी कवि तथा गीतकार दिनेश अधिकारी पनि यसवर्ष निकै उल्लासमा हुनुहुन्छ । अघिल्ला दुई÷तीन वर्ष कोरोना कहरका कारण रमाइलोसँग दशैँ मनाउन नपाएको सम्झिँदै उहाँ भन्नुहुन्छ, “यसपालि कोरोनाको डर छैन । परिवार र साथीभाइसँग रमाइलोसँग दशैँ मनाउँछु,” उहाँ निकै उल्लासमा हुनुको रहस्य भने अर्कै छ । भन्नुहुन्छ, “यसपालि चार वर्षपछि छोराबुहारी अस्ट्रेलियाबाट आउँदैछन् । त्यही भएर पनि अलि बढी हौसिएको छु ।” 

कथाकार किशोर पहाडी पनि दशैँका लागि निकै उत्साहित हुनुहुन्छ । उहाँ यसपालि दशैँ मनाउन अस्ट्रेलियाको मेलबर्न जाँदै हुनुहुन्छ । “छोराबुहारी उतै छन् । यसपालि श्रीमती र म दशैँ मनाउन उतै जाँदैछौँ,” उहाँले भन्नुभयो । नेपालमा हुँदा हरेक वर्ष उहाँ परिवारसहित दशैँको टीका थाप्न फर्पिङ काकाकहाँ जाने गर्नुहुन्थ्यो । 

२०६८ सालका मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेलाई आफन्त भेटघाटको महìवपूर्ण अवसर लाग्छ दशैँ । “सानो छँदा दशैँ ठूलो लाग्थ्यो, ठूलो भएपछि सामान्य लाग्छ । सानो छँदा दशैँ रमाइलो लाग्थ्यो अहिले जिम्मेवारी बोधले होला, सानोमा जस्तो रमाइलो लाग्दैन । केटाकेटी रमाएको देख्दा आफू सानो छँदा रमाएको याद आउँछ,”  अमरले भन्नुभयो । यसपालि पारिवारिक रमाइलो र केही नयाँ किताब पढ्ने उहाँको तयारी छ । 

किताब प्रकाशनको तयारी 

सञ्चारकर्ममा व्यस्त कवि ठाकुर बेल्वासे यसपालि नयाँ किताब प्रकाशनको तयारीमा हुनुहुन्छ । दशैँलगत्तै कविता कृति निकाल्ने सोचमा रहनुभएका उहाँ दशैँ बिदामा आफ्नै कविताको सम्पादन गर्नुहुन्छ । “परिवारसँग रमाइलोसँग दशैँ मनाउँछु र नयाँ किताबका लागि कविताको छनोट र सम्पादन सक्छु ।” 

२०६५ सालका मदन पुरस्कार विजेता युवराज नयाँघरे पनि नयाँ किताब पूरा गर्ने सोचमा हुनुहुन्छ । मिल्यो भने यात्रामा निक्लने सोच पनि उहाँको छ । हिँडिरहन रुचाउने उहाँ किताबको तयारी र हिँड्ने भने पक्का भइसकेको बताउनु हुन्छ । जिस्किँदै निबन्धकार नयाँघरे भन्नुहुन्छ, “एक हजारका नयाँ नोट साटेर घरकी महारानीलाई सुम्पिएपछि मेरो दशैँको तामझाम सकिन्छ ।” युवा पुस्ताकी चर्चित आख्यानकार निरूपा प्रसुन पनि नयाँ कथा सङ्ग्रहको तयारी गर्दै हुनुहुन्छ । यसपालिको दशैँ बिदामा छनोट गरेका कथाको अन्तिम सम्पादनमा उहाँ जुट्नुभएको छ । त्यसो त टीकालगत्तै उहाँ पश्चिम नेपाल घुम्न जाने बताउँदै उहाँ भन्नुहुन्छ, “आफ्ना कथाहरू पुनर्लेखन गर्दैछु । दशैँलगत्तै छाप्न दिने हो, पाल्पातिर घुम्न जाँदैछु ।”

खिन्न यसपालि 

उल्लास र उमङ्गको चाड दशैँ केही स्रष्टाका लागि भने यसपालि खिन्नता बोकेर आएको छ । वैचारिक रूपमा प्रस्ट र संवेदित थुप्रै कृतिका स्रष्टा कृष्ण धरावासीको यसपालि दशैँ छैन । मदन पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मानद्वारा सम्मानित उहाँ अहिले अमेरिकामा हुनुहुन्छ । दशैँ मनाउन नपाएर उहाँ खिन्न हुनुहुन्छ । 

“यसपालिको हाम्रो दशैँ नरमाइलो हुनेभो,” उहाँले भन्नुभयो । उहाँको साहिलो काकाको माइलो छोराको भर्खरै निधन भएकाले धरावासी परिवार शोकमा छ । अमेरिकामै रहनु भएकी नीलम कार्की निहारिकालाई पनि यसपालि खासै उल्लास छैन । गत वर्ष काठमाडौँमा उहाँको आमाको निधन भएको थियो । निराश हुँदै मदन पुरस्कार विजेता नीलमले भन्नुभयो, “उहाँहरू नभएपछि चाडपर्वले त्यो महक लिएर आउँदैन रहेछ ।”

साहित्यिक बजार चलायमान 

दशैँमा साहित्यिक कृतिहरूको बिक्री वितरण केही बढ्ने गरेको छ । विभिन्न दैनिक, मासिक पत्रिकाहरूले दशैँ विशेषाङ्क निकाल्ने गरेका छन् । यसले पनि साहित्यिक सिर्जनाले चर्चा पाउने गरेको छ । घर जाने धेरैले केही साहित्यिक विशेषाङ्क, साहित्यिक कृति किन्ने गरेका कारण पनि बजार चलायमान हुने गर्दछ । “दशैँमा उत्पातै साहित्यिक कृति बिक्री हुने त होइन तर अरू बेलाभन्दा व्यापारमा केही वृद्धि चाहिँ हुन्छ,” शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले बताउनु भयो । 

Author

मणि लोहनी