• १ कात्तिक २०८२, शनिबार

फर्किए विपिनका आमा र बहिनी

blog

बिपिनका आमा र बहिनी ।

धनगढी समाचारदाता

धनगढी, कात्तिक १ गते । दुई वर्षको लामो पर्खाइबिच छोरा लिएर घर फर्किने आसमा अमेरिका पुग्नुभएका विपिनका आमा पद्मा जोशी रित्तै हात घर फर्किनुभएको छ । 

हमासले कब्जामा लिएको छोराको रिहाइका लागि छोरी पुष्पासहित केही दिन अगाडि अमेरिका पुग्नुभएकी उहाँ बिहीबार रित्तो हात घर फर्किनुभएको विपिनका दाजु किशोर जोशी (ठुलो बुवाको छोरा) ले बताउनुभयो । 

दुई वर्षदेखि हमासको कब्जामा रहेको विपिन जीवित रहेको दाबी गरिएपछि छोरालाई सकुशल लिएर घर फर्कने ठुलो आसका साथ रिहाइका लागि पद्मा अमेरिका पुग्नुभएको थियो तर उहाँ र छोरी पुष्पा अमेरिका रहेकै बेला विपिन जीवित नरहेको र हमासले हस्तान्तरण गरेकोमध्ये एउटा शव विपिनकै रहेको इजरायलले पुष्टि गरेपछि दुवै जना निराश भएर घर फर्किनुभएको छ । 

इजरायलकै पहलमा विपिनको रिहाइका लागि आमाछोरी अमेरिका पुग्नुभएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, बिचपुरी मल्लिकार्जुन टोलमा विपिनको घर छ । विपिनलाई सधैँका लागि गुमाएको परिवार अब शवको प्रतीक्षामा बसेको छ । इजरायलले आइतबारसम्म शव पठाउने जानकारी दिएको उहाँले बताउनुभयो । 

“त्यताबाट आइतबार शव पठाउने खबर आएको छ,” जोशीले भन्नुभयो, “तर यहाँ कहिले पुग्छ भन्ने थाहा छैन ।” इजरायलले हमासले दिएको शव फरेन्सिक जाँच गरेर विपिनकै रहेको पुष्टि गरेको छ । विपिनको परिवारले इजरायलकै परीक्षणलाई स्विकारेर शव बुझ्ने वा नेपालमा पनि परीक्षण गराउने विषयमा निर्णय लिई सकेको छैन । शोकमा डुबेको जोशी परिवार के गर्ने, के नगर्ने विषयमा दोधारमा छ । “तत्काल हामीले केही सोच्नै सकेका छैनौँ,” किशोरले भन्नुभयो । 

विपिनको रिहाइका लागि दबाब दिन यसअघि आमा पद्मा र बहिनी पुष्पा इजरायल पनि पुग्नुभएको थियो । कृषिविज्ञ बन्ने सपना बोकेर २०८० भदौमा सुदूरपश्चिम विश्वविद्यालयको सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत टीकापुर कृषि क्याम्पसबाट विपिनसहित ४९ जना विद्यार्थी इजरायल जानुभएको थियो । २०२३ अक्टोबर ७ मा प्यालेस्टेनी हमास समूहले इजरायलमा आक्रमण गरी १० जना नेपाली विद्यार्थीको हत्या गर्नुका साथै विपिनलाई बन्धक बनाएर लगेको थियो । दुई वर्षसम्म अवस्था अज्ञात राखिएका विपिनको २०२३ को अन्त्यतिर हत्या भएको डिएनए परीक्षणबाट पुष्टि गरिएको छ । 

हमासले कैलालीका आशिष चौधरी, नारायाण न्यौपाने, बझाङका गणेश नेपाली, दार्चुलाका लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट, डोटीका राजन फुलारासहित १० जना नेपाली विद्यार्थीको हत्या गरेको थियो ।