हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक १ गते । पहाडलाई नै भवनजस्तो बनाएर रङरोगनसहित झ्याल हालिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरमा अवस्थित चिटिक्कको लो निफु गुम्बामा पर्यटकहरुको भिड लाग्नेगरेको छ ।
कलात्मक सिन्दुरे रङका चट्टान र रातो बलौटे पहाडमा १५ औ शताब्दीमा निर्मित पहाडभित्रको गुम्बा र तलगरी लामा शिक्षाका लागि १५ वटा कोठा रहेका छन् । समुन्द्री सतहदेखि करिब ३ हजार ८ सय ९० मिटरको उचाईमा पहाडभित्र रहेको गुम्बासँगै तल नयाँ गुम्बा समेत बनाइएको छ ।
लामा शिक्षासँगै पर्यटकको समेत आकर्षकको केन्द्र बनेको महिला वडा सदस्य छिरिङ युटिन गुरुङले बताउनुभयो । वडा सदस्य गुरूङले भन्नुभयो, ‘‘पूरानो गुम्बा मर्मत भइरहेको छ, गुम्बालाई संरक्षणमा स्थानीयको समेत धेरै चासो छ ।’’
उपल्लो मुस्ताङमा आउने बौद्ध धर्मावलम्बीहरू लो निफु गुम्बाको अवलोकन तथा लामो समयसम्म बिताउने गरेको पर्यटन ब्यवसायी समेत रहनुभएकी गुरूङले बताउनुभयो । गुम्बाभित्र लामा शिक्षा, अध्ययन तथा गुम्बाको इतिहाससहित योगदान दिनेहरूका बारेमा पर्यटकलाई समेत जानकारी गराउने गरिन्छ ।
बुद्धका मूर्ति र पोस्टरहरू, लिपि, बहुमूल्य धातु, पेन्टिङलगायत सामग्री राखिएको गुम्बासम्म पुग्ने सडक सञ्जाल भएकाले लामोन्थाङ–छोसेर–कोरला पुगेका पर्यटक फर्किने बेलामा अवलोकनका लागि पुग्ने गरेका छन् । सडक खण्डबाट करिब १० मिनेटमा गुम्बा अवलोकन गर्ने स्थानमा पुगिन्छ ।
प्राचीनकालीन शैलीमा निर्मित गुम्बा बर्षा र भूकम्पबाट समेत क्षति पुगेपछि विभिन्न दातृनिकायको सहयोगमा पुनःनिर्माण गरिएको र अझै सहयोग जुटाएर थप ब्यवस्थित बनाउने प्रयास भइरहेको छ । मौलिक स्वरूपलाई जिवितै राखेर पुननिर्माण गरेपछि अहिले गुफामा आवत जावतमा सहज भएको स्थानीय तामदिङ गुरूङले बताउनुभयो ।
पर्यटकको सिजनमा दैनिक ५ सयभन्दा बढी गुफा अवलोकन गर्न आउने गरेको टिकट बिक्री काउन्टरका इन्चार्ज समेत रहनुभएका गुरूङको भनाइ छ । तत्कालीन राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेनले गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको उल्लेख छ ।
निर्फु गुम्बाअन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामासम्बन्धी पठनपाठनका लागि नेपाल र भारतबाट समेत आउँछन् । भोट, नेपाली, अंग्रेजी भाषाको पठनपाठनका लागि समेत विभिन्न निकायबाट सहयोग लिने गरिन्छ । भारतीय राजदूतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा छात्राबास भवनसहित अन्य संरचना समेत तयार भएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘विदेशमा रहेका स्थानीयबासीको पहलमा समेत प्राचिनकालीन गुम्बाको संरक्षणमा सहयोग जुट्ने गरेको छ, गुम्बाले पर्यटन ब्यवसाय समेत फस्टाएको छ ।’’ गुफा र गुम्बा अवलोकनका लागि पुरातात्विक अवलोकन प्रवेश ब्यवस्थापन समितिमार्फत नेपालीलाई एकसय रुपियाँ र विदेशी पर्यटकलाई १ हजार शुल्क लिने गरिन्छ ।
समितिमार्फत यसबर्ष स्थानीय लाप्पा टास्सीले २३ लाख लागतमा टेन्डर हालेर लो गर्फु गुम्बा र लो निफु गुम्बालाई २५ प्रतिशत चेन्पा कोन्ँछोक्लिङ गुम्बालाई १८ प्रतिशत, सिजा जोङ गुम्बालाई २३ प्रतिशत मर्मत सम्भारमा खर्च हुन्छ भने केही स्थानीय यूवा क्लव, आमा समुहलाई समेत सहयोग गर्ने गरिएको छ ।
छोसेर क्षेत्रमा स्थानीय समेत पुग्न नसक्ने तिब्वती क्षेत्रसँग जोडिएको रातो बलौटे पहाडहरूमा छो खोपिएको पहाडमा गुफाहरू रहेका छन् । १५ औं शताब्दीमा प्रयोग भएका धेरै गुफा अहिले संरक्षणको अभावमा प्रयोगविहिन भएकाले पुरातत्व विभाग तथा विभिन्न निकायले अवलोकन गरी खोज गर्न स्थानीय समुदायले अनुरोध गरेका छन् ।