गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २ गते । सिङ्गापुरका राष्ट्रपति थार्मान सनमुगारात्नमले आर्थिक विकासका लागि खुलापनमा लगानी केन्द्रित गर्न सुझाव दिनुभएको छ । विश्व बैङ्क र
अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकका लागि संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगको शिष्टाचार भेटमा उहाँले देशको तीव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न सुझाव दिनुभएको हो ।
सो क्रममा अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरूप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।
शनिबार नै अन्तर्राष्ट्रिय वित्त निगम (आइएमएफ) का उपाध्यक्षसहितका अधिकारीसँगको भेटका क्रममा अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभयो । निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिँदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकीय प्रबन्धमा सुधारको खाँचो रहेको बताएका थिए । मन्त्री खनालले नियामकीय प्रबन्धमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।