• ४ साउन २०८१, शुक्रबार

मनसुनी विपत्को जोखिम बढ्यो

blog

काठमाडौँ, असार २८ गते । यो वर्षको मनसुनको एक महिनामा पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो रहँदा जनधनको क्षति कम रह्यो तर अधिक वर्षाका हिसाबले उच्च जोखिम थप बढेको विज्ञहरूले बताएका छन् ।

मनसुनको एक महिनाको अवधिमा मनसुनजन्य विपत् बाढीपहिरो र चट्याङ, सर्पदंश, आगलागीलगायतबाट ८९ जनाको ज्यान गएको छ । अन्य सात जना बेपत्ता रहेका छन् । यस अवधिमा १६९ जना घाइते भएका छन् । करिब तीन हजार पाँच सय जना विस्थापित भएका छन् । झन्डै २८ करोड रुपियाँ बराबरको आर्थिक क्षति भइसकेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

बिहीबार मात्र चार जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । जस अनुसार बाढीबाट एक, पहिरोबाट दुई र चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।

मनसुनको सुरुवातदेखि नै वर्षाको असर जनजीवनमा अत्यधिक भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुनभरि नै सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान थियो तर पहिलो हप्ताबाटै पूर्ण रूपमा विकसित भएर क्षति गर्छ भन्ने थिएन ।” 

उहाँका अनुसार पोहोरको पाठ सिक्दै यसपालि राम्रो पूर्वतयारी गरिएकाले जनधनको क्षति हालसम्म कम छ तर वर्षाको आक्रमण भने पूर्वानुमानले भने जस्तो सुरुवातको दुई महिना कम रहेन । अहिलेको वर्षाको प्रवृत्ति २०५० सालमा बाढी ल्याएको वर्षाको जस्तो रहेको दाबी उहाँले गर्नुभयो । त्यो बेला पनि यस अवधिकै आसपास अत्यधिक वर्षा हुँदा देशका विभिन्न स्थानमा ठुलो बाढीपहिरो गएको थियो । त्यो वर्ष नेपालमा एक हजार १७० जनाको ज्यान गएको थियो । साथै पाँच लाख जनसङ्ख्या प्रत्यक्ष प्रभावित बनेका थिए ।

मनसुन अवधिको क्षति रोक्न जल तथा मौसम विज्ञान विभागको निरन्तरको वर्षा अनुगमन र पूर्वानुमानसहितको पूर्वसूचना प्रणाली बलियो देखिएको छ । जस अनुसार तीन तहकै सरकार, प्राधिकरण र प्रमुख सरोकारवाला पक्षको तयारी पनि बलियो बनेको दाबी पोखरेलले गर्नुभयो ।

त्यो समयमा भारी वर्षाको रेकर्ड ५४० मिलिमिटर परेको थियो । यो वर्षको असार २३ र २४ गतेभित्रको २४ घण्टामा कञ्चनपुर क्षेत्रमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो वर्षाले विगत ७८ वर्षमा भएको अधिक वर्षाको रेकर्ड तोडेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षाको रेकर्ड ब्रेक भएपछि त्यसको थप अध्ययन गर्न विभागले मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा टोली त्यसतर्फ खटाएको छ । वर्षापछिको त्यस क्षेत्रको अवस्था तथा मापन गर्ने यन्त्रको अवस्थासमेत अध्ययन टोलीले गर्ने विभागले औँल्याएको छ ।

रेकर्ड ब्रेक अवस्थाको वर्षाले भने आगामी दिन झन् जोखिमपूर्ण रहने सङ्केत गरेको प्राधिकरणका प्रमुख पोखरेल बताउनुहुन्छ । अहिलेको तयारीलाई बलियो बनाउने गरी प्राधिकरणले पूर्वतयारीका लागि आवश्यक सामग्री हरेक प्रदेश र जिल्लामा दोब्बर बनाउने तयारी बिहीबारदेखि नै थालेको छ । जस अनुसार ती क्षेत्रमा थप सामग्री पठाउने क्रम सुरु भएको छ ।

गृह मन्त्रालय, मौसम विभाग, नेपाली सेना, नेपाल रेडक्रम सोसाइटीलगायतका प्रमुख विपत् साझेदारले विपत् न्यूनीकरणको सञ्जाललाई थप सक्रिय बनाउने अभियान पनि थालेको छ ।

उच्च जोखिमयुक्त स्थानमा जडान गरिएका विपत्को जानकारी दिने साइरन बज्ने प्रविधिलाई थप बलियो बनाउन पहल भएको छ । देशका ४९ स्थानमा त्यस्ता साइरन जडान भएका छन् ।