काठमाडौँ, कात्तिक २५ गते । कोप–३० सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सत्रको नेतृत्व गर्न कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार ब्राजिल जाने तयारीमा हुनुहुन्छ । शक्रबार ब्राजिल प्रस्थान गर्नुअघि उहाँले ब्राजिलमा रहेको नेपाली टोली र नेपालमा रहेको विज्ञ समूहसँग गहन छलफल जारी राख्नुभएको छ ।
सो क्रममा नेपालको अवस्थितिपत्रलाई अन्तिम रूप दिन वन मन्त्रालय र कृषि मन्त्रालय लागिपरेका छन् । नेपालको जमिनसुहाउँदो जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा वित्त प्रसारका लागि त्यस पत्रमा बढी जोड दिइने मन्त्री परियारले सोमबार जानकारी दिनुभएको छ ।
गोरखापत्र दैनिकसँग उहाँले भन्नुभयो, “कोपमा नेपालको अवस्था अन्तर्राष्ट्रियस्तरमा प्रस्ट पार्न जाँदै छु र हाम्रा एजेन्डा उजिल्याउने छु, त्यसमा विशेष गरी हाम्रा हिमालका एजेन्डै हुन्छन् ।” जुन नेपालका लागि मात्र हैन, विश्वकै लागि महत्वपूर्ण छ । उहाँका अनुसार अर्को एजेन्डा भनेको नेपालले जलवायु परिवर्तनका कारण बेहोरिरहेको हानिनोक्सानीको एजेन्डा रहेको छ । उहाँले थप्नुभयो, “हामीकहाँ तापक्रमको वृद्धिसँगै बेमौसमी वर्षाले गर्दा, बाढीपहिरो अनि सुक्खा खडेरीले जुन खालको हानिनोक्सानी भइरहेका छन्, त्यसलाई हामीले कसरी अन्तर्राष्ट्रियस्तरममा क्षतिपूर्ति पाउने भन्ने कुरामा जोड दिने छु ।”
जलवायु परिवर्तन न्यूनीकरणको सवाल पनि नेपालका लागि अति जरुरी विषय रहेको छ । अन्तर्राष्ट्रिय दातृनिकायसँग द्विपक्षीय तथा बहुपक्षीय बैठकमा उठाएर अनुदान र वित्तलाई नेपाल भित्र्याउने थप पहल गर्ने उहाँले बताउनुभयो । त्यसका लागि नेपालका मुद्दा उजागर गर्दै उनीहरूलाई विश्वस्त पारेर नेपाललाई प्राथमिकताको मुलुकमा राख्न अपिल गर्दै बढीभन्दा बढी सहयोग गर्न आफूले पहल गर्ने पनि उहाँले प्रस्ट पार्नुभयो ।
अन्तर्राष्ट्रिय जलवायु वित्तहरूमा पहुँच पु¥याउन नेपालले राम्ररी सकेको अवस्था छैन । मन्त्री परियारले भन्नुभयो, “ती वित्तहरूलाई कसरी सरल र सहज बनाउन सकिन्छ र बढीभन्दा बढी जलवायु वित्तहरू नेपालले लिन सकौँ भन्ने उच्च प्रयास मेरो रहने छ ।” आउँदो वर्ष सन् २०२६ को नोभेम्बरमा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै छ । कृषि क्षेत्र नेपालको प्रमुख आर्थिक वृद्धि र जीविकोपार्जनको समेत आधारशिला हो । त्यसलाई पनि दृष्टिगत गर्दै दीर्घकालीन सोचसाथ यस कोप सदुपयोग गर्नुपर्नेमा पनि मन्त्री परियारको जोड रहने छ ।
सम्मेलन सुरु
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) सोमबार ब्राजिलको बेलेम सहरमा सुरु भएको छ । सम्मेलनको उद्घाटन ब्राजिलका राष्ट्रपति लुइज इनासियो दा सिल्भाले गर्नुभयो । सम्मेलनको पूर्वसन्ध्यामा आइतबार रातभरि यस सम्मेलनका लागि तयार गरिएको अवधारणापत्रलाई उद्घाटन सत्रले अनुमोदन गरेसँगै विभिन्न बहसका सत्र पनि सुरु भएका छन् ।
पेरिस सम्झौताको एक दशक बितेको अवस्थामा अबको विश्वमा जलवायु परिवर्तनको मार्गचित्र प्रशस्त गर्न यस सम्मेलनले भूमिका खेल्ने आयोजक मुलुक ब्राजिल सरकारले जनाएको छ । यस सम्मेलनमा विशेष गरी छ वटा प्रमुख खम्बाका रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, वित्त निर्माण र वितरण, प्रविधिको साझेदारीसँगै क्षमता विकासमा केन्द्रित रहने कोप–३० सम्मेलनको सचिवालयले प्रस्ट पारेको छ । सम्मेलनको कार्यसूची अनुसार सोमबार पक्षराष्ट्रले आफ्नो देशको अवधारणालाई सम्मेलनमा अनुमोदनका लागि प्रस्तुत गरेका छन् । सो क्रममा नेपालका तर्फबाट वन तथा वातावरण सचिव डा. राजेशप्रसाद मिश्रले अपेक्षाहरू व्यक्त गर्नुभएको छ । जस अनुसार उहाँले शक्ति राष्ट्रहरूले जलवायु परिवर्तनका असर बढाउन गरेको नकारात्मक योगदानको परिपुरण गर्न गरेको प्रतिबद्धतायुक्त दायित्व पूरा गर्न अनुरोध गर्नुभयो । दुई साता चल्ने सम्मेलनले कागजमा रहेका योजनालाई व्यावहारिक मार्गमा अवतरण गराउनुका साथै पक्षराष्ट्रको महत्वाकाङ्क्षालाई परिणाममुखी बनाउन पनि भूमिका खेल्ने अपेक्षा रहेको ढकालले जानकारी दिनुभयो ।