• ३० फागुन २०८२, शनिबार

कास्कीमा ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा कडाइ

blog

जिल्ला प्रशासन कार्यालय कास्कीमा आयोजित समन्वयात्मक बैठक । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, फागुन ३० गते । एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योगी, व्यवसायी एवं उपभोक्तासँग छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आयोजित समन्वयात्मक बैठकमा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ग्यास तथा पेट्रोलियम पदार्थको वितरण प्रणालीलाई सहज बनाउने, अनावश्यक भण्डारण नगर्ने, खाद्यान्न लगायत अन्य वस्तुको मूल्यवृद्धि हुन नदिने र भाडामा बस्ने विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासनले निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति नरहेको बताउँदै सहकार्यका लागि आग्रह पनि गर्नुभयो ।

बैठकमा ग्यास विक्रेता महासङ्घका प्रतिनिधि एवं शक्ति ग्यास उद्योगका कार्यकारी निर्देशक मेघराज पौडेलले कास्की जिल्लामा मात्र नभई गण्डकी प्रदेशका अन्य जिल्लामा पनि आपूर्ति व्यवस्था मिलाउनुपर्ने भएकाले व्यवसायीले सरकारको निर्देशन अनुरूप वितरण गरेको बताउनुभयो । उहाँले यस क्षेत्रबाट दैनिक आठ हजार सिलिन्डर ग्यास वितरण हुँदै आएकोमा आइतबार (भोलि) देखि लागू हुने गरी ७.१ केजी बराबरको आधा ग्यास (सानो सिलिन्डर) वितरण हुने जानकारी दिनुभयो ।

त्यस्तै नेपाल एलपी ग्यास महासङ्घका उपाध्यक्ष एवं गृहलक्ष्मी ग्यासका अध्यक्ष धर्मराज बस्यौलाले पोखरा पर्यटकीय क्षेत्र भएकाले पर्यटन उद्योगलाई प्रभाव नपर्ने गरी आम उपभोक्तालाई विद्युतीय चुलो प्रयोग गरी राष्ट्रिय पुँजी बचाउन सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार कास्कीमा मात्र दुई सय मेट्रिक टनभन्दा बढी ग्यास भण्डारण रहेको छ । १५ भन्दा बढी कम्पनीले यस क्षेत्रमा ग्यास वितरण गर्दै आएका छन् ।

कास्कीमा पेट्रोलियम पदार्थमा डिजेलका लागि झन्डै ४५ दिन र पेट्रोलका लागि १० दिनसम्मको भण्डारण रहेको आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख सतिशराज ओझाले जानकारी दिनुभयो । यस क्षेत्रमा ग्यास आपूर्तिमा कुनै समस्या नरहे पनि उपभोक्ताहरूले अनावश्यक भण्डारण गरेको पाइएको छ । त्यसैगरी लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्यले मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबीच पेट्रोलियम पदार्थमा आएको सङ्कटले ढुवानी प्रभावित भई अन्य सामग्रीसमेतको मूल्य बढ्न गएकाले उपभोक्ता थप मारमा पर्न सक्ने बताउनुभयो ।

बैठकमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको अधिकारलाई मनन गर्दै ग्यास वितरणलाई सहज बनाउनुपर्ने बताउनुभयो । रेवान पोखराका महासचिव विरेन थकालीले आधा ग्यासको सिलिन्डरले होटल तथा रेस्टुरेन्टको चुलोहरूमा प्रेसर नपुग्ने हुँदा सञ्चालनमा कठिनाइ हुने बताउनुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शनिबार साँझ गरिएको अनुगमनमा पोखरा जरेबरमा एक व्यवसायीले ४८ वटा सिलिन्डर लुकाएर राखेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

बैठकले जिल्लामा रहेका ग्यास उद्योग तथा विक्रेताले आफूलाई प्राप्त भएको र वितरण गरिएको ग्यासको दैनिक अभिलेख राखी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै, ग्यासको अनावश्यक सञ्चितीकरण नगर्ने तथा प्रमाणपत्र प्राप्त विक्रेताले मात्र बिक्री वितरण गर्ने व्यवस्था कडाइका साथ लागू गरिने पनि बैठकमा जनाइएको छ ।

त्यसैगरी उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उपभोक्ता मञ्च लगायत सरोकारवाला निकायले सूक्ष्म अनुगमन गरी त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई गराउने निर्णय भएको छ । बैठकले खुला रूपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरी कडाइका साथ कार्यान्वयन गरिने निर्णय समेत गरेको छ ।