काठमाडौँ, फागुन २३ गते । जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिपछि नेपालको भावी आकाङ्क्षाका बारेमा झन्डै पचास मिनेट लामो डकुमेन्ट्री बनाएको बिबिसीले बालेनको युवामतलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहको चर्चा यतिखेर विश्वभर चुलिएको छ । काठमाडौँ महानगरको प्रमुख हुँदै पदबाट राजीनामा दिएर शाह प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को उम्मेदवार बनेपछि चर्चा बढेको हो ।
उहाँ झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उहाँको चर्चा एकाएक आकासियो । यति बेला उहाँको क्षेत्रमा भएको मतदानको गणना जारी छ, जसमा विश्वकै ध्यान केन्द्रित छ । उहाँको चर्चालाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विशेष प्राथमिकता दिएका छन् । नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मर्मलाई टेक्दै युवाको सपना साकार गर्ने उद्देश्य प्रस्ट्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशलगत्तै उहाँ देशव्यापी चुनावी दौडाहामा उत्रनुभयो । नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलमा रहेका आमनागरिकको सोचलाई एउटा बलियो लहरको स्वरूप दिन सकेको पछिल्ला चुनावी माहोलबाट प्रस्ट देखिएको विश्लेषण विदेशी सञ्चार माध्यमले उल्लेख गरेका भेटिन्छन् ।
विश्व प्रख्यात अलजजिरा अनलाइनले लेखेको छ, “बालेन, जसलाई सन् २०१३ सम्म कसैले चिन्दैनथिए । लगभग रातारात र्याप सेन्सेसन बन्दै त्यसको एक दशकपछि सन् २०२२ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नुभयो । देशको राजधानी काठमाडौँको मेयर पद जितेर नेपालमा जरा गाडेर बसेका स्थापित मूलधारका राजनीतिक दलहरूलाई चकित पार्नुभयो ।”
गत भदौमा भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै जेनजी विद्रोह हुँदा बालेनले समर्थन जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारिएपछि अन्तरिम सरकारको नेतृत्वको पहिलो रोजाइमा बालेन परेको अलजजिराले उल्लेख गरेको छ । तर उहाँले प्रधानमन्त्रीमा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई समर्थन गर्दै चुनावमा उत्रिएपछि युवाको मन थप जितेको पनि अलजजिराले औँल्याएको छ ।
प्रधानमन्त्री कार्कीको छोटो कार्यकाल सकिँदै गर्दा बालेनले आफूलाई देशको भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । काठमाडौँबाट लगभग तीन सय किलोमिटर दक्षिणपूर्वमा रहेको झापा–५ बाट ओलीविरुद्ध संसदीय चुनाव लड्नाले पनि नयाँ पुस्ताको आकर्षणमा उहाँ परेको ठम्याइँ छ ।
बिबिसीको केन्द्रीय संस्करणले पनि शाह र उहाँको कदमलाई नेपालको नयाँ राजनीतिक धारको उदयका रूपमा स्वीकार गरेर समाचार प्रकाशन गरिरहेको छ । बिबिसीले जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिपछि नेपालको भावी आकाङ्क्षाका बारेमा झन्डै पचास मिनेट लामो डकुमेन्ट्री नै बनाएको थियो । जसले बालेनको युवामतलाई थप बलियो बनाएको अनुमान विश्लेषकहरूले गरिरहेका छन् ।
शाह नेपालका स्थापित राजनीतिक दल र राजनीतिज्ञमाझ नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उत्रिएको समाचार व्यापक भएको छ । यसअघि सन् २०२२ मा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेकामा बालेनको प्रवेशले त्यसको उचाइ थप बढाएको अनुमान बिबिसीले पनि लगाएको छ ।
टाइम्स अफ इन्डियाले बालेन शाह नेपालमा इन्जिनियर, र्यापर, मेयर र हस्तक्षेपकर्ता भनेर हेडलाइन लेखेर समाचार प्रकाशन गरेको छ । उहाँको गीत मात्र होइन भाषणकला र कामले पनि जनता लोभिएको उसले औँल्याएको छ ।
अमेरिकी सञ्चार माध्यम द गार्डियनले नेपाली सहर दमकको सिधा र धुलोले भरिएका गल्लीहरूमा एक अभूतपूर्व राजनीतिक सङ्घर्ष देखा पर्दै छ भनेर बालेनको चुनावी चित्र देखाएको छ । उसले अगाडि लेखेको छ, जहाँ कालो चस्मा र धारिलो सुट लगाएका र्यापरबाट राजनीतिज्ञ बनेका एक युवा पुरानो राजनीतिक हेभीवेटविरुद्ध लड्दै देशको राजनीतिलाई पूर्ण रूपमा नयाँ आकार दिन खोज्दै छ ।
नेपालमा बर्सौंपछि भएको आकर्षक निर्वाचनको अग्रपङ्क्तिमा ३५ वर्षीय बालेन्द्र शाह रहेको उद्घोष उसले गरेको छ । एक लोकप्रिय ¥यापरको रूपमा उहाँले गाएका गीतहरूले सत्तारूढ अभिजात वर्गको आलोचना गर्दथे, जसलाई कसैले मन पराउँदैन थिए, उसले भनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले पनि बालेनको चुलिँदो चर्चा र उहाँको चुनावी दौडलाई विश्वले महìवपूर्ण नजरले हेरिरहेको औँल्याएको छ । उसले भिडियो तथा लिखित समाचारबाट बारम्बार नेपालमा बालेनको पछिल्लो गतिविधि पछ्याइरहेको छ । उसले पछिल्लो आलेखमा भनेको छ, “नेपालको चुनावी दौडमा प्रभुत्व जमाउँदै ¥यापरबाट राजनीतिज्ञ बनेका बालेनलाई गत हप्ता देशको पूर्वमा समर्थकहरूले घेरेका थिए ।” फागुन २१ को निर्वाचनअघि देखिएको उक्त दृश्यले चीन र भारतको बिचमा रहेको पहाडी मुलुकलाई निर्णायक मोड दिन सक्ने अनुमान रोयटर्सले गरेको छ । सिएनएनले बालेनका समाचारलाई महत्व दिँदै पछ्याइरहेको छ । दुई दिनअघि ‘यो ¥यापर को हो जसले नेपालको भावी नेतृत्व लिँदै छन्’ भनेर हेडलाइन छापेको थियो । मतदानको समाचार पछ्याउँदै शुक्रबार उसले बालेनको मतगणनालाई समेत महत्व दिँदै अग्रता लिइरहेको उल्लेख गरेको छ ।