काठमाडौँ, चैत ७ गते । ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ पश्चिम एसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि त्यहाँको रोजगारी यही नेपाली उखानसरह बनेको छ । नबसौँ त स्वदेशमा रोजगारी छैन, अनेक दुःखजिलो गरेर श्रम गन्तव्य मुलुकमा पुगिएको छ । बसौँ, युद्धको त्रास छ । त्रासकै बिच केही दिनयता पश्चिम एसियामा जारी अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण त्रासमा रहेका नेपाली नागरिक नेपाल सरकारको समन्वयमा स्वेच्छाले स्वदेश फर्कने क्रम बढेको छ । हालसम्म करिब दुई हजार तीन सय जना नेपाली नागरिक स्वदेश फर्किसकेका अध्यागमन विभागले बताएको छ । विगत २३ दिनदेखि जारी युद्धका कारण पश्चिम एसियाका विभिन्न श्रम गन्तव्य मुलुकमा काम गरिरहेका नेपाली नागरिकले ज्यान जोखिममा परेको महसुस गर्दै आफैँ स्वदेश फर्कन थालेका हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पश्चिम एसियामा युद्धको त्रास जारी रहे पनि अधिकत्तर नेपाली नागरिक सुरक्षित रहेका छन् । अमेरिका र इजरायलले अकाशमार्गबाट इरानमा मिसाइल, ड्रोन, फाइटर विमानमार्फत आक्रमण गरिरहेको छ । त्यसबिचमा रहने पश्चिम एसियाका श्रम गन्तव्य मुलुकआसपास तथा त्यहाँस्थित तेल भण्डार, अमेरिकी सङ्घ संस्था, दूतावासमा समेत पछिल्लो समय आक्रमण हुन थालेपछि नेपाली नागरिकलगायतका श्रमिकमा थप त्रास बढ्दा नेपाली नागरिकले जिउज्यान जोखिममा परेको महसुस गर्न थालेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आकाशमार्गमै ध्वंश गरिएका मिसाइल, ड्रोन, बम तथा बारुदका अवशेष श्रम गन्तव्य मुलुकका व्यस्त सहर, समुद्री किनार, विमानस्थललगायतका क्षेत्रमा खस्दा काममा रहेका एक जना नेपाली नागरिकको मृत्यु हुनुका साथै केही नेपाली नागरिक घाइतेसमेत भएका छन् ।
बिचमा केही मत्थर बनेको युद्ध शान्तिमा बदलिन्छ कि भन्ने आशा पलाए पनि फेरि दोहोरिरहेको आक्रमणका कारण कतिपय नेपाली नागरिकले फर्कने मनसाय बनाएको पाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताउनुभयो । थापाले भन्नुभयो, “द्वन्द्वले जर्जर भएको अवस्था नभएकाले सामूहिक रूपमा सरकारै लागेर उद्धारमा उत्रिहाल्नुपर्ने तत्कालको अवस्था छैन तर त्यस्तो परिहालेमा के कसरी गर्ने भनेर सरकारले सबै उपाय र कूटनीतिक दायरा फराकिलो पारेर काम गरिरहेको भने हो ।”
तथापि फर्कन चाहेकालाई आकाशमार्ग केही खुकुलो भएसँगै विमान कम्पनीसँग समन्वय गर्ने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । फर्कन चाहेकाको धेरैको अपेक्षा भने सरकारले प्लेनको भाडा हालिदिए हुन्थ्यो भन्ने रहेको पाइएको मन्त्रालयले जनाएको छ । तर अहिलेसम्म फर्कनुभएकाको हकमा सबै आफ्नै खर्चमा स्वदेश फर्किरहेको अवस्था रहेको क्षेत्रीले जानकारी दिनुभयो ।
आकाशमार्ग खुलेसँगै सरकारले बन्द गरेको श्रम स्वीकृति नेपाली श्रमिकको चाहना अनुसार खुला गरिएको पनि उहाँले बताउनुभयो । अहिले बिदामा आएकाहरू दुईमहिने छुट्टी सकेर फर्कने क्रम ह्वात्तै बढेको छ । उहाँका अनुसार युद्ध सुरु भएसँगै विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकलाई गन्तव्यमा पु¥याउने जिम्मा सम्बन्धित विमान सञ्चालककै हुन्छ । त्यताबाट फर्कन चाहनेको हकमा पनि विमान कम्पनीसम्म पहुँच नपुगेकालाई दूतावासमार्फत पहुँच स्थापित गराएर टिकट खरिद गर्न सघाउने, यात्राका लागि आवश्यक कागजपत्र व्यवस्था गरिदिने, अलपत्र परेको भए गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा खानपानको सुविधा उपलब्ध गराइदिने काम मन्त्रालयमातहतका दूतावास र महावाणिज्य दूतावासले गरिरहेको छ ।
अहिलेसम्म फर्किएका र फर्कन चाहेका नेपाली नागरिकलाई नेपाल सरकारको समन्वयमा विभिन्न विमान कम्पनीले नेपाल लिएर आइरहेको छ । अध्यागमन विभागले दिएको जानकारी अनुसार बिहीबार साँझसम्ममा दुई हजार २९३ जना नेपाली नागरिक पश्चिम एसियाका मुलुकबाट स्वदेश फर्र्किएका छन् ।
जसमध्ये २०९ महिला र दुई हजार ८४ जना पुरुष रहेका छन् । यसरी फर्किएकामा सबैभन्दा बढी कतारबाट एक हजार ९२ जना रहेका अध्यागमनले जनाएको छ । त्यसपछि साउदी अरेबियाबाट ९७१ जना र ओमानबाट १२१ जना स्वदेश फर्कनुभएको छ । फर्कनुभएकामध्ये बढी महिला कतारबाट ८६, साउदी अरेबियाबाट ४०, ओमानबाट ३६ र साइप्रसबाट ३२ जना रहनुभएको छ । पाँच दिनदेखि आकाशमार्ग केही खुकुलो भएसँगै फर्कनेको लर्को थप बढेको हो । ती सबै मुलुकमा गरेर करिब २५ लाख जनाको हाराहारीमा नेपाली नागरिक रहेको अनुमान गरिएको छ ।
यसरी नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलायन्स, फ्लाई दुबई, कतार एयरलायन्स र हिमालयन एयरलायन्सको विमानले सघाइरहेको जानकारी परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले दिनुभयो । श्रम गन्तव्य मुलुकमा सिधै आक्रमण भएको अवस्था नभएकाले सरकारले सामूहिक उद्धार थालिसकेको छैन । अधिकांश नेपाली नागरिकले पनि आफूहरू सुरक्षित रहेको बताएका छन् ।
त्यसका कहीँ कतै आक्कलझुक्कल घटनामा परेका नेपालीको उद्धार र राहतका लागि कूटनीतिक पहल गर्ने रणनीति अहिलेका लागि कायम रहेको उहाँको भनाइ छ । त्यसका लागि को कहाँ सुरक्षित र असुरक्षित छन् भनेर तथ्य सङ्कलन गर्ने कार्यलाई भने मन्त्रालयले जारी राखेको छ । कन्सुलर विभागमा अनलाइन पोर्टल र मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेर ती तथ्यको बुझबुझारथ भइरहेको छ ।
हालसम्म पोर्टलमा आफ्नो अवस्थाबारे जानकारी दिनेको सङ्ख्या ८२ हजार एक सय हाराहारी पुगेको छ । त्यसमा छ हजार जनाले आफू असुरक्षित महसुस गरेको बताएका छन् । त्यसमध्ये पनि केहीले अवस्था सुधार हुँदै गएको पछिल्लो समय जानकारी गराउने क्रम बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी जानकारी लिँदैमा भर्खरै उद्धार गरिहाल्ने अवस्था सिर्जना भइनसकेकाले पर्ख र हेरको अवस्थामा नेपाली नागरिकलाई सम्झाउने तथा आफैँ फर्कन चाहेमा समन्वय गरिदिने गरिएको छ ।”