कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ३ गते । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै वैधानिकता पाएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन् ।
बुटवल उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्सा मात्रै सञ्चालन गर्नुपर्ने मागसहित चालकहरू आज उपमहानगरपालिकामा दबाब दिन पुगेका हुन् ।
उहाँहरूले दर्ता बिना सञ्चालनमा रहेका ई–रिक्साले अनावश्यक प्रतिस्पर्धा बढाएको र आफूहरूको रोजगारीमा असर परेको बताउनुभएको छ । दर्ताबिनाका रिक्सा सञ्चालनमा रोक नलगाएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत हरियाली यातायातका अध्यक्ष इ रिक्सा चालक कृष्णप्रसाद तिवारीले बताउनुभयो ।
हाल बुटवलमा करिब १५४० ई–रिक्सा दर्ता भएका छन् । तर दर्ता नभएका ई–रिक्साको संख्या अझ धेरै रहेको चालकहरूको गुनासो छ । यसअघि दर्ता भएका ई–रिक्सालाई मात्र सञ्चालन गर्न दिने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्नुपरेको चालकहरूको भनाइ छ । उनीहरूले उक्त सहमति कार्यान्वयन गर्न र दर्ता प्रक्रिया कडाइका साथ लागू गर्न माग गरेका छन् ।
दर्ता नभएका सवारी साधन सञ्चालन हुँदा नगरपालिकाको राजस्वसमेत गुमिरहेको छ । ई–रिक्सा चालकले दिनभर बुटवल बजारमा ठुलो संख्यामा रिक्सा प्रदर्शन गरेका थिए ।