अमरराज नहर्की
तनहुँ, वैशाख ३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा परी गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा ज्यान गएको हो ।
दमौलीबाट आँबुखैरेनी जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिण्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले दिनुभएको जानकारी अनुसार बिहीबार दिउँसो ४ः३० बजे उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ती पुरुषलाई उपचारका लागि तत्कालै दमौलीस्थित प्रदेश अस्पताल पठाइएको थियो । तर, उपचारका क्रममा अस्पतालले साँझ ५ः४८ बजे मृत घोषणा गरेको सूचना अधिकारी विकले बताउनुभयो । मृतकको शव हाल अस्पतालमै राखिएको छ ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।