काठमाडौँ, फागुन २५ गते । नेपाली महिला जिम्मेवारी र अवसर प्राप्त गरेको खण्डमा असहज अवस्थामा पनि सही ढङ्गले समाधानसहित काम फत्ते गर्न सक्छन् भन्ने उदाहरण बन्न सफल भएका छन् । जसले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै नेपालको ख्याति बढाएको छ ।
वर्तमान प्रधानमन्त्री सुशीला कार्की वा पहिलो महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी, पूर्वसभामुख ओनसरी घर्ती वा उच्च पदमा रहेका महिला नेतृत्व नै किन नहुन् परिआउँदा खरो नेतृत्व महिलाले नै दिएका छन् ।
नेपालमा आइतबार ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पसहित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गर्दा त्यसरी साहसपूर्वक काम गर्ने नेपाली महिला विश्वकै प्रेरणाको स्रोत बन्न पुगेको चर्चा अत्यधिक भएका छन् । पहिलो राष्ट्राध्यक्षका रूपमा दुई कार्यकाल पूर्वराष्ट्रपति भण्डारीले बिताउनुभएको थियो । त्यसपछि गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसयता नेपालमा विकसित जटिलतालाई समाल्ने प्रधानमन्त्रीका रूपमा कार्कीले देखाउनुभएको साहस महिला मात्रका लागि होइन, विश्वकै लागि उदाहरणीय बनेको छ । रगतले लतपतिएको सडक र जलेर भस्म भएको देशको प्रशासकीय क्षेत्र सिंहदरबारको खरानीमा उभिएर देश समाल्नु चानचुने कुरा थिएन । जटिलताबिच सम्पूर्ण नेपालीको शिर ठाडो बनाएर अघि बढ्न बाटो देखाउने अदम्य साहसका साथ उहाँकै नेतृत्वमा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु ठुलो आँट र धैर्यको पर्याय हो भन्ने चर्चा विश्वव्यापी बनेको छ ।
उहाँकै मातहतमा कानुनी शासनको मान राख्दै अघि बढेकी सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले आइतबार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा यही कुरा उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “देशको विषम परिस्थितिमा अदम्य नेतृत्व लिएर, राष्ट्रलाई निकास दिने अदम्य साहस पनि महिलाले देखाएका छन्, महिलाले के चाहिँ गर्न सक्दिनन् ?” उहाँले भन्नुभए जस्तै महिला घरको आमा हुँदा माया र ममताले पूरै परिवारलाई एकढिक्का बनाउँछिन् । छोरी हुँदा छोरासँग बराबर कदम अघि सार्दै पूर्णिमा श्रेष्ठ र कविता नेपाली जस्तै सगरमाथाको चुचरो चढ्न पुग्छन् । न्याय क्षेत्रमा प्रधानमन्त्री कार्की जस्तै सर्वोच्च अदालतको प्रधान न्यायाधीश र न्यायाधीश बन्न सक्छन् ।
पूर्वमुख्य सचिव लीलादेवी गड्तौलाको अनुभवमा पनि महिला आफैँमा समाज र परिवारको नेतृत्व गरिरहेको व्यक्तित्व भएकाले उसले बनाउने नियम, कानुन सबैलाई कार्यान्वयन गर्न सहज हुन्छ । महिला अधिकार स्थापित गर्न कानुन बनाउनु मात्र ठुलो कुरा नभई त्यसको कार्यान्वयन गर्ने ठाउँमा महिला नेतृत्व हुनुले थप फरक पार्ने उहाँको ठहर छ ।
महिलाले अवसर पाए भने कठिन जँघार सहजै तर्छन् भन्ने उदाहरण प्रधानमन्त्री कार्की भएको आममहिलाको मत छ । गायत्री पुडासैनीले भन्नुभयो, “महिलाले ठाउँ पाए भने गर्छन् र गर्न सक्छन् भन्ने उदाहरण त उहाँबाट देखियो नि, त्यत्रो जेनजी विद्रोह थियो, तहसनहस भएका बेला छ महिनाभित्र चुनाव गर भनेर राष्ट्रपतिले भन्नुभएको थियो, पछाडि लैजान पनि कानुनले मिल्दैनथ्यो, उहाँले चुनाव समयमै गराउनुभयो ।” त्यसको परिणाम जे जस्तो आए पनि नेपाल देश सफल बनाउनुमा महिलाकै भूमिका अहिले बलियो देखिएको उहाँ औँल्याउनुहुन्छ ।
नेपालको संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । कम्तीमा ३३ प्रतिशत महिलाका हरेक क्षेत्रमा सहभागिता सुनिश्चित गर्नुपर्ने अडान तत्कालीन राष्ट्रपति भण्डारीले संविधान निर्माणका क्रममा राख्नुभएको थियो । जसले नेपालकै इतिहासमा महिलाको वर्चस्व बढाउन टेवा पु¥याएको मानिन्छ । जस अनुसार समान प्रतिनिधित्व, समावेशी सहभागिता, लैङ्गिक समानता र सामाजिक न्यायलाई राज्य व्यवस्थाको आधारका रूपमा स्थापित गरिएको छ । सरकारी तथ्य अनुसार पछिल्ला दशकमा राज्यका विभिन्न संरचनामा महिला सहभागिता बढेको छ । स्थानीय तहदेखि सङ्घीय संसद्सम्म महिलाको प्रतिनिधित्व विस्तार भएको छ ।
संविधान अनुसार स्थानीय तहमा १४ हजार ३५३ अर्थात करिब ४१ प्रतिशत महिला छन् । निजामती सेवामा आरक्षणको व्यवस्थाले महिला सहभागिता २६ प्रतिशतभन्दा माथि छ । संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा घोषणा गरेका महिला अधिकार दशकले महिलाको सर्वोपरि विकासलाई उडान दियो । त्यसअघि बनेको विश्वव्यापी मानव अधिकार घोषणापत्रले महिला अधिकार संरक्षणको जग बसालेको थियो । जस अनुसार नेपालसहित ५० मुलुकले मात्र महिला हिंसाविरुद्धको कानुन जारी गरेका छन् ।