• ३० फागुन २०८२, शनिबार

चिनीमाया माझी मुख्य पात्र रहेको ‘मत्स्यकन्याको मुलुकमा’ अंग्रेजी अनुदित कृतिको लोकार्पण

blog

‘मत्स्यकन्याको मुलुकमा’ अंग्रेजी अनुदित कृतिको लोकार्पण कार्यक्रममा अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ३० गते । साहित्यकार तथा लेखक रण काफ्लेको नियात्रा कृति ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘इन दि कन्ट्री अफ दि मत्स्यकन्या’ को आज यहाँ लोकार्पण गरिएको छ । 

समाजसेवी चिनीमाया माझीलाई मुख्य पात्र बनाएर उहाँको जीवन संघर्षमा  आधारित नियात्रा कृतिको अंग्रेजी भर्सनको प्रकाशन साहित्य पोष्टले गरेको हो । नेपाली भर्सनको कृतिलाई प्रदीप रसाइलीले अंग्रेजी उल्था गर्नुभएको कृतिको एक समारोहबिच साहित्यकार नन्दु उप्रेती, साहित्य पोष्टका प्रधान सम्पादक आश्विनी कोइराला, अनुवादक प्रदीप रसाइली, मुख्यपात्र चिनीमाया माझीले गर्नुभयो । 

साहित्यकार नन्दु उप्रेतीले कृतिमा पात्रहरुलाई जिवन्तरुपमा प्रस्तुत गरिएकाले कृति पठनीय बनेको बताउनुभयो । नेपालको माझी समुदायको जनजीवनमा आधारित कृति भएकाले अंग्रेजी अनुवाद हुँदा देश विदेशका पाठकले कृतिबारेमा जानकारी पाउने उहाँले बताउनुभयो । अनुवाद साहित्य ज्ञान बाँड्नका लागि उपयोगी हुनेगरेकाले कृतिबाट धेरै पाठक लाभान्वित हुने उहाँको विश्वास छ । 

कृतिका मुख्यपात्र चिनीमाया माझीले लेखक रण काफ्लेले माझी समुदायलाई केन्द्रमा राखेर कृति तयार गरी माझी समुदायलाई गुन लगाउनुभएको बताउँदै पाठकले यसको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । साहित्य पोष्टले प्रकाशन गरी सहयोग गरेकोमा उहाँले प्रकाशन समूहलाई धन्यवाद व्यक्त गर्नुभयो । कृतिको अंग्रेजी भर्सनले विदेशी पाठकलाई समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कृतिका अनुवादक सिलगुढी निवासी प्रदीप रसाइलीले समाज सेवाको क्षेत्रमा चिनीमाया माझीको अतुलनीय योगदान रहेकाले कृतिमा उहाँलाई मुख्य पात्रको रुपमा लेखकले प्रस्तुत गर्नुभएको बताउनुभयो । कृति नियात्रा भएको भए पनि माझी समुदायको विषयलाई केन्द्रमा राखिएको बताउँदै उहाँले कृति मार्फत् नेपालको पर्यटन क्षेत्रको प्रवर्धन गर्न खोजिएको चर्चा गर्नुभयो ।  

साहित्य पोष्टका प्रधान सम्पादक आश्विनी कोइरालाको सभापतित्वामा भएको लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार, संगीतकार, साहित्यानुरागी, पत्रकार तथा समाजसेवीहरुको उपस्थिति थियो । २१७ पृष्ठको कृतिको बिक्री मूल्य पाँच सय रुपियाँ राखिएको छ । कृतिको नेपाली भर्सन वर्षदिन अघि प्रकाशन भएको थियो ।