काठमाडौँ, फागुन २२ गते । आज नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान गर्ने दिन हो । मतदान गर्न तयार रहेका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै छन् ।
देशभर तय गरिएका १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान स्थल मतदातालाई स्वागत गर्न तयार पारिएको छ । उपत्यकामा आयोगका पदाधिकारी तथा जिल्लाहरूमा निर्वाचन अधिकृतसहितका कर्मचारीले मतदान स्थलको अनुगमन गर्नुभएको छ । अनुगमनपछि तयार भएकालाई थप व्यवस्थित गर्न र नपुग भएका कुरा थप्न निर्देशन दिइएको आयोगले प्रस्ट पारेको छ । आयोगका अनुसार यी केन्द्र मतदातालाई भव्य स्वागत गर्न आतुर छन् ।
मतदान केन्द्र र मतदान स्थलमा नेपाल र आमनेपाली नागरिकको सुन्दर भविष्य कोर्न मतदाताले आफ्नो शासकीय अधिकार आफ्नो मतमार्फत प्रतिनिधि सभा सदस्यहरूलाई सुम्पिने भएकाले पनि यो दिनलाई ऐतिहासिक मानिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयो ।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ अनुसार मतदान केन्द्र भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि प्रचलित सङ्घीय कानुनबमोजिम स्थापना गरिएको मतदान केन्द्र र उपकेन्द्र हुन्, जहाँ मतदाताले आफ्नो गोप्य मतदान गर्छन् ।
मतदान केन्द्र सुनिश्चित गरेर जाऊँ
निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुने र साँझ ५ बजेसम्म जारी रहने बताएको छ । निर्धारित समयमा मतदान सुरु गर्न मतदाता बिहान ७ बजेभन्दा केहीअघि मतदान स्थल पुग्नु पर्छ । केन्द्र जानुभन्दा पहिले आफ्नो मतदान केन्द्रको पहिचान आयोगको वेबसाइटमा भोटर लिस्ट भन्ने पेजमा गएर निश्चित गर्न आयोगले अपिल गरेको छ । मतदान केन्द्रमा प्रवेश गर्ने स्थानपछि महिला र पुरुषसहितका मतदाताका लागि लाम लाग्ने व्यवस्था हुन्छ । वृद्धवृद्धा, अपाङ्गता भएका, अशक्त, रोगी, गर्भवती, किरियापुत्री बसेका मतदाताले लाइन बस्नु पर्र्दैन । उहाँहरूले सहजै छुट्टै लाइनबाट मतदान गर्न पाउनुहुन्छ ।
के लैजाने, के नलैजाने ?
सहायक प्रवक्ता श्रीसका अनुसार आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको छ । तर मतदाता नामावलीमा नाम भने दर्ता भएको हुनु पर्छ । मतदान गर्न अनिवार्य चाहिने भनेर छ प्रकारमध्ये एउटा कागजपत्र भए मतदान गर्न पर्याप्त हुन्छ ।
उहाँले भन्नुभयो, “मतदाता परिचयपत्र भए सबैभन्दा बेस, त्यो नभएको खण्डमा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र भए हुन्छ, त्यो पनि नभए राहदानी, सवारी चालक अनुमतिपत्र र मतदाताका नाममा रहेको जग्गाधनी पुर्जा भए पनि मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।” मतदान स्थलमा पिउने पानीको व्यवस्था गरिएको छ । सामान्य बिरामी र असहज भएकाका लागि पनि उपचारको सुविधा रहन्छ । साथमा घडी, मोबाइल, अन्य इलेक्ट्रोनिक सामान, राजनीतिक दलका चुनाव चिह्न अङ्कित कुनै पनि कुरा लैजान नहुने आयोगले जनाएको छ ।
मतदाताले के नगर्ने ?
मतदाताले देशको भविष्य निर्धारण गर्ने भएकाले जति स्वच्छ भाव मतदातामा हुन्छ त्यति नै स्वच्छ र निष्पक्ष तरिकाले मतदान हुने र त्यसको परिणाम आउने विश्वास आयोगले लिएको छ । त्यसैले मतदान केन्द्र र स्थलमा तोकिएका बाहेकका कागजपत्र बोकेर हुलहुज्जत गर्ने, अन्य मतदातालाई असर पर्ने गरेर चर्काचर्की गफ गर्ने काम नगर्न आयोगले आग्रह गरेको छ ।
गोप्य मतदान गरौँ
सहायक प्रवक्ता श्रीसका अनुसार लामबाट मतदान गर्ने स्थानमा पुगेपछि त्यहाँ रहेका मतदान अधिकृत तथा निर्वाचन कर्मचारीले भएको मतदाता नामावलीको सूचीमा नाम रुजु गरेपछि औँठामा मतदानको मसी लगाइन्छ र आफूलाई दिइएको मतपत्रमा मतदान गर्न सकिन्छ । “आफूले चाहेको उम्मेदवारको चुनाव चिह्नमा माथिका चार घेरामा नपर्ने गरी स्वस्तिक छाप लगाउने र मतपत्र पट्याउँदा अरू दलको चुनाव चिह्नमा नपर्ने गरी तलको भागलाई अघि छाप लगाएको ठिक मुनि समानान्तर पारेर पट्याएपछि मतपेटिकामा खसाल्नु पर्छ । औँठाले छाप लाउने, कलमले सही गर्ने आदि गर्नु हुँदैन ।
संयम सञ्चारकर्म
प्रतिनिधि सभा निर्वाचनको समाचार तथा तस्बिर सङ्कलन गर्न जाने आमसञ्चार माध्यमका पत्रकार, फोटो पत्रकार तथा सञ्चारकर्मीले मतदान स्थल र केन्द्रमा प्रभाव पार्ने गतिविधि तथा प्रश्नोत्तर गर्न नहुने आयोगले जनाएको छ ।