काठमाडौँ, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिहीबार पहिलो पटक मतदानमा सहभागी नयाँ मतदातामा सुनौलो उत्साह देखियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म अनुसार भएको निर्वाचनमा नयाँ मतदाताले उत्साहपूर्वक सहभागिता जनाए ।
जीवनकै पहिलो मतदानमा सहभागी दिनिसा केसीलाई आफ्नो पहिलो मतदान कस्तो होला भन्ने कुतूहल काठमाडौँको सङ्कटास्थित मतदान केन्द्र पुगेपछि झन् बढ्यो । उहाँले भन्नुभयो, “सुरुमा त अलिक नर्भस थिएँ, आफ्नो नाम अनलाइनमा हेरेर गएको थिएँ, त्यहाँ पुगेपछि सरसर्ती काम भएको देख्दा फरक अनुभूति गरेँ ।” भर्खर १८ वर्ष पुग्नुभएकी उहाँका लागि निर्वाचनमा मतदान गर्नुसँगै यो माहोल सबै नयाँ थियो । पहिले पहिले निर्वाचनका विषयमा त्यति चासो उहाँलाई हुँदैनथ्यो । गत भदौको घटनापछि भने आफूहरू पनि मतदानमा सहभागी भएर प्रतिनिधि चुन्नुपर्ने रहेछ भन्ने कुराले प्रेरित गरेको सुनाउनुभयो । त्यसपछिको अवस्थाले देश, यहाँको शासन प्रणाली कसरी चल्छ भन्ने कुरा साथीसँगको छलफलको विषय बन्न थालेको उहाँको अनुभव छ । युवाको मतदानले शासन चलाउनेमा केही न केही परिवर्तन ल्याउँछ र अब बन्ने सरकारले पनि देशमा सुशासनसँगै युवाका लागि देशमै स्वरोजगार हुने अवसरको सिर्जना गर्छ भन्ने अपेक्षा उहाँको छ ।
उहाँ जस्तै सुजन मानन्धरले पनि १८ वर्ष पुगेर यसै वर्ष मतदानका लागि योग्य भएर मतदान स्थलमा आएको सुनाउनुभयो । पहिलो मतदानले नेपालमा हुने मतदान प्रणालीका बारेमा जान्ने अवसर दिलाएको खुसी उहाँले व्यक्त गर्नुभयो । अधिकतम युवा पढ्न र कमाउन विदेश गएको र जानु परिरहेको उहाँलाई थाहा छ । उहाँले भन्नुभयो, “पछिल्लो विश्वको अवस्थाले विदेश नै जानु पनि राम्रो देखिएको छैन, त्यसैले अब बन्ने सरकारले देशमै बस्ने र यहाँको विकासमा सहभागी हुने अवसर दिलाउनु उत्तम देखिन्छ ।” स्नातक अध्ययनरत उहाँले आफूले चुनेको प्रतिनिधिले सही तरिकाले काम गरिदियो भने सबैलाई फाइदा हुने अनुमान गर्नुभयो ।
आमनिर्वाचनमा पहिलो पटक गरेको मतदानको चिह्न औँलामा देखाउँदै द्रविका महर्जनले मतदान गर्ने रहर पूरा भएको बताउनुभयो । उहाँले सम्झनुभयो, “मतदान गर्दै गर्दा एकछिन त मन कस्तो कस्तो भयो, देशको अर्थतन्त्र राम्रो होस्, जेनजी आन्दोलनको आकाङ्क्षा पूरा होस् भन्ने चाहना राख्दै छाप लगाएँ ।”
रुमी सुवाललाई पनि जीवनको पहिलो मतदान अनौठोसँगै रमाइलो लाग्यो । उहाँ मतदान गर्न आउनुको प्रेरणा पनि गत भदौको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति नै रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सायद त्यो आन्दोलन नभएको भए मैले यस पटक मत दिन्नथेँ, अबको सरकारले कुनै भ्रष्टाचार नगरोस्, सबै नेपाली नागरिकलाई बराबर सोचेर काम गरोस् भन्ने आशा छ ।” युवा भनेको देशको बलियो खम्बा हो । त्यसैले पनि उनीहरूलाई हेरेर नीति नियम बनाउने र विकासका योजना अघि बढाउनुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।
अहिलेको निर्वाचन जेनजी आन्दोलन र सो क्रममा निधन भएका जेनजीको बलिदानी हो भन्नेमा प्रस्ट धारणासहित पहिलो मतदानमा उत्रनुभएकी व्रिmष्टिना शिख्राकार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “भौतिक तथा प्राविधिक पूर्वाधारको विकाससँगै रोजगारी सिर्जना धेरैभन्दा धेरै हुन सक्छ, त्यसले पर्यटन, शिक्षा र अन्य क्षेत्रमा पनि सम्भावना बढाउँछ र हामी नेपालमै बस्न सक्छौँ जस्तो लाग्छ ।”
२४ वर्षीया लबोनी प्रधान लामो समय थाइल्यान्डमा अध्ययनका लागि रहनुभएकाले नेपालमा मतदान गर्न पाउनुभएको थिएन । यस पटक आफू जस्तो युवाको मतले अर्थ राख्ने र महìव दिने सम्झँदै मतदानमा होमिएको बताउनुहुन्छ । उहाँले आफ्नो पदका लागिभन्दा पनि देशका लागि सोच्ने मानिसको खोजी आफू जस्ता युवाले मतदानबाट गर्न खोजेको प्रस्ट्याउनुभयो ।
वर्ष १८ कै दिलासा श्रेष्ठले धोबीचौरबाट पहिलो मतदान गर्नुभयो । मतदानसँगै पहिलो पटक निर्वाचन पर्यवेक्षकसमेत बन्नुभएकी उहाँले आफू कानुनको विद्यार्थी भएकाले पनि मतदान हरेक नागरिकको अधिकार हो भन्ने बुझेर मत दिन अग्रसर भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “पहिला जे जस्तो भए पनि अब बन्ने सरकारले उत्तरदायित्व बहन गरोस् र सरकार र जनताबिचमा पारदर्शिता सिर्जना गरोस् भन्ने अपेक्षा छ ।”
प्रयन राजवंशी पहिले पहिले आफ्ना अभिभावकसँग चुनाव कसरी हुन्छ भनेर हेर्न मात्र आउनुहुन्थ्यो । उहाँले भन्नुभयो, “कत्ति समय लगाएको होला भोट दिन भन्ने लाग्थ्यो, यस पटक उमेर पुगेकाले आफैँ मतदाता बनेर जाँदा प्रत्येक चरणमा कागजपत्र जाँच गर्ने र त्यसपछि मात्र भोट दिन पाइने रहेछ भन्ने थाहा भयो ।” नेपालको नागरिकका रूपमा त्यसरी चुनेर पठाएकासँग ठुलो अपेक्षा नरहेको भन्दै उहाँले शिक्षा र दैनिक सेवाको प्रणालीलाई सहज र सरल बनाइदिए मात्र पनि जनताले धेरै सुख पाउने दाबी गर्नुभयो ।
सरला शाक्यले १८ वर्षमा पहिलो पटक मतदान गर्दै गर्दा त्यसको प्रक्रियासँगै मतदानको महत्व बुझेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसलाई हामीले यसरी चुनेर पठाउँदै छौँ, उहाँहरूले भ्रष्टाचार र अनियमितता नगरे हुन्छ, पहिले भएका गल्ती सच्याउँदै राम्रो देश बनोस् भन्ने चाहना छ ।”
उहाँको जस्तै धेरै नयाँ मतदाताले देशको शासन प्रणाली र नेतृत्वको कार्यविधि/शैलीमा परिवर्तन खोजेको मतदानका क्रममा भेटियो ।
वसन्तपुर दरबार क्षेत्र परिसरको निर्वाचन स्थलमा खटिनुभएका निर्वाचन अधिकारी मनोहर घिमिरेका अनुसार यस पटकको मतदानमा देशभर नयाँ मतदाता र युवापुस्ताको राम्रो सहभागिता देखिएको छ । युवासँगै वृद्धवृद्धा, असक्त समूहसँगै सबै खालका मतदातामा मतदान गर्ने उत्साह राम्रो देखिएको जानकारी उहाँले दिनुभयो ।
कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये नयाँ मतदाता आठ लाख ३७ हजार ९४ जना थपिएका थिए । जसमा नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको निर्वाचन आयोगको आँकडा छ ।