• १ असोज २०८१, मङ्गलबार

राजनीति सही दिशामा जान आवश्यक छ : डा. राउत

blog

जनमत पार्टीको प्रशिक्षणमा सहभागी डा. राउत लगायतका नेताहरु ।

सिराज खान 

नेपालगन्ज, भदौ ३१ गते । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको बताउनुभएको छ । 

नेपालगन्जमा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनताको मत र समर्थनबाट राजनीति अगाडि बढ्ने भएकाले हरेक जनताले सही राजनीति र सही विचारधारालाई समर्थन तथा सहयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले देशका किसान, मजदुर, व्यापारी र कर्मचारी सबैको अधिकार प्राप्त हुने मुख्य माध्यम नै राजनीति भएकाले हरेकले राजनीतिलाई बुझ्नु पर्ने र सही दिशामा लैजान प्रयास गर्नुपर्ने बताउनुभयो । 

जनमत पार्टीले तराई मधेशलगायत सबै नेपाली जनताको हक अधिकारका लागि आन्दोलन गर्ने तयारी गरिरहेको जनाउँदै अध्यक्ष राउतले अहिले आफू सोही सिलसिलामा यहाँ आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तपाईँहरूले सोच्दै हुनुहुन्छ होला, म यहाँ अहिले किन आए, म अहिले तपाईँसँग आन्दोलन माग्न आएको छु । सबैले मलाई आन्दोलन दिनुस् । म तपाईँको अधिकारका लागि लड्नेछु ।’  

अध्यक्ष डा. राउतले अधिकार सम्पन्न प्रदेशको रूपमा लुम्बिनीलाई विकास गरेर अघि जानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व खानेपानीमन्त्री अब्दुल खानले मधेसको मुद्दालाई सशक्त रूपमा उठाउन आफूहरू आएको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई टिकाउन सके देशमा महत्त्वपूर्ण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रशिक्षण कार्यक्रममा सो पार्टीका अनुशासन विभाग प्रमुख दीपक शाह, सङ्गठन विभाग प्रमुख जयकान्त राउत, केन्द्रीय सदस्य सन्ध्या देव, हरपाल सिंह लगायतले कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।