• १ असोज २०८१, मङ्गलबार

सबै स्थानीय तहमा हाटबजार सञ्चालन गर्छौँ : मन्त्री श्रेष्ठ

blog

कार्यक्रममा सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना  

बनेपा, भदौ ३१ गते । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेशका सबै स्थानीय तह र वडामा स्थानीय हाटबजार सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । 

जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयको गत आवको प्रगति समीक्षा तथा चालु आवको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उहाँले प्रदेश सरकारले प्रदेशभित्र रहेका ११९ वटै स्थानीय तहमा हाटबजार सञ्चालन गर्ने योजना अघि बढाएको बताउनु भएको हो । 

“प्रदेश सरकारले प्रदेशभित्रका सबै स्थानीय तह, सबै वडा र सबै निर्वाचन क्षेत्रमा हाटबजार सञ्चालन गर्ने योजना अघि बढाएको हो, यसो गर्दा बिचौलिया प्रवृत्तिको अन्त्य भई किसानले आफ्नो उत्पादनको वास्तविक मूल्य पाउनेछन्” मन्त्री श्रेष्ठ भन्नुभयो । 

उहाँले कृषि र पशु कार्यालयले गरेको बजेट र कार्यक्रम सफल भएको तथ्याङ्क पेस गरे पनि उपलब्धि भने नदेखिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले रैथाने बाली विकास तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन, एउटा पालिकामा २० करोडसम्मको कृषि र पशु विकासको बहुवर्षीय कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेकाले आफ्नो पालिकाका सम्भावना र योजना पेस गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभयो ।

उहाँले अहिले प्रविधि हस्तान्तरणमा किसानले ५० प्रतिशत, प्रदेश सरकारको ५० प्रतिशत अनुदान दिँदै आए पनि यसलाई सुधार गरी प्रदेश सरकारको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानी, कृषि प्रवर्धनको कार्यक्रममा किसानको ५ प्रतिशत, स्थानीय सरकारको २० प्रतिशत र प्रदेश सरकारको ७५ प्रतिशत लगानी गर्नुपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारले किसान परिचयपत्र वितरण गर्ने योजना समेत अघि बढाएको बताउँदै प्रदेश सरकारले किसानका लागि विपद् राहत कोष स्थापना गरे पनि राहत लिन आउने कृषकको सङ्ख्या कम रहेको बताउनुभयो । 

उहाँले सरकारले किसानको लागि पर्याप्त मात्रामा अनुदान दिन नसकेको कारण कृषकले गरेको उत्पादन लागत मूल्य र बिक्री मूल्य समेत बढी रहेको बताउनुभयो । उहाँले तिहार लगत्तै प्रदेश सरकारको लगानीमा निर्माण भएका दश वटा शीत भण्डार, दुध पाउडर कारखाना र हेटौँडा निर्माण भएको तरकारी बजार सञ्चालनमा ल्याउने बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले प्रदेश सरकारले कानुन र कार्यविधिमा टेकेर कार्यक्रम सञ्चालन गर्ने बताउँदै स्थानीयस्तरमा हुने अनुगमनका कार्यक्रममा स्थानीय तहको उपप्रमुख–उपाध्यक्ष र वडा अध्यक्षलाई समेत समावेश गर्न निर्देशन दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपकप्रसाद गौतमले कृषकलाई धेरैभन्दा धेरै अनुदानका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले शीत भण्डारमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नगरपालिकाले कौशीखेती, निःशुल्क पशु बिमा सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा, पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूको अनुगमनमा स्थानीय तहलाई समेत समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडी, बागवानी विकास केन्द्रका प्रमुख विष्णु बोगटी र पशु विकास कार्यालयका निमित्त प्रमुख निशान्त गेलालले कार्यालयको गत आवको प्रगति प्रतिवेदन र चालु आवको कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभयो ।