काठमाडौँ, मङ्सिर १ गते । काठमान्डु गोर्खाजका कप्तान करण केसीले नेपाल प्रिमिर लिग (एनपिएल) को पहिलो खेलमा जित निकाल्दा टोलीमा खुसी छाएको बताउनुभएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्ष मोन्टी देसाईको प्रशिक्षणमा रहेको काडमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जासपद हार चखायो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरको ब्याटिङ कमजोर बन्दा काठमान्डुले एक सय ३१ रनको मध्यम लक्ष्य पाएको थियो । जसमा काठमान्डुले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
जनकपुरको ब्याटिङ कमजोर बनाउन काठमान्डुको स्पीनर हाबी बनेको थियो । खेलपछि काठमान्डुका कप्तान केसीले टियु मैदानमा हजारौँदर्शकबिच डे नाइट खेल खेल्न पाउनु उत्कृष्ट क्षण भएको बताउनुभयो ।
“पहिलो पटक फ्लडलाइटको यस्तो माहोलमा खेल्न पाएका छौँ । चिसोमा खेल्न केही गाह्रो त भयो । पहिलो जितले झनै खुसी मिलेको छ । आज स्पीनरले राम्रो गरेको कारण जित्न सहज भयो । घरेलु र विदेशी खेलाडीबिच तालमेल पनि मिल्यो । त्रवि मैदान कहिले ब्याटिङ विकेट र कहिले बलिङ विकेट हुने गर्दछ । तर, हामी जितको लयलाई निरन्तरता दिएर अगाडि बढ्नेछौँ,” करणले भन्नुभयो ।