लक्ष्मी तिमिल्सेना
जमुनाह, वैशाख २८ गते । “बिहान खाउँ भने बेलुका छैन, बेलुका खाउँ भने बिहान छैन । सात दिन भयो खाना नखाएको । ढुङ्गा बोकेर, अरूको चर्पी सफा गरेर बनाएको घर अहिले भत्किँदैछ,” भन्दै कोहलपुर–११, शान्तिनगरका सुकुमवासी गोरखबहादुर घर्ती आफ्नै घर भत्किँदा रुँदै आफ्नो पीडा पोख्दै हुनुहुन्थ्यो ।
कोहलपुर नगरपालिका–११, शान्तिनगर स्थित सुकुमवासी बस्ती अहिले तनावग्रस्त बनेको छ । एकातिर स्थानीयको रुवाबासी छ भने अर्कोतिर घरअगाडि सामान छरपस्ट देखिन्छन् । कपडा, झोला, सिरक, डसना लगायत दैनिक प्रयोगका सामग्री अस्तव्यस्त अवस्थामा छन् ।
त्यही सामानसँगै कमला शोनी आफ्नो पीडा समेटिरहनुभएको छ । उहाँ कहिले सामान मिलाउनुहुन्छ त कहिले घरतर्फ फर्केर हेर्नुहुन्छ । स्थानीय सरकारले बस्ती खाली गर्न निर्देशन दिएपछि धेरै परिवार विस्थापनको चिन्तामा छन् ।
उहाँले भन्नुभयो, “हाम्रो बच्चा बिहान स्कुल जान लाग्दा ‘घर भत्कियो भने हामी कहाँ जाने?’ भनेर सोध्छन्, हामी के जवाफ दिउँ?”
त्यस्तै छिमेकी शान्ती मगर को पीडा पनि उस्तै छ । उहाँ कहिले आँसु लुकाउने प्रयास गर्नुहुन्छ त कहिले घर छोड्नुपर्ने बाध्यताले भावुक बन्नुहुन्छ ।
कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बसोबास गरिएको क्षेत्र खाली गर्ने अभियान अन्तर्गत शनिबार करिब ४० घर र आइतबार थप १४० घरटहरा हटाइएको छ । सो क्षेत्रमा करिब ७५१ परिवार बसोवास गर्दै आएका छन् ।
नगरपालिकाका अनुसार तीमध्ये केही अव्यवस्थित बसोवासी, भूमिहीन दलित र भूमिहीन सुकुमवासी परिवार छन् । डोल्पा, हुम्ला, कालिकोटलगायत जिल्लाबाट आएका परिवार पनि यहाँ बसोवास गर्दै आएका छन् ।
नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार स्वेच्छिक रूपमा हट्न पहिल्यै आग्रह गरिएको थियो ।
उहाँले वास्तविक भूमिहीन परिवारको व्यवस्थापन गर्ने योजना रहेको बताउँदै तथ्याङ्क प्रमाणीकरणपछि मात्रै वास्तविक लाभग्राही पहिचान भएको जानकारी दिनुभयो ।
यस अभियानमा स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्थापित परिवारका लागि अस्थायी बसोवासका रूपमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।