• १ मंसिर २०८२, सोमबार

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १ गते। कपिलवस्तुको तौलिहवा नगरपालिका वडा नं. ८ स्थित श्री विश्वनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त ५१ हजार ५ सय रुपियाँ, दिवा खाजाबापत दुई लाख ४७ हजार ५० रुपियाँ र पाठ्यपुस्तक शीर्षकमा प्राप्त एक लाख १६ हजार ७२९ रुपियाँ विनियोजन भएकोमा प्रधानाध्यापक रैदास र अध्यक्ष थारुको मिलेमतोमा सो रकम हिनामिना गरेको देखिएको छ। 

आयोगका अनुसार छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण गरेको नदेखिएको, दिवा खाजाको दुई लाख ४७ हजार ५० रुपियाँमध्ये नौ हजार ९०० बराबरको खाजा उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत तीन जना विद्यार्थीलाई विद्यालयमा नै खुवाइ बाँकी रहेको दुई लाख ३७ हजार १५० रकमको दिवास खाजा नखुवाएको, पाठ्यपुस्तक शीर्षकमा निकासा भएको एक लाख १६ हजार ७२९ रुपियाँमध्ये एक हजार ७६४ रुपियाँको पाठ्यपुस्तक खरिद गरि जम्मा तीन जना विद्यार्थीलाई वितरण गरेको सोको बाँकी रकम एक लाख १४ हजार ९६५ बराबरको वितरण नगरेको, छात्रवृत्तिको ५१ हजार ६०० र सामाजिक सुरक्षा करबापतको ३९ हजार ७१४ गरी जम्मा चार लाख ४३ हजार ४३० रुपियाँ रकम सम्बन्धित काममा खर्च नगरी खाईमासी हिनामिना गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

विद्यार्थीलाई दिवा खाजा नखुवाई, पाठ्यपुस्तक वितरण नगर्नुको साथै छात्रवृत्ति रकम वितरण नगरेको र सामाजिक सुरक्षाबापतको कर दाखिला नगरी नेपाल सरकार एवम् सार्वजनिक संस्था विश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पु¥याएको र आफूहरुलाई गैरकानुनी फाइदा लिइ प्रतिवादीले को कसुर गरेको आयोगले जनाएको छ। 

उनीहरुविरुद्ध नेपाल सरकार एवम् सार्वजनिक संस्था विश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पु¥याएको र आफूहरुलाई गैरकानुनी फाइदा पुर्‍याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम  विशेष अदालत, काठमाडौँमा सोमबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ।