• २ मंसिर २०८२, मङ्गलबार

गोलन्जोर आधारभूत अस्पतालमा चौबिसै घण्टा सेवा

blog

सिन्धुलीको गोलन्जोर गाँउपालिका–३, ग्वाल्टारमा भर्खरै सञ्चालन आएको १५ शय्याको आधारभुत अस्पताल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, मङ्सिर २ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारस्थित ‘गोलन्जोर आधारभूत अस्पताल’ले अब चौबिसै घण्टा सेवा सुरु गरेको छ ।

‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार गत असोज ५ गतेदेखि १५ शथ्याको उक्त अस्पताल सञ्चालनमा आएको थियो । उक्त अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबार(मङ्सिर १ गते)देखि पाँच शय्याको आकस्मिक कक्षसहित अब चौबिसै घण्टा सेवा सुरु गरेको जनाएको छ ।

अब अस्पतालमा फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला सेवा नियमित रूपमा उपलब्ध भएको गाँउपालिका अध्यक्ष शङ्करराज बरालले जानकारी दिनुभयो । उक्त अस्पतालबाट गोलन्जोर गाउँपालिका बाहेक छिमेकी फिक्कल र सुनकोशी गाउँपालिका तथा रामेछाप, ओखलढुङ्गा र खोटाङ जिल्लाका सिमावर्ती बासिन्दालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आधारभूत स्वास्थ्य उपचारका लागि यस भेगका नागरिकले जिल्ला सदरमुकाम सिन्धुलीमाढी, धुलिखेल, काठमाडाैँ तथा अन्य नीजि अस्पचाल खोज्दै धाउनु पर्ने बाध्यता अन्त्य हुने विश्वास गरेको छु ।’ मध्यपहाडी लोकमार्गको सहज पँहुचमा रहेको गोलन्जोर आधारभुत अस्पताल आउन जान यातायातको समस्या नपर्ने स्थानीय बताउँछन् ।

अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा पालिका जुटिरहेको गाँउपालिका अध्यक्ष बरालले सुनाउनुभयो । ग्वाल्टारमा सञ्चालित स्वास्थ्य चौकीको स्तराेन्नति गरी अस्पतालका लागि हुनु पर्ने मापदण्ड बमोजिमको नयाँ भवन निर्माण गरेर उक्त अस्पताल सञ्चालन गरिएको हो । अस्पताल सञ्चालनका लागि कार्यालय सहयोगी बाहेक ३२ जना विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरेको गाउँपालिकाले जनाएको छ ।

‘अहिले एक जना एमबिबिएस चिकित्सक व्यवस्था गरी नागरिकलाई सेवा प्रवाह भइरहेको छ,’  गाउँपालिका अध्यक्ष बरालले भन्नुभयो, ‘स्रोत र साधन जुट्दै गएपछि त्यही अनुसार जनशक्ति पनि थपिँदै जाने छन् । अस्पताल पूर्णरूपमा सञ्चालन हुँदा नौ जना विषेशज्ञ चिकित्सक नै रहने व्यवस्था गरिएको छ ।’ 

अस्पताल सञ्चालनका लागि ब्याक टू लाइफ इभी जर्मनीको आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको प्राविधिक सहयोगमा छ करोड ७६ लाख २१ हजार १३५ रुपियाको लागतमा नयाँ भवन निर्माण गरिएको छ । उक्त अस्पताल सञ्चालनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा र गोलञ्जोर गाउँपालिका बिच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्ने सम्झौता भएको छ । 

नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा नागरिकलाई  स्थानीयस्तरमा नै आधारभूत स्वास्थ्य सेवा दिन पछिल्लो समयमा स्थानीय तहले उक्त अस्पताल सञ्चालन  गर्दै गएका हुन् । हालसम्म कमलामाई नगरपालिकामा सय शय्याको अस्पताल सञ्चालनमा रहेको छ । त्यस्तै दुधौली नगरपालिका, तीन पाटन गाउँपालिका र फिक्कल गाउँपालिकाले पनि १५ शय्याको अस्पतालको भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याई सकेका छन् । 

बाँकी हरिहरपुरगढी, मरिण, सुनकोसी गाँउपालिकामा उक्त आधारभुत अस्पतालको भवन धमाधम निर्माण भई रहेको छ । घ्याङलेख गाउँपालिका–३, सोलाभन्ज्याङमा डिपिआर भएको वर्ष दिन बतिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।