काठमाडौँ, मङ्सिर २ गते । २०७२ सालमा नेपालको संविधान जारी भएपछि राज्यका निकायमा सबै वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित भएको छ । संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ तर सबैको सहभागिता सुनिश्चित भए पनि राज्यका निकायमा जेनजीको उपयुक्त प्रतिनिधित्व हुन सकेन । सुशासन नहुँदा र पाइलैपिच्छे भ्रष्टाचारको चङ्गुलमा परेपछि भदौ २३ र २४ गते जेनजीको अग्रसरतामा उथलपुथलकारी आन्दोलन भयो । आन्दोलनपछि हरेक राजनीतिक दलमा जेनजीले आफ्नो उपस्थिति खोजेका छन् । संविधान, लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्दै नवीनतम् सुधार र सुशासनमार्फत समुन्नत नेपाल निर्माणको सङ्कल्प जेनजीले लिएको छ ।
विद्यार्थी जीवनदेखि नै सङ्गठित भएर राजनीतिक दलभित्र दशकयता सक्रिय जेनजीका प्रतिनिधिले ‘अग्रज पुस्ताको अगुवाइ, जेनजीको समानुपातिक सहभागिता’ को माग गरेका छन् । नेपाली कांग्रेसमा सक्रिय जेनजी पुस्ताका पूजा फुयाँल र विकल राई, नेकपा (एमाले) मा सक्रिय सुमन जैरू, नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय स्मृति तिमिल्सिना र जनता समाजवादी पार्टी नेपालको विद्यार्थी सङ्गठनमा सक्रिय प्रवीणकुमार यादवले राजनीतिक सङ्गठनमा जेनजीको अनिवार्य सहभागिता, प्रतिनिधित्व र सहकार्यमार्फत सशक्त, पारदर्शी र विश्वसनीय लोकतान्त्रिक प्रणालीको विकास गर्नुपर्ने प्रस्ट पार्नुभयो ।
युवा फुयाँलले राजनीतिक दलमा नयाँ पुस्ताको सहभागिता अभिवृद्धि गर्नका लागि संस्थागत सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलहरूले युवालाई मात्र कार्यकर्ता होइन, नीति निर्माण तहमा समेत सहभागी गराउने नीति अवलम्बन गर्नु पर्छ । युवा नेतृत्व विकास कार्यक्रम, डिजिटल संवाद मञ्च, तथा पारदर्शी भर्ती प्रणालीले जेनजीको चासो बढाउँछ ।” राईले जेनजीका युवा हरेक राजनीतिक दल, वर्ग र समुदायमा रहेको र जेनजीको भावना, जेनजी विद्रोहको मर्मलाई समेट्न सोही पुस्ताको प्रतिनिधित्व चाहिने बताउनुभयो ।
विधि बनाएरै सहभागिता
जेनजीकै स्मृति तिमिल्सिना, सुमन जैरू र प्रवीणकुमार यादवले निर्वाचनमार्फत देशलाई नवीन रूपान्तरण गर्न सक्ने समावेशी संसद् निर्माण गर्नुपर्ने बताउनुभयो । तिमिल्सिनाले पुराना पार्टी साङ्गठनिक रूपमा बलियो भएकाले नयाँ पुस्ताका नेता अगाडि आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा नेतृत्व र नेता आउनु पर्छ, जसको देश बनाउने दृष्टिकोण छ, उनीहरूलाई भोट दिनु पर्छ । युवा युवा एकअर्काविरुद्ध लाग्ने होइन । जेनजीबाट निश्चित प्रतिशत नै उम्मेदवारीका लागि छुट्याउनु पर्छ र नेतृत्व लिन सक्ने युवालाई ठाउँ दिनु पर्छ । एक पटक नेतृत्वमा पु¥याउने र नेतृत्व क्षमता विकासतर्फ अग्रसर गराउनु पर्छ ।”
युवा जैरूले लोकतन्त्रलाई विश्वास गर्नेले निर्वाचनमार्फत नयाँ जनादेशमा जानुपर्ने बताउनुभयो । जेनजीले सुशासन, नियमसङ्गत कामकारबाही र सरकारी सेवा प्रवाह हुने निकायको झन्झट हटोस् भनेर आन्दोलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रणालीमा सुधार गर्नु पर्छ । निर्वाचनको पक्षमा छु म । निर्वाचन हुनु पर्छ । संसद् पुनस्र्थापनाले जेनजी आन्दोलनलाई न्याय गर्दैन ।”
यादवले परिवर्तन पक्षधर सबै समूहका अगुवा एक ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दललाई काम गर्न दबाब दिन पनि निर्वाचनमा परिवर्तन पक्षधर, जेनजीले रुचाएका, पार्टी सङ्घ सङ्गठनभन्दा माथि उठेर विषम परिस्थितिलाई निकास दिन सक्नेहरू एकैठाउँमा आउनुपर्ने बताउनुभयो । विश्वसनीय र सहभागितामूलक निर्वाचन
युवा पूजा फुयाँल, विकल राई, सुमन जैरू, स्मृति तिमिल्सिना र प्रवीणकुमार यादवले निर्वाचनमा युवा सहभागिता वृद्धि गर्न मददाता नामावलीमा नाम दर्ता गर्ने, निर्वाचनमा सहभागी हुने जस्ता आधारभूत विषयमा प्रचारप्रसार गरिरहनुभएको छ ।
फुयाँलका अनुसार मतदाता सूची अद्यावधिक, खर्च नियन्त्रण र प्रशासनिक निष्पक्षता सुनिश्चित गर्न कडा कानुनी व्यवस्था लागु गर्न र प्रविधिमुखी भोटिङ प्रणाली अपनाउन युवापुस्ताले बहस चलाइरहेका छन् । उहाँले भन्नुभयो, “जेनजीले आफ्नो नवप्रवर्तनशील सोच, प्रविधि दक्षता र सामाजिक प्रतिबद्धताको माध्यमबाट सरकारलाई सहयोग पु¥याउन सक्छन् । डिजिटल शासन, वातावरणीय संरक्षण, शिक्षा सुधार र रोजगारी सिर्जनाका क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण हुन्छ ।”