काठमाडौँ, फागुन १० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि १२ दिन बाँकी रहँदा राजनीतिक विमर्श दुई धारमा विभाजित भएको छ । राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक सञ्जालमा हुने निर्वाचनसम्बन्धी बहस सिद्धान्त, नीति र अबको संसद्ले गर्नुपर्ने कामका सन्दर्भमा भन्दा पनि ‘पुराना’ कि ‘नयाँ’ दल भन्दै सामाजिक ध्रुवीकरण सिर्जना गर्ने खतरा देखिएको हो ।
प्रतिनिधि सभाले ऐन, कानुन निर्माण गर्ने र देशको समग्र मार्गचित्रमा बहस गरेर गन्तव्य देखाउने भए पनि ती विषय थाती राखेर नयाँ र पुरानाको गलत बहस चलाएर राजनीतिक रूपान्तरणको कार्यदिशा, कार्यक्रम र नीति निर्माणको विषय किरानाकृत पारिँदै छ तर प्रबुद्ध वर्गसँगै जेनजी अभियन्ताले दल नयाँ वा पुराना नहुने बताउँदै नीति, सिद्धान्त, विचार, दृष्टिकोण र कार्यशैलीमार्फत दलसँगै देशको राजनीतिलाई पुनर्ताजगी गर्नुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका पूर्वप्रमुख प्राडा मीना वैद्य मल्लले प्रतिनिधि सभाको कार्यक्षेत्र, कर्तव्य र सांसदले गर्नुपर्ने कामका सन्दर्भमा सिर्जनशील बहस गर्नुपर्ने बताउनुभयो । प्राडा वैद्यसँगै अर्थ राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी र जेनजी अभियन्ता ऋषि थापाले राजनीतिक दलहरू नयाँ वा पुरानोभन्दा पनि सिद्धान्त, आचरण, कार्यशैली, नागरिकप्रति जवाफदेही र सचेतनाले पुनर्जागृत हुनुपर्ने बताउनुभयो ।
‘रूपान्तरणमा बहस केन्द्रित गर्नु पर्छ’
प्राडा वैद्यले नागरिकका अपेक्षा गलत नभएको र सेवा प्रवाह प्रभावकारी बनाउने, नागरिकका समस्या र गुनासालाई सम्बोधन गर्न सक्ने र सेवा प्रवाहमा सुधारमार्फत नागरिकले राजनीति र राज्य प्रणालीमा नवीनता खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “२०६२/६३ को जनआन्दोलन होस् वा जेनजी आन्दोलन होस्, नागरिकले मागेको भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी दबाब सिर्जना गर्न सक्ने र पारदर्शी नेतृत्व हो, त्यो हामीले पाउनु पर्छ । जनताले चाहेको त्यही हो । सुशासन र भ्रष्टाचारविरुद्ध उभिने नेतृत्व, जसले युवाको सहभागिता र आशालाई जगाउन सकोस् । दल नयाँ वा पुरानो होइन, काममार्फत नयाँपन खोजेको हो । नवीनता त्यसैमा खोज्ने हो ।”
प्राडा वैद्यले नागरिकमा बढेको चेतना अनुसार राजनीतिक नेतृत्वले आफूलाई परिस्कृत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनपछि नेतृत्वमा अलिकति दबाब हुन्छ, अलिकति डराउनु पर्छ र सुधारिएर आउनु पर्छ भन्ने मानसिकता रहनु पर्छ, त्यो देखिएको पनि छ । अहिले सुधार नगरे कहिले गर्ने ? नेतृत्वले विगतका कमीकमजोरी र स्वार्थीपनालाई त्यागेर सुधारिएर अगाडि आउनु पर्छ । साथै जनताको चेतनास्तर बढिसकेको छ भन्ने कुरा पनि बुझ्नु पर्छ ।”
‘युगान्तकारी अध्याय आरम्भ’
अर्थ राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले राजनीतिक दल नयाँ वा पुराना भनेर छलफल गर्नु अर्थपूर्ण नहुने बताउनुभयो । उहाँले २०६४ को संविधान सभामा सबैभन्दा ठुलो भएको नयाँ दल क्रमशः शिथिल हुँदै गएको र पुरानो भनिएको दलको नेतृत्वमा संविधान जारी हुनुले दल नयाँ र पुरानोको भाष्यलाई अस्वीकार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगमा कैयौँ दल दर्ता भएका छन्, कति नयाँ छन्, २००७ को प्रजातान्त्रिक आन्दोलनदेखि अहिलेसम्म निरन्तर राजनीतिसँग जोडिएका छन् तर दल दर्ताको मितिभन्दा पनि त्यसको नेतृत्वले विचार, नीति र सिद्धान्तमार्फत पुनर्ताजगी गर्ने र समयानुकूल राज्य सञ्चालनको सङ्कल्प गर्नु पर्छ । त्यसैमा नयाँपन खोज्नु पर्छ ।”
जेनजी अभियन्ता ऋषि थापाले राजनीतिक दल नयाँ पुराना नहुने प्रस्ट पार्नुभयो । उहाँले कार्यशैलीमा नयाँपन दिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ त कार्यशैली हुनु पर्छ । नयाँ व्यक्ति, नयाँ विचार भनेर बहस भइरहेको छ तर हामीले खोजेको कार्यशैलीमा नवीनता हो, सुधार हो । सिद्धान्तवादी मात्रै भएर बहस गरेर मात्रै देश बन्ने भए धेरै काम भइसक्थ्यो तर अहिले नीतिसँगै राज्यप्रति समर्पण नयाँ हुनु पर्छ र कामलाई नयाँपन दिन सक्ने नेतृत्व नै नयाँ हुन्छ ।”
जेनजी अभियन्ता थापाले अब सुशासन, सुधार, राज्य सञ्चालनमा पारदर्शिता र भ्रष्टाचार अन्त्य गरेर देशमा नवयुग थालनी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नयाँ पार्टी कि पुरानो पार्टी भनेर हुँदैन । हामी नयाँ छौँ, हामी नयाँ गरौँ भन्ने वा हामी पुराना हौँ अनुभवी हौँ भनेर पनि हुँदैन । देश हाँक्न नेतृत्वको कार्यशैली र क्षमता चाहिँ नयाँ हुनु पर्छ । नेपाली नागरिकलाई नयाँ वा पुराना पार्टी चाहिएको होइन, जवाफदेही र पारदर्शी नेतृत्व चाहिएको हो । त्यसैले जसले आफूलाई परिस्कृत गर्न सक्छ, त्यही नयाँ हुन्छ ।”
‘नागरिकको निर्णय सर्वोपरि’
त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका पूर्वप्रमुख प्राडा मीना वैद्य मल्लले महँगी नियन्त्रण, अर्थतन्त्रमा सुधार, वैदेशिक ऋण घटाउने उपाय, युवालाई स्वदेशमै रोजगारी दिने जस्ता विषयलाई नयाँ रूपमा राज्यले सम्बोधन गर्ने गरी उठान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनपछि संसद् नयाँ बन्छ, प्रधानमन्त्री नयाँ बन्छन् । नयाँ बहस थालनी हुन्छ । अहिलेको निराशाको प्रमुख कारण नै भ्रष्टाचार हो । त्यसैले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी दबाब सिर्जना गर्ने र देशलाई सोही अनुरूप नेतृत्व दिने र प्रस्तावित नीति कार्यक्रम कार्यान्वयन गर्ने नेतृत्व देशले खोजेको हो ।”
अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपाल देशलाई आर्थिक, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक सुधारसहितका काममार्फत रूपान्तरण गर्ने सुअवसर प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि जे जस्ता बहस उठेका छन्, त्यसले राजनीतिक संस्कारमा सुधार ल्याउने सङ्केत देखिएको छ । सबैभन्दा महत्वपूर्ण सरोकार दलहरूमा व्याप्त भ्रष्टाचार र गैरनीतिक चरित्र समाप्त हुनु पर्छ । र सुशासनको प्रत्याभूत र आर्थिक विकास हुनु पर्छ भन्ने मुद्दामा बहस छ । यी विषय सम्बोधन गरेर दललाई परिस्कृत गर्ने दिशामा राजनीति अघि बढेको छ ।”