• १ वैशाख २०८३, मङ्गलबार
blog

काठमाडौँ, वैशाख १ गते । तीन दशकभन्दा लामो राजनीतिक चक्रव्यूह तोडेर युवा पुस्तालाई राजकीय नेतृत्व सुम्पिँदै विसं २०८२ बिदा भएको छ । सत्ताको ‘म्युजिकल चियर’ बाट देशलाई मुक्त गराई राजनीतिक स्थिरताको नवीन अध्यायका सकारात्मक सन्देशसहित मङ्गलबारदेखि २०८३ सुरु भएको छ । असीमित जनआकाङ्क्षा र परिवर्तनका चाहनानिम्ति देशले निकै ठुलो विध्वंसको सामना पनि गरेको छ । 

२०८३ को नयाँ बिहानी सुरु हुँदा देशमा झन्डै दुई तिहाइ बहुमतसहितको एकल सरकारले सत्ता समालिरहेको छ । अस्थिर राजनीतिको चक्र समाप्त गर्दै युगीन रूपान्तरणका लागि जनताले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री वालेन्द्र शाहलाई सत्ता सञ्चालनको जिम्मेवारी सुम्पिएका हुन् । यो मतादेशमा नागरिकको राजनीतिक नेतृत्व रूपान्तरणको अपेक्षासँगै सुशासन, आर्थिक विकास, रोजगारी, जवाफदेही राज्य प्रणाली र राज्यका निकायबाट पाउने सेवासुविधाको सहज पहुँच पनि जोडिएका छन् । 

२०७२ सालमा नेपालको संविधान जारी भएपछि राजनीतिको नयाँ युग आरम्भ हुने जनअभिलासा पूरा नहुनु, राजनीतिक नेतृत्व सत्ता र शक्ति केन्द्रित हुनु र नेतृत्वप्रति नागरिक अविश्वास बढ्नु आदि कारणले २०८२ भदौ २३ र २४ गते जेनजी जनआन्दोलन भयो । जेनजी जनआन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । उहाँकै नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गराएर संविधानलाई सही दिशा प्रदान गरेको छ । संविधानविद् प्राडा विपिन अधिकारीले २०८२ सालको मूल मुद्दा राजनीतिक रूपान्तरणसँगै संविधानलाई ट्र्याकमा फर्काउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ २३ र २४ को जुन आन्दोलन भयो, त्यसपछि बनेको सरकारले निर्वाचन गरायो । अन्ततः निर्वाचनपछि संविधान ट्र्याकमा फर्किएको छ ।” 

प्राडा अधिकारीले धेरै ठुलो जोखिमको परिस्थितिबाट देश अगाडि बढे पनि निर्वाचन शान्तिपूर्ण हुनु र परिवर्तनको सन्देशसहित देश अघि बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तर हाम्रा देशका जोखिम के के हुन् भन्ने राम्रोसँग बुझ्नु पर्छ । राष्ट्रिय असुरक्षाका कारण के के हुन् भनेर बुझ्नु पर्छ । किनभने जे भयो, त्यो घटना त्यसै भएको हो भनेर सोच्नु हुँदैन । जुन विध्वंस हुन गयो, त्यसका कारक तत्व के हुन् भन्ने कुरा पनि छ । त्यो गल्तीबाट सिक्नुपर्ने र गर्नुपर्ने कुरा छन् । भदौ २३ र २४ का ती घटनामा जो जो जिम्मेवार थिए, उनीहरूलाई कानुनको दायरामा ल्याउने हो । कानुन अनुसार उनीहरूलाई सजाय गर्ने हो ताकि यस्ता घटना फेरि नदोहोरिऊन् ।” 

खरानीबाट स्थायित्वको अध्याय 

२०८२ सालको सुरुवात राजनीतिक रूपमा त्यति धेरै अस्थिर रहेन । नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकार थियो । केही समूहका प्रदर्शन, शिक्षक आन्दोलनबाहेक अन्य ठुला राजनीतिक घटना भएनन् । सरकार गठन–विघटनको सिलसिला रोकिएकै थियो । तर भदौ २३ गते देश नयाँ दिशातर्फ मोडियो । जेनजी जनआन्दोलनमा विद्यार्थीसहितको निधनपछि भदौ २४ गते देशैभरि विध्वंस भयो ।

सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनसहित सबैजसो प्रशासनिक केन्द्र ध्वस्त भए । भदौ २३ गते विद्यार्थीसहित १९ जनाको निधनपछि तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुभयो । जेनजी जनआन्दोलन हिंसात्मक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीमा दिनु प¥यो । भदौ २४ गते भएको विध्वंससम्ममा ७६ जनाले ज्यान गुमाएपछि सेनाको मध्यस्थतामा सरकार गठनको पहल सुरु भयो । 

भदौ २७ गते प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उहाँको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोक्नुभयो । त्यसपछि राष्ट्रपति पौडेलको अभिभावकत्वमा प्रधानमन्त्री कार्की र प्रमुख दलका नेताबिच संवाद सुरु भयो । चरणबद्ध छलफलपछि देश निर्वाचनमय भयो । त्यसबिचमा सरकारले असोज ५ गते भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग गठन ग¥यो । मङ्सिर २५ गते सरकार र जेनजी पुस्ताबिच १० बुँदे सम्झौता भयो ।  

सरकारले निर्वाचनको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरी मङ्सिर २९ गतेदेखि परामर्श अघि बढायो । सोही जगमा फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भयो । निर्वाचनमा झन्डै दुई तिहाइ मतादेश हासिल गरेपछि चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनुभयो । चैत २२ गते रास्वपाका पूर्वउपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्वाचित हुनुभयो । राष्ट्रपति पौडेलले चैत २७ गते सङ्घीय संसद्लाई सम्बोधन गरेपछि संसद् अधिवेशन अन्त्य भयो । 

दलहरूभित्र रूपान्तरण प्रयास 

राजनीतिक रूपान्तरण र रास्वपाको ऐतिहासिक विजयका लागि पुस १३ गते निर्णायक दिन बन्यो । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहबिच सातबुँदे सहमति भयो । उक्त सहमतिमा रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री पदमा शाहलाई प्रस्ताव गर्ने उल्लेख थियो । 

रास्वपाले प्रधानमन्त्रीका उम्मेदवार प्रस्ताव गरिसक्दा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित राजनीतिक दलमा पुस्तान्तरणको बहसमै रुमल्लिरहेका थिए । पुस ३ गते एमालेको ११ औँ महाधिवेशनले अध्यक्षमा ओलीलाई पुनः निर्वाचित ग¥यो । नेपाली कांग्रेसले पुस २७–३० गते दोस्रो विशेष महाधिवेशन गरेर सभापतिमा गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन ग¥यो । निर्वाचन आयोजले माघ २ गते सभापति थापाको कार्यसमितिलाई वैधता दियो । 

स्थिरतातर्फ देश 

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी र जेनजी अभियन्ता एवं सांसद पुरुषोत्तम यादवले राजनीतिक रूपान्तरणका लागि २०८२ साल ऐतिहासिक मोड भएको बताउनुभयो । वरिष्ठ अधिवक्ता भण्डारीले निर्वाचनपछि संविधान र लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेतर्फ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकले दिएको मतादेश र सरकारको प्रारम्भिक कामले नागरिकमा उत्साह प्रदान गरेको छ । २०८२ रूपान्तरणको जग भयो । २०८३ मा सुशासन र आर्थिक विकासको वर्ष बनाउनु पर्छ ।” 

प्रतिनिधि सभा सदस्य यादव २०८२ सालमा नागरिकको विश्वास पुनः आर्जन भएको र अबको समयमा भ्रष्टाचार न्यूनीकरण, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य र शिक्षा, सबल अर्थतन्त्र र युवालाई आफ्नै देशमा सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन अपरिहार्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “इतिहासले २०८२ लाई उपलब्धिको वर्ष मात्रै भनेर सम्झिने छैन, जिम्मेवारी हस्तान्तरणको वर्षका रूपमा स्मरण गरिने छ । परिवर्तन स्थायी बनाउन दृढ, इमानदार र उत्तरदायित्व बहन गर्न प्रतिबद्ध हुनु पर्छ ।”