• २६ फागुन २०८२, मङ्गलबार

‘सिप अर्थतन्त्र’ को आधार

blog

विश्वव्यापी श्रम बजारमा तीव्र परिवर्तन आइरहेको छ । कृत्रिम बुद्धि (एआई) को उदय, अटोमेसन र प्रविधिको द्रुत विकासले रोजगारीका परम्परागत स्वरूपलाई बदलिदिएको छ । हिजोका कतिपय पेसा आज लोप हुँदै छन् भने भोलिका लागि नितान्त नयाँ सिप र दक्षताको माग भइरहेको छ । यस्तो सङ्व्रmमणकालीन परिवेशमा व्यक्तिलाई उसको रुचि, अन्तर्निहित क्षमता र बजारको माग अनुसार सही मार्ग रोज्न सहयोग गर्ने ‘वृत्ति मार्गनिर्देशन’ (करियर गाइडेन्स) केवल एउटा सामान्य परामर्श सेवा मात्र नभई राष्ट्रको समग्र आर्थिक समृद्धिको प्रमुख आधार बन्न पुगेको छ । 

वृत्ति मार्गनिर्देशनले व्यक्तिको रुचि, क्षमता र बजारको माग अनुसार उपयुक्त शिक्षा र पेसा रोज्न निरन्तर सहयोग पु¥याउँछ । यो केवल जागिर खोज्न दिइने सल्लाह मात्र होइन, बरु व्यक्तिको जीवनभरको सिकाइ र कार्यक्षेत्रलाई व्यवस्थित गर्ने एक वैज्ञानिक पद्धति हो । वृत्ति मार्गनिर्देशनको मूल अवधारणा ‘सही व्यक्ति, सही ठाउँ र सही समय’ (राइट पर्सन, राइट प्लेस, राइट टाइम) भन्ने सिद्धान्तमा आधारित छ । यसले मुख्यतः दुई वटा आयामको वैज्ञानिक मिलन गराउँछ ः पहिलो, ‘स्वपहिचान’ (म को हुँ ? मेरो रुचि र क्षमता के हो ?) र दोस्रो, ‘अवसरको पहिचान’ (बजारमा कस्ता काम उपलब्ध छन् र भविष्यमा कुन क्षेत्रको माग बढ्दै छ ?) । यस अवधारणाले शिक्षालाई बेरोजगार उत्पादन गर्ने कारखाना हुनबाट रोक्छ र विद्यार्थीलाई सुरुदेखि नै आफ्नो भविष्यप्रति सचेत, दूरदर्शी र जिम्मेवार बनाउँछ ।

नेपालको सन्दर्भमा शिक्षालाई श्रम बजारसँग जोड्न नसक्दा एकातिर हातमा शैक्षिक प्रमाणपत्र भएका तर सिप नभएका शिक्षित बेरोजगारको सङ्ख्या दिनानुदिन बढ्दो छ तर उद्योग तथा कलकारखानाले आवश्यक दक्ष जनशक्ति नपाएको गुनासो गरिरहेका छन् । यो गहिरो खाडललाई पुर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई वृत्ति मार्गनिर्देशनसँग एकीकृत गर्नु अनिवार्य आवश्यकता हो । नेपालको संविधानले निर्दिष्ट गरेको रोजगारीको मौलिक हक कार्यान्वयन गर्न तथा शिक्षालाई सिपसँग र सिपलाई रोजगारीसँग जोड्ने यो पद्धति शैक्षिक रूपान्तरणको मुटुका रूपमा स्थापित हुनु पर्छ ।

सिक्नुपर्ने पाठ

नेपालले आफ्नो मौलिक शैक्षिक र रोजगारीको मोडेल विकास गरिरहँदा विश्वका सफल र प्रमाणित अभ्यासबाट धेरै कुरा सिक्न सक्छ । स्विट्जरल्यान्ड र जर्मनीको ‘द्वैध प्रणाली’ विश्वमै उत्कृष्ट मानिन्छ । त्यहाँ करिब ७० प्रतिशत युवा माध्यमिक शिक्षापछि प्राविधिक धार छनोट गर्छन् । उनीहरू हप्ताको केही दिन उद्योगमा काम गर्दै व्यावहारिक सिप सिक्छन् र बाँकी समय विद्यालयमा सैद्धान्तिक ज्ञान लिन्छन् । ‘तालिम सम्झौता’ ले उनीहरूको रोजगारीलाई सुनिश्चित गर्छ । त्यसै गरी फिनल्यान्डले वृत्ति मार्गनिर्देशनलाई निकै लचिलो र अनिवार्य बनाएको छ । त्यहाँ कक्षा ७ देखि ९ सम्म वृत्ति मार्गनिर्देशनलाई पाठ्यव्रmमकै अनिवार्य हिस्सा (७६ घण्टा) बनाइएको छ । प्रत्येक विद्यार्थीका लागि 

‘व्यक्तिगत सिप विकास योजना’ तयार गरिन्छ, जसले विद्यार्थीलाई कुन क्षेत्रमा विशिष्टीकरण गर्ने भन्ने स्पष्ट मार्गचित्र दिन्छ ।

दक्षिण एसियाली र विशेष गरी नेपाली सांस्कृतिक परिवेशसँग मेल खाने अर्को सफल अभ्यास भारतको ‘जीव’ पद्धति हो । यस पद्धतिले व्यक्तिको क्षमतालाई परम्परागत परीक्षाको अङ्कका आधारमा मात्र नभई भाषिक, तार्किक–गणितीय, स्थानगत, व्यक्तिगत र शारीरिक–यान्त्रिक गरी पाँच आयाममा मापन गर्छ । यसले परम्परागत परीक्षा प्रणालीले समेट्न नसकेका विद्यार्थीभित्रका लुकेका प्रतिभालाई उजागर गर्न मद्दत गर्छ ।

नेपालको अवस्था

विश्वका यी सफल अभ्यासलाई आत्मसात् गर्दै नेपालले पनि वृत्ति मार्गनिर्देशनका सन्दर्भमा केही महìवपूर्ण नीतिगत र संस्थागत कदम चालेको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले ‘वृत्ति परामर्श’ लाई शैक्षिक नीतिको एक महìवपूर्ण भागका रूपमा मान्यता दिएको छ । यसले शिक्षा प्रणालीलाई केवल परीक्षाको नतिजामा सीमित नराखी विद्यार्थीको सिप र रोजगारीसम्बन्धी मार्गदर्शनमा जोड दिएको छ । यसै गरी बागमती प्रदेशले ‘बागमती प्रदेश शिक्षा नीति, २०८०’ मार्फत प्रत्येक माध्यमिक विद्यालयमा ‘शैक्षिक परामर्श तथा वृत्ति मार्गनिर्देशन’ सेवा उपलब्ध गराउने स्पष्ट व्यवस्था गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन कार्यविधि, २०८१’ ले स्थानीय तह र विद्यालयले कसरी करियर काउन्सिलिङ सेवा दिने भन्ने स्पष्ट ढाँचा दिएको छ । विद्यालयमा ‘करियर फोकल शिक्षक’ तोक्ने र ‘करियर काउन्सिलिङ कक्ष’ स्थापना गर्ने कानुनी आधार यसैले तयार पारेको छ । 

कार्यगत अवस्थाको कुरा गर्दा, बागमती प्रदेशको सफल अनुभव र स्विस सरकारको प्राविधिक सहयोगलाई आधार मान्दै सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०२६ जनवरी (२०८२ माघ) मा ‘राष्ट्रिय डिजिटल करियर गाइडेन्स पोर्टल’ सुरु गर्ने तयारी गरेको छ । प्रदेशस्तरमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालनमा आइसकेका छन् । धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा ‘नमुना वृत्ति मार्गनिर्देशन सेवा कक्ष’ सञ्चालनमा ल्याइएको छ, जहाँ विद्यार्थीले प्रत्यक्ष वा अनलाइन माध्यमबाट परामर्श लिन सक्छन् । शिक्षकलाई ‘वृत्ति मार्गनिर्देशन सहजकर्ता’ बनाउन सातदिने विशेष तालिम प्रदान गरी फोकल शिक्षकका रूपमा तयार गरिँदै छ । विद्यार्थीको रुचि र क्षमता परीक्षण गर्न डिजिटल सफ्टवेयर प्रयोगमा ल्याइएको छ, जसबाट विद्यार्थीले घरमै बसेर निःशुल्क आफ्नो करियर रिपोर्ट प्राप्त गर्न सक्छन् । ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका संयोजकलाई समेत विद्यालय शिक्षासँग जोड्ने अभ्यासको थालनी हुनु अर्को सकारात्मक पक्ष हो ।

अबको बाटो 

नीतिगत सुरुवात भए पनि यसलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाको एकीकृत प्रयास आवश्यक छ । अबको बाटो निम्न अनुसार तय हुनु पर्छ ः युवा परिषद् र स्थानीय तहको भूमिका ः वृत्ति मार्गनिर्देशनलाई केवल विद्यालयको कक्षाकोठामा मात्र सीमित राख्दा बिचैमा पढाइ छाडेका, वैदेशिक रोजगारीबाट फर्केका र बेरोजगार युवा छुट्ने जोखिम हुन्छ । यसका लागि सङ्घीय र प्रदेश युवा परिषद्ले ‘सामुदायिक वृत्ति परामर्श केन्द्र’ स्थापना गर्नु पर्छ । वैदेशिक रोजगारीबाट फर्केका युवासँग भएको अनुभवलाई राष्ट्रिय सिप परीक्षण समितिमार्फत प्रमाणीकरण गराई स्वदेशमै उद्यमशीलतामा जोड्नु पर्छ । स्थानीय तहका ‘रोजगार सेवा केन्द्र’ र ‘रोजगार संयोजक’ लाई केवल प्रशासनिक काममा मात्र सीमित नराखी ‘एकद्वार परामर्श केन्द्र’ का रूपमा विकास गरिनु पर्छ । उनीहरूले विद्यालयका करियर फोकल शिक्षकसँग समन्वय गरी नियमित रूपमा ‘करियर टल्क’ कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।

शैक्षिक एकीकरण र शिक्षकको भूमिका ः फिनल्यान्डको मोडेल जस्तै नेपालमा पनि कक्षा ७ देखि १२ सम्मको पाठ्यव्रmममा वृत्ति मार्गनिर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरिनु पर्छ । कक्षा ६–८ को स्थानीय पाठ्यव्रmममा स्थानीय पेसा र व्यवसायको परिचय समेट्नु पर्छ । शिक्षकहरू केवल पाठ्यपुस्तकको ज्ञान बाँड्ने व्यक्ति मात्र नभई विद्यार्थीको रुचि पहिचान गर्ने वृत्ति परामर्शदाताका रूपमा प्रस्तुत हुनु पर्छ । शिक्षक तालिमको पाठ्यव्रmम परिमार्जन गरी बागमती प्रदेशले सुरु गरेको सातदिने तालिमलाई सेवाकालीन तालिमको अभिन्न अङ्ग बनाइनु पर्छ ।

अभिभावक, विद्यार्थी र उद्योगको साझेदारी ः नेपाली समाजमा प्राविधिक शिक्षालाई ‘दोस्रो दर्जाको रोजाइ’ मान्ने गलत मानसिकता त्याग्न अभिभावकको भूमिका निर्णायक हुन्छ । कुनै पनि काम सानो हुँदैन र प्राविधिक क्षेत्रमा पनि उच्च प्रतिष्ठा छ भन्ने यथार्थलाई समाजले स्वीकार गर्नु पर्छ । विद्यार्थी केवल प्रमाणपत्रका लागि मात्र नभई बजारमा बिक्ने सिप हासिल गर्न केन्द्रित हुनु पर्छ । यसका लागि उद्योग र समुदायले शिक्षण संस्थालाई आवश्यक पर्ने ‘व्यावहारिक प्रयोगशाला’ उपलब्ध गराउने (सार्वजनिक–निजी साझेदारी) मोडेललाई प्रवर्धन गर्नु पर्छ ।

एकीकृत संरचनाको निर्माण ः छरिएर रहेका प्रयासलाई एक ठाउँमा ल्याउन सङ्घीय सरकारले ‘टिइभिटी छाता ऐन’ ल्याई सबै तहका सरकारको भूमिका र अधिकारलाई स्पष्ट पार्नु पर्छ । शिक्षा मन्त्रालयको डिजिटल पोर्टल, श्रम मन्त्रालयको ‘श्रम संसार’ र युवा परिषद्का सूचनालाई एउटै संयन्त्रमा आबद्ध गरिनु पर्छ । स्थानीय र प्रदेश सरकारले वृत्ति मार्गनिर्देशन र प्राविधिक शिक्षाका लागि निश्चित प्रतिशत बजेट विनियोजन गर्ने सुनिश्चित हुनु पर्छ ।

निष्कर्ष

वृत्ति मार्गनिर्देशन नेपाललाई ‘लेबर इकोनोमी’ (श्रम अर्थतन्त्र) बाट ‘स्किल इकोनोमी’ (सिप अर्थतन्त्र) मा रूपान्तरण गर्ने महìवपूर्ण प्रस्थानविन्दु हो । जब विद्यालयभित्रका विद्यार्थी र विद्यालयबाहिरका युवा दुवैले आफ्नो रुचि र बजारको माग अनुसारको सिप सिक्ने वातावरण पाउँछन्, तब मात्र वैदेशिक रोजगारीप्रतिको डरलाग्दो निर्भरता घट्छ र स्वदेशमै उद्यमशीलताको लहर चल्छ । प्रदेशले सँगालेका सफल अनुभव, सङ्घीय सरकारले निर्माण गर्दै गरेको डिजिटल पोर्टल र स्थानीय तह तथा युवा परिषद्मार्फत विद्यालयबाहिरका युवालाई समेट्ने रणनीतिले नेपालको शैक्षिक र आर्थिक मानचित्र बदल्ने सामथ्र्य राख्छ । अबको आवश्यकता भनेको तिनै तहका सरकार, निजी क्षेत्र, शिक्षक, अभिभावक र स्वयम् युवाले आआफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नु हो । हामीले यस मार्गचित्रलाई दृढताका साथ कार्यान्वयन ग¥यौँ भने समृद्ध राष्ट्रनिर्माणको हाम्रो सपना छिट्टै साकार हुने छ ।