• २५ फागुन २०८२, सोमबार

राष्ट्रिय सभा सदस्यको शपथ, यस्तो छ उहाँहरूको पृष्ठभूमि

blog

काठमाडौँ, फागुन २५ गते । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार निर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको हो ।

गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित हुनुभएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको हो । १९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो । एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका ९ जना, नेकपा (एमाले) का ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित सदस्यहरूको संक्षिप्त परिचय:

महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले पटक–पटक प्रतिनिधि सभा सदस्य भएर काम गरिसक्नुभएको छ । नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभएका ठाकुर कांग्रेसको कोषाध्यक्षसमेत बन्नुभएको थियो । तर उहाँ २०६२/६३ मा भएको मधेस आन्दोलनका क्रममा कांग्रेस छाडेर मधेसकेन्द्रित राजनीतिमा लाग्नुभएको हो । ठाकुर २०४८ सालमै कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर उपसभामुख बन्नुभएको थियो । उहाँ २०५१, २०६४, २०७०, २०७४ र २०७९ मा उम्मेदवार बन्नुभएको थियो । उहाँ २०६४ र २०७० को निर्वाचनमा भने पराजित हुनुभयो ।

सुनीलबहादुर थापा

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका सुनीलबहादुर थापा राष्ट्रिय सभा सदस्य हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसकेपछि थापा निर्विरोध निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गर्नुभएका थापा हाल नेपाली कांग्रेसमा हुनुहुन्छ । थापाले यसअघि संविधान सभा सदस्य र मन्त्री भएर काम गर्नुभएको छ । २०७० सालमा धनकुटा क्षेत्र नम्बर–२ बाट संविधान सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि उहाँ २०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको थियो । २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।

रामकुमारी झाँक्री

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएकी रामकुमारी झाँक्री प्रतिनिधि सभाकी पूर्वसदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ । नेकपा (एमाले) ले २०७४ मा झाँक्रीलाई समानुपातिक सांसद बनाएको थियो । पछि उहाँ एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ सहरी विकास मन्त्रीसमेत बन्नुभयो । २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा एकीकृत समाजवादीबाटै प्रत्यक्ष निर्वाचन लड्नुभएकी उहाँ पराजित हुनुभयो । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी लगायतका पार्टी एकीकरणप्रति विमति जनाउँदै एमालेमा फर्किनुभएकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । उहाँ हाल एमालेकी केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । झाँक्री एमालेको भ्रातृ संस्था अनेरास्ववियुको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

ललितजंग शाही

नेपाली कांग्रेसका तर्फबाट कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाहीले संविधान सभा सदस्यका रूपमा काम गरिसक्नुभएको छ । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा जुम्लाबाट उहाँ निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भए पनि उहाँलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । शाही नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापतिसमेत हुनुहुन्छ । शाही २०५१ र २०५६ सालमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो भने २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर चुनाव जित्नुभएको थियो ।

रोशनी मेचे

रोशनी मेचेलाई नेकपा (एमाले) ले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उहाँ सीमान्तकृत मेचे समुदायकी हुनुहुन्छ । रोशनीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गर्नुभएको थियो । मेचेले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ ।

धमेन्द्र पासवान

मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका धमेन्द्र पासवान दलित अधिकारकर्मी हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको महासचिव भएर काम गरिसक्नुभएका रौतहट निवासी पासवानले राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गर्नुभएको छ ।

रञ्जित कर्ण

मधेस प्रदेशबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका रञ्जित कर्ण नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँले २०७० सालमा संविधान सभा सदस्य भएर पनि काम गर्नुभएको छ । विद्यार्थीकालदेखि नै कांग्रेसमा सक्रिय नेता कर्ण इन्जिनियरसमेत हुनुहुन्छ ।

रेखा झा

रेखा झालाई नेकपा (एमाले) ले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । नेकपा (एमाले) मधेस प्रदेशकी सदस्य झालाई दुई पटक एमालेले समानुपातिक सूचीमा राखेको थियो । समानुपातिकबाट सांसद बन्न असफल झा राष्ट्रिय सभा सदस्य बन्न सफल हुनुभएको छ । झाले अर्थशास्त्र र समाजशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ विगतमा मानव अधिकार एलायन्समा आबद्ध भई अधिकार र न्यायका पक्षमा काम गर्दै आउनुभएको छ ।

सोम पोर्तेल

दलित क्लस्टरअन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका सोम पोर्तेलसँग जिल्ला समन्वय समिति सभापति भएर काम गरेको अनुभव छ । पोर्तेलले नेकपा (एमाले) को वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०३५ साल फागुनमा जन्मिनुभएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ । उहाँ २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो ।

डा. प्रेम दंगाल

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएका डा. प्रेम दंगाल एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट ‘ग्रामीण अर्थतन्त्र र खाद्य सम्प्रभुता’ विषयमा विद्यावारिधि गर्नुभएको छ । लामो समयदेखि अखिल नेपाल किसान महासङ्घमा सक्रिय उहाँ हाल महासङ्घको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

गीता देवकोटा

गीता देवकोटालाई नेपाली कांग्रेसले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । २०४४ सालदेखि नेपाल विद्यार्थी सङ्घमार्फत सक्रिय राजनीतिमा प्रवेश गर्नुभएकी देवकोटा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँ मौरीपालक किसान महासङ्घकी उपाध्यक्षसमेत हुनुहुन्छ ।

जगत तिमिल्सिना

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत जगत तिमिल्सिनालाई नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उहाँ २०७३ सालदेखि कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक सङ्घको अध्यक्षसमेत हुनुहुन्छ ।

सम्झना देवकोटा

लगातार तीन वटा निर्वाचनमा पराजय भोग्नुभएकी एमालेकी सम्झना देवकोटा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट गोरखा नगरपालिकाको उपप्रमुख र २०७९ को निर्वाचनमा सोही नगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएको थियो । तर दुवै निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो । २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि देवकोटालाई एमालेले उम्मेदवार बनाएको थियो तर त्यस पटक पनि उहाँले जित्न सक्नुभएन । तर २०८२ सालमा भएको कांग्रेस–एमालेको गठबन्धनले उहाँलाई निर्वाचन जित्न सहज बनाइदिएको हो ।


मिना रखाल

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकी मिना रखाल एमालेकी नेतृ हुनुहुन्छ । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेश सभा सदस्य हुनुभएको थियो ।

चन्द्रबहादुर केसी

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित चन्द्रबहादुर केसी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँका स्थायी बासिन्दा हुनुहुन्छ । बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीको राजनीतिमा चन्द्र केसी चर्चित हुनुभएको हो । उहाँ २०५६ सालमा गुल्मीको साविक निर्वाचन क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । तर उहाँ पराजित हुनुभयो । केसी २०४९ सालमा जिल्ला विकास समिति गुल्मीको सभापति तथा २०६७ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सभापति हुनुभएको थियो । उहाँले २०२९ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको हो ।

वासुदेव जंगली

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका वासुदेव जंगली नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । दाङ जिल्लाका जंगलीलाई नेपाली कांग्रेसले अपाङ्गता कोटाबाट राष्ट्रिय सभा सदस्य बनाएको हो ।

खम्मबहादुर खाती

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य हुनुभएका खम्मबहादुर खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएर काम गर्नुभएको थियो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका खाती २०४८ सालदेखि निरन्तर वकालत पेसामा सक्रिय हुनुहुन्छ । उहाँले काठमाडौँ जिल्ला बार एसोसिएसनको नेतृत्वदेखि २०७२ सालमा नेपाल बार एसोसिएसनको महासचिव बनेर काम गर्नुभएको छ । उहाँ २०५३ सालको स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

लीलाकुमारी भण्डारी

लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको हो । उहाँ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य हुनुभएको थियो तर २०७० सालमा भने पराजित हुनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए भने नेपाली कम्युनिस्ट पार्टी एक्लै सहभागी भएको थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका थिए । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल फागुन २१ बाट सुरु भएको छ । –न्युज एजेन्सी नेपाल