विजयकुमार साह
ढल्केबर, फागुन २५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्न माग गर्दै पार्टीका नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् । सोमबार उहाँहरूले धनुषाधामस्थित मतगणना केन्द्र अगाडि धर्नामा बसेका हुन् ।
नेकपाका नेता दीपक यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणामअनुसार नेकपाका उम्मेदवार यादव विजयी भइसकेकाले प्रमाणपत्र दिनुपर्ने मागसहित धर्ना बसिएको बताउनुभयो । ढिलाइका कारण अनावश्यक आशङ्का उत्पन्न भएको भन्दै उहाँले निर्वाचन अधिकृतको कार्यालयलाई शीघ्र निर्वाचित भएको प्रमाणपत्र दिन आग्रह गर्नुभयो ।
निर्वाचन अधिकृत मनोज बरालले निर्वाचन आयोगले तत्काल निर्वाचति घोषणा नगर्न निर्देशनसहित पत्र पठाएकाले रोकिएको बताउनुभयो । आयोगबाट थप निर्देशन नआएसम्म निर्वाचति घोषणा गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि निर्वाचन आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरीका आधारमा आयोगले उम्मेदवारी खारेज गरेको बताइएको छ ।
उम्मेदवारी खारेज भए पनि प्रत्यक्षतर्फको मतपत्रमा रास्वपाको चुनाव चिन्ह घण्टीमा मत खसेको छ । सोही चिन्हमा खसेको मत अहिले विवादको विषय बनेको छ ।
नेकपाका नेताले आयोगले रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज गरिसकेकाले घण्टी चिन्हमा खसेको मत स्वतः बदर हुने र त्यसअनुसार नेकपाको चुनाव चिन्ह् तारा छापमा अग्रस्थानमा भएकाले नेकपाका उम्मेदवार यादव विजयी भएको दाबी गर्नुभयो ।
धनुषा १ निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार नेकपाको १० हजार ४३०, नेपाली कांग्रेसको नौ हजार ५०२ र नेकपा एमालेको नौ हजार ३१५ मत रहेको छ भने रास्वपाको मत सङ्ख्या सार्वजनिक गरेको छैन ।