• १६ फागुन २०८२, शनिबार

नवचेतनाले उपलब्धि समृद्ध बनाउने समय

blog

निर्वाचनपछि संविधान, सङ्घीयता, समावेशी, समानुपातिक व्यवस्थासहितका उपलब्धिलाई नवचेतनाले समृद्ध बनाउनुपर्ने सामाजिक अगुवाको राय छ । 

काठमाडौँ, फागुन १६ गते । संविधानको प्रभावकारी कार्यान्वयन र प्राप्त उपलब्धि रक्षा, सुशासन र आर्थिक रूपान्तरणका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि छ दिन बाँकी छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नवयुवाले उठाएका मुद्दा सम्बोधनसँगै देशलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउने कार्यभार पूरा गर्न ताजा जनादेशका लागि नागरिकले मतदान गर्ने भएका हुन् । 

देशका विभिन्न क्षेत्रका विज्ञले यो समयमा प्राप्त उपलब्धिलाई नवयुवाले बोध गर्नुपर्ने र नवचेतनाले देशलाई समुन्नत बनाउन अघि बढ्नुपर्ने बताउनुभएको छ । अर्थशास्त्री प्राडा कुसुम शाक्य, नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्वराजदूत प्राध्यापक विजयकान्त कर्णले लोकतान्त्रिक व्यवस्थामा पुरानो पुस्तालाई विधिविधान अनुसार नयाँ पुस्ताले विस्थापन गर्ने बताउनुभयो । 

उहाँहरूले नयाँ नेतृत्व आउँदा अविछिन्न उत्तराधिकारीका रूपमा विगतका उपलब्धिलाई ग्रहण गर्ने बताउनुभयो । प्राडा शाक्यले निर्वाचनमार्फत पारदर्शी प्रणाली, सुशासन र जवाफदेही नेतृत्व नागरिकले पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा राज्यका अङ्गलाई अझै नागरिकप्रति जवाफदेही र सिस्टम्याटिक बनाउनु पर्छ । नागरिकका असन्तुष्टि सम्बोधन गर्नु पर्छ ।”

विधि बसाल्नु महत्वपूर्ण 

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले विधि अनुसार पुरानो पुस्ताको नेतृत्वले छाड्ने नयाँ नेतृत्व आउने प्रक्रिया निर्वाचन भएको बताउँदै राज्य प्रणालीमा विधि बसाल्न यो निर्वाचन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनका सन्दर्भमा बहस भइरहेको छ । निर्वाचनले नयाँ मार्गचित्र अवश्य प्रदान गर्ने छ । हुन त कुनै काम गर्दा सबै पक्ष खुसी हुँदैनन् । कुनै पक्षले नमान्ने पनि हुन सक्छ तर सबैको समझदारीमा, अधिकतम नागरिकलाई खुुसी पार्ने गरी, सेवा पुग्ने गरी राष्ट्रका सम्पूर्ण समस्या समाधान गर्नेतर्फ अघि बढ्नु पर्छ ।” 

पूर्वराजदूत प्राध्यापक विजयकान्त कर्णले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी सुशासनको मुद्दा सबैभन्दा बढी उठेको बताउनुभयो । उहाँले अहिलेसम्म यसरी सुशासनको मुद्दा नउठेको स्मरण गर्दै सुशासनका विभिन्न पक्षमा पनि नागरिकले प्रस्ट धारणा व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रले धेरै उपलब्धि दियो तर अहिले सुशासनको मुद्दामा मतदाताले प्रस्ट रूपमा प्रश्न गरिरहेका छन् । जस्तै कम्पनी दर्ता गर्दा कति दुःख छ, विकास आयोजना समयमा सम्पन्न नहुने र अन्य आधारभूत रूप समस्या पनि समाधान नभएको परिस्थितिमा हुने निर्वाचनले समग्र सङ्कटको निकास दिनु पर्छ ।” 

निर्णायक शक्ति युवा

अर्थशास्त्री प्राडा शाक्य र पूर्वराजदूत प्रा. कर्णले युवा नै निर्णायक शक्ति भएकाले सहभागिता वृद्धि गर्दै देशलाई समुन्नतिको नयाँ चरणमा प्रवेश गराउनुपर्ने बताउनुभयो । प्राडा शाक्यले देश छाडेर विदेश नै जान खोज्ने युवा शक्तिका असन्तुष्टिको विषय, रोजगारी र सुशासनको सवाललाई मुख्य रूपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलबाट हरेक दिन १५ सयभन्दा बढी युवा विदेश गइरहेका छन् । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ भनेर खुसी हुनुको कुनै महत्व छैन । किनभने रेमिट्यास अर्थतन्त्र धान्ने स्थायी स्रोत होइन । त्यसैले जति उपलब्धि भए, ती उपलब्धिलाई ग्रहण गर्दै नयाँ सोच र नयाँ भिजनका साथ अघि बढ्नु पर्छ । महिलासहित सबैको सहभागिता पनि सुनिश्चित गर्नु पर्छ ।” 

पूर्वराजदूत कर्णले प्रत्येक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने युवा नै भएकाले अब देशको समुन्नतिका लागि पनि युवा अघि सर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२००७, २०३६, २०४६ र २०६२÷६३ को आन्दोलन राजनीतिक दलको छाताभित्र भयो तर भदौ २३ र २४ गतेको आन्दोलन नवयुवाको नेतृत्वमा भएको छ । नेपाल देशको रूपान्तरणका लागि यो नै ठुलो प्रस्थानविन्दु हो । त्यसैले नेपालले युवाकै बलमा हुने निर्वाचनबाट अहिलेसम्मका उपलब्धि जोगाएर नवयुवाको नवीन चेतनालाई अग्रगामी रूपान्तरणका पक्षमा सदुपयोग गर्नु पर्छ ।” 

निर्वाचनपछि संविधान, सङ्घीयता, समावेशी, समानुपातिक व्यवस्थासहितका उपलब्धिलाई नवचेतनाले समृद्ध बनाउनुपर्ने सामाजिक अगुवाको राय छ । निर्वाचनमार्फत देश यी राष्ट्रिय दायित्व पूरा गर्ने चरणमा प्रवेश गरेको हुनाले पछिल्लो राजनीतिक आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई अब नवचेतनामार्फत संस्थागत गर्दै समृद्धिको बाटोमा लानुपर्ने सामाजिक अगुवाको धारणा छ ।