पुष्कर भण्डारी
डडेल्धुरा, फागुन २६ गते । पश्चिम पहाडी क्षेत्रमा भारतबाट आएको वायु प्रदूषणको असर देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको गतिविधि सकिन नपाउँदै मौसममा पनि प्रतिकूल प्रभाव देखिएको छ । सामान्यतया छर्लङ्ग हिमाल देखिने डडेल्धुरामा आइतबारदेखि एक डाँडाबाट अर्को डाँडा देख्नसमेत कठिन भएको छ ।
आइतबार बिहान लुम्बिनी प्रदेशको बुटवल क्षेत्र हुँदै पहाडतर्फ प्रवेश गरेको मौसमी प्रक्रियाका कारण पश्चिम पहाडमा दिउँसै अँध्यारो जस्तो देखिएको छ भने तराई क्षेत्रमा यसको प्रभाव अझ बढी देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय डडेल्धुराका सहायक मौसमविद् मेघराज शर्माका अनुसार तराई र भारतका औद्योगिक क्षेत्रबाट निस्किएको प्रदूषण पहाडी क्षेत्रमा प्रवेश गरेकाले यस्तो अवस्था देखिएको हो । उहाँका अनुसार मध्यपूर्वका देशहरूमा भइरहेका भीषण युद्धका कारण पनि वायुमण्डलीय प्रभाव देखिन सक्ने सम्भावना रहेको छ ।
कुल भूभागको करिब ७४ प्रतिशत वनजंगलले ढाकिएको डडेल्धुरा जस्तो हरियाली जिल्लामा समेत सोमबार दिउँसो वायु प्रदूषण मापन सूचक ९एयर क्वालिटी इन्डेक्स० १५३ पुगेको छ, जुन स्वास्थ्यका लागि उपयुक्त मानिँदैन । सामान्यतया दुई सयभन्दा माथि पुगेपछि अत्यधिक अस्वास्थ्यकर मानिए पनि पहाडी क्षेत्रमा १५० भन्दा माथि पुग्नु पनि राम्रो मानिँदैन । यसले श्वासप्रश्वास र आँखामा समस्या बढाइरहेको छ ।
नेपालमा आफ्नै मौसमी प्रणाली नभएकाले छिमेकी तथा अन्य देशहरूमा विकसित हुने मौसमी प्रणालीले यहाँको मौसमलाई प्रभाव पार्ने गर्दछ । शर्माका अनुसार नेपालसँग जोडिएका भारतका उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालजस्ता राज्यहरूमा बढ्दो जनघनत्व र औद्योगिकीकरणका कारण १९८० को दशकदेखि भारत, नेपाल हुँदै बङ्गलादेशको मैदानी क्षेत्रमा यसको प्रभाव देखिँदै आएको छ ।
चिसो मौसममा तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्नु र यो समयमा धुलो तथा धुवाँका कारण आकाश धमिलो देखिनु पनि त्यसैको प्रभाव हो । यसलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनको संकेतका रूपमा पनि लिने गरेका छन् ।
उद्योगबाट निस्कने धुलो–धुवाँका कण (डस्ट पार्टिकल) स्वच्छ वायुमण्डलमा मिसिँदा प्रदूषणको मात्रा बढ्ने गर्छ । मङ्गलबारसम्म हल्का वर्षा हुने सम्भावना रहेकाले यसको प्रभाव क्रमशः कम हुँदै जाने मौसमविद् शर्माले जानकारी दिनुभयो ।
विकास निर्माणका कामबाट उठ्ने धुलो तथा किसानले खेतबारीमा बाल्ने आगोको धुवाँले पनि प्रदूषण बढाउन सहयोग गरिरहेको हुन्छ । बालबालिका र वृद्धवृद्धा यस मौसमबाट बढी प्रभावित हुने गरेका छन् । अचानक देखिएको यस्तो मौसमी अवस्था हट्न हावाहुरी चल्नु वा वर्षा हुनु आवश्यक हुन्छ । सोमबार कर्णाली र मंगलबार सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने प्रणाली विकसित भएको शर्माले बताउनुभयो ।
डडेल्धुरा अस्पतालकी चिकित्सक डा. हेमा जोशीका अनुसार अहिले अस्पतालमा दैनिकजसो २० देखि ३० जनासम्म श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउने गरेका छन् । चिसो मौसममा यस्ता बिरामीको संख्या बढ्ने गरेको उहाँले जानकारी दिनुभयो ।