राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २६ गते । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा स्याङ्जाका दुई वटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि पहिलो भएको छ ।
स्याङ्जा क्षेत्र नं. २ मा रास्वपाले सबैभन्दा धेरै मत पाएको हो । रास्वपाको घण्टी चुनाव चिह्नमा २९ हजार ५०९ मत परेको हो । यो मत प्रत्यक्षभन्दा चार हजार १५५ बढी रहेको छ ।
त्यसै गरी दोस्रो स्थानमा नेपाली कांग्रेसले १७ हजार ९३१ मत ल्याएको स्याङ्जा क्षेत्र नं. १ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा प्रत्यक्षभन्दा दुई हजार ८९९ मत थोरै परेको हो । त्यसैगरी नेकपा (एमाले) को सूर्य चुनाव चिह्नमा ११ हजार ६ मत पाएको छ । यो प्रत्यक्षभन्दा तीन हजार १०२ मत कम हो ।
यहाँ राप्रपाको चुनाव चिह्न हलोले एक हजार ३४९ मत ल्याउँदा नेकपाको चुनाव चिह्न पाँचकुने ताराले एक हजार ४७ मत प्राप्त गरेको छ । यसैगरी श्रम संस्कृति पार्टीले पनि एक हजार मत कटाएको छ । उसले एक हजार नौं मत पाएको हो ।
समानुपातिकतर्फ ५८ दल रहेकोमा यस क्षेत्रबाट गतिशील लोकतान्त्रिक पार्टी, स्वाभीमान पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले खाता खोल्न सकेनन् । उनीहरुलाई कुनै पनि मतदाताले मतदान गरेनन् ।
क्षेत्र नं. २ मा ६५ हजार १३० मत खसेकोमा एक हजार ९९९ मत बदर भएको हो । यहाँ एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । क्षेत्र नं. २ को मतगणना आज बिहान सकिएको हो ।