जनार्जन खत्री
सर्लाही, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्त लोकप्रिय मत प्राप्त गरेको छ ।
सोमबार साँझ समानुपातिकतर्फको मतगणना सकेर सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार रास्वपाले यहाँबाट ४६ हजार ४४१ मत प्राप्त गरेको हो । समानुपातिकमा पार्टीले प्राप्त गरेको मत प्रत्यक्षतर्फ निर्वाचित पार्टीका उम्मेदवार नीतिमा भण्डारी कार्कीले प्राप्त गरेको भन्दा दुई हजार २६० मतले बढी हो ।
भण्डारी ४४ हजार १८१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो । सर्लाही १ मा समानुपातिकतर्फ दोस्रो धेरै मत नेपाली कांग्रेसले प्राप्त गरेको छ ।
कांग्रेसले यस क्षेत्रबाट समानुपातिकमा छ हजार ३६५ मत प्राप्त गरेको छ । जुन मत पार्टीका उम्मेदवार शम्भुलाल श्रेष्ठले प्राप्त गरेको भन्दा एक हजार ५०६ मतले कम हो ।
समानुपातिकतर्फ सर्लाही १ मा नेकपा एमालेले चार हजार ६२९, नेपाली कम्युनिष्ट पार्टीले चार हजार १९१, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेको बाँसुरी चुनाव चिन्ह भएको राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार ४७२, जनता समाजवादी पार्टी नेपालले दुई हजार ८३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक हजार २३०, जनमत पार्टीले एक हजार ९० मत प्राप्त गरेका छन् ।
सर्लाही १ मा समानुपातिकतर्फ ७९ हजार ४९० मत खसेकोमा तीन हजार ४८१ मत बदर भएको निर्वाचन अधिकृत टीकाबहादुर थापाले जानकारी दिनुभयो ।