• १९ वैशाख २०८३, शनिबार

स्वर्गद्वारीमा १३० वर्षदेखि निरन्तर अखण्ड यज्ञ

blog

प्यूठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्यूठान, वैशाख १८ गते ।
स्वर्गद्वारीमा सुरु गरिएको अखण्ड यज्ञ १३० वर्षदेखि निरन्तर प्रज्वलित रहँदै आएको छ । बाल तपस्वी नारायण गौतमले वि.सं १९५२ साल वैशाख शुक्ल पूर्णिमाका दिन वेदमन्त्रद्वारा यज्ञ स्थापना गर्नुभएको हो ।

विश्व शान्तिको कामना गर्दै महाप्रभुले यज्ञ स्थापना गर्नुभएको मानिन्छ । विश्वमा धर्म हराउँदै गएकोले धर्मको रक्षा गर्न यज्ञ स्थापना गरिएको विश्वास गरिन्छ । यज्ञलाई निरन्तर सञ्चालन गर्न आग्रह गर्दै उहाँ १९९७ सालमा परमधाम हुनुभएको थियो । यज्ञको विभूति प्रसादका रूपमा भक्तजनलाई वितरण गरिन्छ ।

शान्ति र मोक्ष प्राप्तिका लागि स्वर्गद्वारीमा भक्तजन पुग्ने गरेका छन् । वैशाख पूर्णिमाको अवसरमा शुक्रबार नेपालका विभिन्न स्थान तथा भारतको उत्तर प्रदेशबाट समेत भक्तजन आएका थिए । स्वर्गद्वारी पुग्नुभएका सागर शर्माले आश्रममा पुगेर मन आनन्दित भएको बताउनुभयो ।

स्वर्गद्वारीमा यज्ञ सञ्चालन गरेर पाँच पाण्डव स्वर्ग गएको किंवदन्ती पनि रहेको छ । यहाँ दर्शन गरेमा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । स्वर्गद्वारीमा करिब पाँच सय गाई रहेका छन्, जहाँ गौमाताको दर्शन पनि गरिन्छ ।

स्वर्गद्वारीसम्म हाल कालोपत्रे सडक पुगेकाले भक्तजनलाई आवागमनमा सहज भएको छ । करिब दुई हजार एक सय मिटर उचाइमा अवस्थित स्वर्गद्वारीबाट विभिन्न हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ वैशाख पूर्णिमा, गाई तिहार (औँसी) र माघे संक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ । अन्य समयमा पनि नियमित पूजा–आजा हुने गरेको छ ।

सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न दर्शनार्थीलाई अझ सहज भएको छ ।