• २६ फागुन २०८२, मङ्गलबार

राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिरामीको चाप बढ्दो

blog

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम दर्ताका लागी भिड । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन २६ गते ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानका अनुसार आइतबार र सोमबार दुई दिनमा मात्रै दुई हजार ९८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।

प्रतिष्ठानले दिएको विवरण अनुसार आइतबार एक हजार ३५ जना र सोमबार एक हजार ६३ जना बिरामीले सेवा लिएका हुन्। पछिल्लो समय न्युरो, युरो र मुटुरोगलगायत विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सक थपिँदै गएकाले सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको प्रतिष्ठानका उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताउनुभयो । अहिले दिनप्रतिदिन सेवा लिने बिरामीको सङ्ख्या वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानमा न्युरो, युरो तथा मुटुरोगका विशेषज्ञसहित अन्य विभागमा पनि क्रमशः विशेषज्ञ चिकित्सक थपिँदै जाँदा सेवाग्राहीको आकर्षण बढेको उहाँले बताउनुभयो।

यसैबिच प्रतिष्ठानले औषधी परामर्श कक्ष सञ्चालनमा ल्याएको छ। बिरामीलाई औषधीबारे आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको उपकुलपति लम्सालले जानकारी दिनुभयो। फार्मेसीबाट प्राप्त हुने औषधीबारे ज्ञानको अभावका कारण बिरामी अलमलमा नपरोस् भन्ने उद्देश्यले यस्तो सुविधा सुरु गरिएको उहाँको भनाइ छ। जिल्लामै यो अभ्यास नयाँ भएको बताउँदै उहाँले अब औषधी परामर्श कक्षमार्फत बिरामीले आफूले सेवन गर्ने औषधिबारे स्पष्ट जानकारी पाउन सक्ने बताउनुभयो।