• १२ कात्तिक २०८२, बुधबार

लेक लागेर तीन जनाको ज्यान गयो

blog

मनाङको नार्पाभूमी

काठमाडौँ, कात्तिक १२ गते । नेपालमा यो वर्ष कात्तिक महिनामै हिउँ परेको छ । बेमौसमी हिमपातका कारण लेक लागेर तीन जनाको ज्यान गएको छ । सोलुखुम्बुमा एक जना कोरियाली पर्यटक र मनाङमा एक जना नेपाली पथपदर्शकको लेक लागेर मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विद्यालयको शैक्षिक भ्रमणमा गएका एक जना कार्यालय सहयोगीको मुस्ताङको मार्फामा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै मनाङको तिलिचोताल घुम्न गएका काठमाडौँका ४५ वर्षीय एक जनाको लेक लागेर बेहोस भएको अवस्थामा उद्धार गरिएको छ ।

विगतका वर्षमा पुस, माघ र फागुनताका मात्र उच्च हिमाली भेगमा हिउँ पर्ने गरेकामा यस वर्ष तल्लो उच्च भूभागमा समेत कात्तिक महिनामै हिउँ परेको हो । कात्तिक महिनामै हिउँ परेपछि देशका विभिन्न भूभागमा एक्कासि चिसो बढेर जनजीवन प्रभावित बनेको छ । बाटो, नदी, पुलपुलेसा सबै हिउँले ढाकिएपछि हिमाली भेगमा घरबाट निस्कन र यात्रा गर्न कठिन भएको छ । 

उच्च हिमाली क्षेत्र सगरमाथा, अन्नपूर्ण, धवलागिरिलगायत पूर्वदेखि पश्चिमसम्मका हिमाली भेगमा हिउँ परेको छ । सगरमाथा आधार शिविर क्षेत्रदेखि माथि सोमबार साँझदेखि नै हिउँ पर्न थालेको त्यहाँस्थित पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज बिहानदेखि पनि लगातार हिउँ परिरहेको छ, जति साँझ पर्दै गयो, उति हिउँ बाक्लिँदै जाँदै छ ।” उता डोल्पा, मनाङ, मुस्ताङ, गोरखा र जोमसोमको उच्च भेगमा पनि मध्यमदेखि भारी हिमपात भएको छ । सोमबार रातिदेखि बङ्गालको खाडीमा उत्पन्न मोन्था चक्रवात, अरब सागरमा विकसित भएको न्यूनचापीय प्रणालीसहित पश्चिमी वायुको त्रिपक्षीय प्रभावले हिमपात र वर्षा गराएको हो । मोन्था चक्रवात मङ्गलबार शक्तिशाली बन्दा भारतका विभिन्न प्रान्तमा उच्च सतर्कता अपनाइएको छ । जसका कारण उत्पन्न जलवाष्पयुक्त वायु नेपाल प्रवेश गर्ने क्रममा छ । 

यस्तै अरब सागरमा विकसित प्रणालीसँगै बलियो बनेको पश्चिमी वायुका कारण देशव्यापी बदलीसँगै उच्च हिमाली भेगमा भारी वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मौसमविद् सरोज पुडासैनीका अनुसार उच्च हिमाली भेगमा भारी हिमपात र अलिक तल्लो भेगमा भारी वर्षा रेकर्ड भएको छ । मनाङको चामे क्षेत्रमा ५०.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । जुन हिमाली क्षेत्रका लागि अति भारी वर्षा हो । त्यस्तै जोमसोम क्षेत्रमा ४१ मिलिमिटर वर्षा भएको छ । त्यस्तै गरी पश्चिमी भेगको डोल्पा, मुस्ताङ, गोरखाको तल्लो लेकहरूमा पनि भारी वर्षा रेकर्ड भएको उहाँले जानकारी दिनुभयो । गोरखाको हिउँरेखाभन्दा तलको सामा गाउँमा १२.८ मिलिमिटर वर्षा भएको उहाँले बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमपातको क्रम अझै केही दिन जारी रहने छ । वर्षाको क्रम भने बुधबार थोरै मत्थर हुँदै बिहीबारदेखि फेरि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बदली, वर्षा र हिमपातको असर शनिबारसम्म कायम रहने भएको छ । काठमाडौँ उपत्यकामा पनि सोमबारदेखि नै बदलीसहित हल्का वर्षा भएको छ । वर्षा ठुलो नभए पनि आसपासका हिमाली भेगमा हिउँ परेकाले चिसो बढेको छ । 

चन्द्रागिरि, फूलचोकी र नगरकोटका डाँडा हिउँ पर्ला जसरी सिमसिम पानी पर्दै कुहिरोले ढाकिएका छन् । चिसो हावा अत्यधिक बहनाले पनि वायुमण्डलमा चिसो बढेको मौसमविद्ले जनाएका छन् । बुधबार काठमाडौँमा वर्षा नभए पनि हल्का बदली कायम रहँदै चिसो पनि कायम रहने जनाइएको छ । केही दिन मौसमको जानकारी लिएर मात्र यात्रामा हिँड्न महाशाखाले अनुरोध गरेको छ ।