वासिङ्टन, फागुन २८ गते । मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबिच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारसँग भएको भेटलाई ‘फलदायी’ भएको बताउनुभएको छ । इरान युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबिच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।
फ्लोरिडामा भएको उक्त छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वैश्विक दूत स्टिभ विटकफ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार जोश ग्रुएनबाम सहभागी भएको बताइएको छ । दिमित्रीभले सामाजिक सञ्जाल एक्समार्फत उहाँहरूलाई धन्यवाद दिँदै बैठक सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले ‘स्टिभ, जारेड र जोशसँग भएको बैठकका लागि धन्यवाद, छलफल निकै फलदायी रह्यो’ भन्दै पोस्ट गर्नु भएको थियो ।
यसअघि विटकफले पनि टोलीले विभिन्न विषयमा छलफल गरेको र आगामी दिनमा सम्पर्क कायम राख्ने सहमति भएको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता गर्नु भएको थियो । त्यसपछि ट्रम्पले पुटिन मध्यपूर्वको युद्धसँग सम्बन्धित विषयमा ‘सहयोगी’ हुन इच्छुक देखिएको बताउनुभएको थियो ।
फ्लोरिडाको बैठक त्यतिबेला भएको हो जतिबेला अमेरिका केही दिनअघि मात्रै रुसी तेलमाथि लगाइएका केही प्रतिबन्ध हटाउने निर्णयमा पुगेको थियो । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि वासिङ्टनले ती प्रतिबन्ध लगाएको थियो । अहिले मध्यपूर्वमा युद्धका कारण ऊर्जा बजार अस्थिर भइरहेका बेला यस्तो निर्णय आएको हो ।
बैठकपछि दिमित्रीभले वासिङ्टनले रुसी तेलको महत्त्व अझ स्पष्टरूपमा बुझ्न थालेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुधार गर्ने सम्भावना र विश्व ऊर्जा बजारमा देखिएको सङ्कट समाधान गर्न सक्ने परियोजनाबारे पनि छलफल गरेका छन् ।
टेलिग्राममा लेख्दै उहाँले विश्व अर्थतन्त्रको स्थिरतामा रुसी तेल र ग्यासको महत्त्वपूर्ण भूमिका रहेको धेरै देशले अहिले बुझ्न थालेको उल्लेख गर्नुभयो । साथै रुसविरुद्ध लगाइएका प्रतिबन्ध प्रभावकारी नभएको र त्यसले नकारात्मक असर पारिरहेको बुझाइ पनि विस्तारै बढिरहेको उहाँले बताउनुभयो । रासस/एएफपी