राममणि दाहाल
मकवानपुर, चैत २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताउनुभएको छ ।
उहाँले वर्तमान सङ्घीय सरकार सङ्घीयता र प्रदेश सरकारप्रति सकारात्मक रहेको आफूले पाएको भन्दै बागमती प्रदेशका सुशासन, पारदर्शीता र जवाफेदेहिता, जनताप्रति उत्तरदायी र जिम्मेवार सरकार भएको बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार पत्रकारसँगको छलफलमा उहाँले सङ्घीय सरकारले प्रदेश संरचनाप्रति प्रतिबद्ध रहेर काम गरिरहेको सन्दर्भमा प्रदेश सरकारले सहकार्य काम गर्ने बताउनुभयो ।
लामो समयदेखि बागमती प्रदेश सरकारको संरचना निर्माणसम्बन्धी जग्गा भोगाधिकारको फाइल रोकिए रहेको अवस्थामा अघिल्लो सरकारले मन्त्रीपरिषद् बैठकबाट टुङ्गो लगाएको स्मरण गर्दै उहाँले भन्नुभयो हाम्रो भवन बनाउन सङ्घीय सरकारले चासो राख्नु, जग्गा भोगाधिकारका लागि क्यबिनेटबाट पास गर्नुले सङ्घीय सरकार सङ्घीयता र प्रदेश संरचनाप्रति प्रतिबद्ध छ भन्ने पुष्टि गर्ने आधार हुन् ।
हामीले नागरिकको पक्षमा काम गर्नु, आफू नेतृत्वको सरकारले खर्च कटौती र सुशासनको कार्ययोजना अघि सारेको सुनाउँदै प्रदेश संरचनामाथि प्रश्न उठिरहेका अवस्थामा अनावश्यक प्रशासनिक बोझ र अनुपात्पादक क्षेत्र लगानी घटाएर विकास निर्माणमा केन्द्रित हुने गरी योजना तयार गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, "प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन कार्य अन्तिम चरणमा रहेको छ, प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटामा झार्ने गर्ने गरी तयारी गरिएको छ।"
उहाँले कर्मचारी सङ्ख्या कटौती गरिने छ, अनावश्यक रुपमा रहेका बोर्ड, समिति, निर्देशनालय गरी सात मध्ये पाँच वटा खारेज गर्ने प्रक्रिया अघि बढाइएको, सरकारी पैसा खर्चेर मन्त्री र कर्मचारीहरू वैदेशिक भ्रमणमा जान नपाउने व्यवस्थासँगै सरकारले तालिम, गोष्ठी र सङ्घसंस्थालाई दिने अनुदानमा समेत ५० प्रतिशतले कटौती गरिएको बताउनुभयो।
उहाँले आगामी बजेटबाट सरकारको खर्चलाई नतिजामुखी र राजस्व सङ्कलनलाई प्रभावकारी बनाइने भन्दै उहाँले प्रदेश सरकारले अब वितरणमुखीभन्दा उत्पादन र आयआर्जन लक्षित कार्यक्रमलाई प्राथमिकता दिने भन्दै भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश बनाउन सूचना र प्रविधिको प्रयोगमा जोड दिइएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनशचन्द्र देवकोटाले मन्त्रालयका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।