विराटनगर समाचारदाता
विराटनगर, चैत २३ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकारले निजी क्षेत्रलाई हेर्ने र परिभाषित गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेश सभाको उद्घाटन गर्दै उहाँले नयाँ सरकारले निजी क्षेत्रलाई प्रवर्धन गर्ने कार्यक्रम लागु गरेकोमा स्वागत पनि गर्नुभयो ।
उहाँले अब सरकारबाट पहिले थुन्ने अनि सुन्ने क्रम बन्द हुने आश्वासन पाएको बताउनुभयो हो । उहाँले महासङ्घकै सुझाव अनुसार वर्तमान सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रवर्धन गर्न पिएसपी कार्यक्रम लागु गरेको दाबी गर्नुभयो ।
प्रदेशको समग्र आर्थिक अवस्था, निजी क्षेत्रले झेल्नु परेका चुनौती र आगामी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाली अर्थतन्त्रको वर्तमान स्वरूप र निजी क्षेत्रको मनोबल खस्कँदै गएकोप्रति गम्भीर चिन्ता गर्नुभयो ।
“निजी क्षेत्र निरुत्साहित भयो भने लगानी घट्छ, उद्योगहरू बन्द हुन थाल्छन्, रोजगारीका अवसर गुम्छन् र अन्ततः युवा बिदेसिन बाध्य भई देशको अर्थतन्त्र थप कमजोर बन्छ,” राउतले भन्नुभयो ।
निजी क्षेत्रमाथि हुने भौतिक र मानसिक आक्रमणको असर गहिरो हुने भन्दै उहाँले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्नुभयो । तथापि हालै नियुक्त अर्थमन्त्रीले लिनुभएको नीतिगत सुधारका प्रयास, निजी क्षेत्रमैत्री दृष्टिकोण र सरकारले अघि सारेको ‘१०० बुँदे’ कार्ययोजनाले केही आशा जगाएको उहाँले उल्लेख गर्नुभयो ।