अमरराज नहर्की
तनहुँ, चैत २३ गते । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गतको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि कायम वन क्षेत्रको अवरोध हटेको छ । रुख कटानको कानुनी र आर्थिक जटिलता समाधान भएसँगै आयोजनाको कामले गति लिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार वन क्षेत्र प्रयोग र रुख हटाउन पूर्वस्वीकृति प्राप्त भए पनि क्षतिपूर्ति बापतको रकम व्यवस्थापनमा ढिलाइ हुँदा काम प्रभावित भएको थियो । हालै अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भई वन तथा भू–संरक्षण विभागसँग औपचारिक सम्झौता सम्पन्न भएपछि फिल्डमा काम गर्ने बाटो खुलेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार अहिले तनहुँ र चितवनका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुखहरूको छपान (मार्किङ) कार्य भइरहेको छ । प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे) भित्र पर्ने नौ हजार १२७ वटा रुखहरू छनोट गर्ने काम अघि बढाइएको छ ।
कूल ३४.७ किलोमिटर लामो यस प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गरिने छन् । जसमध्ये ७८ वटा टावरको जग हालिसकिएको र ६९ वटा टावर जडान भइसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार प्रसारण लाइनका लागि आवश्यक ९९ प्रतिशत सामान निर्माणस्थलमा आइपुगिसकेका छन् । वनको समस्या सुल्झिएकाले अब तार तान्ने र बाँकी टावर ठड्याउने कामले गति पाएको छ ।
प्याकेज–३ अन्तर्गतको यस प्रसारण लाइनको समग्र भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । भारतीय ठेकेदार कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले अहिले बाँकी कामलाई द्रुत गतिमा अघि बढाएको छ । १४० मेगावाट क्षमताको यस आयोजनाको अन्य प्याकेज (बाँध र विद्युत् गृह निर्माण) को काम पनि सन्तोषजनक रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ । ५० करोड ५० लाख अमेरिकी डलर लागातको यस आयोजनामा एडिबी, जाइका, ईआईबी र नेपाल सरकारको लगानी छ ।