• २३ चैत २०८२, सोमबार

तनहुँका क्रसरमा अनुगमनः चार उद्योगको बिजुली काटियो

blog

त्रिशुली नदीमा सञ्चालन गरिएको क्रसर उद्योग । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, चैत २३ गते ।
तनहुँ जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले वातावरणीय मापदण्ड र सञ्चालन प्रक्रिया पालना गरे/नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा आवश्यक प्रक्रिया र नियम पूरा नगरेको पाइएपछि चार वटा क्रसर उद्योगको विद्युत् लाइन काटिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा आइतबार खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा रहेका उद्योगहरूको स्थलगत निरीक्षण गरेको थियो । सो क्रममा व्यास नगरपालिका–१३ बेलबासमा रहेका दुई, ऋषिङ गाउँपालिका–१ झापुटारको एक र आँबुखैरेनी गाउँपालिकाको सत्रसय क्षेत्रमा सञ्चालित एक गरी चार वटा उद्योगले कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि तत्काल विद्युत् लाइन काट्न निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले लामो समयदेखि क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको र राजस्व चुहावट गरेको गुनासो आएपछि हामीले अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा कैफियत देखिएका उद्योगहरूलाई तत्काल कारबाही प्रक्रिया अघि बढाइएको छ र मापदण्ड पूरा नगरेसम्म विद्युत् सुचारु नहुने प्रशासनले जनाएको छ । अनुगमन टोलीले केही उद्योगका महत्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको छ । ती उद्योगहरूलाई तीन दिनभित्र आवश्यक प्रमाणसहित उपस्थित हुन निर्देशन दिइएको छ । टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जिल्लामा झण्डै तीन दर्जन क्रसर उद्योग सञ्चालनमा रहे पनि अधिकांशले आवश्यक मापदण्ड पूरा नगरी काम गरिरहेको प्रारम्भिक अनुगमनले देखाएको छ । प्रशासनले उजुरीका आधारमा मात्र नभई अब नियमित रूपमा यस्ता अनुगमनलाई निरन्तरता दिने र अवैध रूपमा सञ्चालित उद्योगमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ । अनुगमन जारी राखिने प्रशासनले जनाएको छ ।