सिन्धुलीमाढी, चैत २३ गते। सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।
‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारी नीतिअनुसार यो अस्पताल सञ्चालनमा आएको हो। सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकाले पनि आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारका अनुसार आइतबार एक समारोहबिच अस्पताल उद्घाटन गरी सेवा सुरु गरिएको हो। अस्पतालको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभयो। सो अवसरमा अस्पताल भवन निर्माणका लागि जग्गा निःशुल्क उपलब्ध गराउने तुलसीबहादुर श्रेष्ठ, रुद्रबहादुर विक, पदमबहादुर कटुवाल र दिलबहादुर श्रेष्ठलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
उक्त वडामा सञ्चालित स्वास्थ्य चौकीलाई उन्नत गर्दै १० शय्याको आधारभूत अस्पतालमा रूपान्तरण गरिएको छ। गाउँपालिकाको जनसङ्ख्या करिब २५ हजार भएकाले सरकारको मापदण्डअनुसार १० शय्याको अस्पताल स्थापना गरिएको हो। हाल अस्पतालमा दुई जना एमबिबिएस चिकित्सकको व्यवस्था छ र स्थानीयस्तरमै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ।
अध्यक्ष सुनुवारले भन्नुभयो, “दुई जना चिकित्सकसहित १७ जना जनशक्तिको व्यवस्था गरी स्वास्थ्य सेवा दिइरहेका छौं। भवन निर्माण पूरा भएपछि सेवा सुरु भएको करिब एक वर्ष भइसकेको छ। एक्स–रे, प्रसूति, स्वास्थ्य बीमाको प्रथम बिन्दु कार्यान्वयन लगायतका आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालनमा छन्।”
गाउँपालिकाका अनुसार अस्पताल भवन संघीय सरकारको १० करोड रुपैयाँ सहयोगमा २०७७ असारदेखि निर्माण सुरु भई एक वर्षअघि सम्पन्न भएको हो। भवन निर्माण गौरीमाई कन्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेर जिम्मा पाएको थियो, तर विभिन्न कारणले समयमै सकिन नसकेपछि पटक–पटक म्याद थप गरिएको थियो।
पूर्वी विकट क्षेत्रमा रहेको फिक्कलमा चिकित्सकसहितको अस्पताल नहुँदा स्थानीय बासिन्दा अन्यत्र उपचार खोज्न बाध्य हुँदै आएका थिए। नयाँ अस्पताल सञ्चालनमा आएपछि महाभारत क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ।
हाल सिन्धुली जिल्लामा कमलामाई नगरपालिकामा १०० शय्याको अस्पताल सञ्चालनमा रहेको छ भने बाँकी गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण धमाधम जारी छ।