• २३ चैत २०८२, सोमबार

राजाको माले साँढे

blog

राजा रणबहादुर शाह सन्काहा स्वभावका थिए । उनका पालामा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा सरकारी गोठ थियो । त्यस गोठमा धेरै गाई र साँढे पालिएका थिए । ती साँढेमध्ये एउटा सबैभन्दा अजङ्गको थियो । त्यसको नाम माले साँढे राखिएको थियो । राजा रणबहादुर शाह त्यस माले साँढेका परम् भक्त थिए । राजाले माले साँढेलाई तपाईं भनेर सम्बोधन गर्थे । राजाले साँढेलाई तपाईंनेर आदर गरेपछि गोठालाले त ‘हजुर सरकार’ भन्नै प¥यो ।  

राजा रणबहादुर शाह माले साँढेको दर्शन गर्न बारम्बार गौचरण गइरहन्थे । एक दिन सबै गोठाला र गोठका वैद्यलाई भेला पारेर राजाले आदेश दिए, “यस गोठका सबै गोठाला र वैद्य सुन । माले साँढेको ज्यान केही गरी तलमाथि भयो भने यहाँ काम गर्ने सबै गोठाला र वैद्यलाई मृत्युदण्ड दिइने छ ।”

राजाको हुकुम सुनेर सबै गोठाला थर्कमान भएका थिए । उनीहरू सबै गाईवस्तुको सेवा गर्दथे । माले साँढे जण्ड र मान्छेलाई हान्ने भए पनि राजाको डरले उसको अझ ख्याल गर्दथे । 

एक दिनको कुरा हो माले साँढे बिरामी भयो । सबै गोठालाले हरियो घाँस ल्याएर खोले पकाएर माले साँढेलाई खुवाउन खोजे तर उसले केही पनि खाँदै खाएन । एक जना गोठालाले भन्यो, “यो माले साँढे म¥यो भने हाम्रो त ज्यान रहँदैन ।” वैद्यले माले साँढेको अनेक उपचार गरे तर कुनै उपचारले पनि काम गरेन । एक दिन बिहान सुतेर तनक्क तन्केको माले साँढेले प्राण त्याग ग¥यो । माले साँढे मरेपछि गोठाला र वैद्यको होस हवास उड्यो । उनीहरू सबै रुन कराउन थाले । बिलौना गर्न थाले । भगवान्को नाम लिन थाले । उनीहरूलाई राजाले मृत्युदण्डको डर देखाएका थिए । पहिले यस्तै घटनामा एउटा साँढे मर्दा पनि वैद्य र गोठालालाई मृत्युदण्डको सजायँ भएको थियो रे ।  

त्यसैबिच वैद्यले भन्यो, “म राजालाई माले साँढे बिरामी होइबक्सन्छ भन्ने जानकारी दिन जान्छु ।”

यति भनेर वैद्य राजदरबारतिर दगु¥यो । उसले राजा रणबहादुर शाहका सामु परेर आँखाबाट आँसु झार्दै भन्यो, “महाराजको जय होस्, महाराज !”

“के खबर छ वैद्य ? भनिहाल !” राजाले भने । 

“महाराज, माले साँढे !” यति भनेर वैद्य भक्कानियो । 

“के भयो माले साँढेलाई ?” राजाले सोधे ।

“माले साँढे बिरामी होइबक्सन्छ । हावापानी परिवर्तन गर्न तुरुन्त माले साँढेलाई बाहिर लान पर्ला जस्तो छ, सरकार !” वैद्यले रुँदै बिन्ती बिसायो । माले साँढे बिरामी भएको कुराले राजा पनि चिन्तित भए ।  

“वैद्य तिमी पीर नलिई जाँदै गर । म माले साँढेको दर्शन गर्न केहीबेरमै आउने छु ।”

वैद्य त्यहाँबाट वायुवेगमा दौडिएर गौचरण पुग्यो । उसले सबै गोठालालाई राजासँगका कुरा बतायो । वैद्यले सबै गोठालालाई गोप्य रूपमा केही कुरा सिकायो । 

राजा हात्तीमा चढेर त्यहाँ पुग्दा चार जना गोठालाले माले साँढेका एउटा एउटा खुट्टा मिच्दै थिए । अर्का दुई जना गोठाला साँढेका शरीरमा पङ्खा हम्केर बसेका थिए । दुई जना गोठाला अगाडि बसेर ‘यति त खाइबक्सियोस् माले साँढे, हजुरका लागि हामीले के के फलफूल ल्याएका छौँ, पुलुक्क हेरिबक्सियोस् त’ भन्दै विलौना गरिरहेका थिए । अरू दुई जना गोठालाले साँढेको पेट सुमसुम्याइरहेका थिए ।

राजाले गोठालाले माले साँढेलाई माया गरेको देखे । राजाले हात्तीबाट उत्रेर भने “माले साँढे, तपाईंलाई अहिले कस्तो छ ?” उनले गएर माले साँढेलाई आफ्ना हातले छामे । त्यसपछि राजाले भने, “ए वैद्य हो, ए गोठाला हो, माले साँढे त मरिसक्नु भएछ त ।”

राजाका कुरा सुनेर गोठाला छाती पिटिपिटी रुन कराउन, चिच्याउन थाले । फलफूल दिंँदै गर्ने दुई जना  गोठालाले रुँदै ठुलो स्वरमा भने, “माले साँढे, बरु हामी मर्नु पर्दथ्यो नि, हजुरबिना हामी कसरी बाँचू ?”

वैद्यले भन्यो “सरकार, यो माले साँढेलाई फलफूल ख्वाउन खोज्ने बिलौना गरेर रुने दुई जना गोठालाले माले साँढेलाई नखुवाई कहिले पनि खाँदैन थे । अब उनीहरूले कसरी मन थाम्लान् ?”

“पचास पचास रुपियाँ बक्सिस पाउने भयौ, पीर नलेओ !” राजाले भने । त्यसै गरी वैद्यले फेरि भने, “यी माले साँढेका गोडा मिच्ने चार जना गोठालाले माले साँढेका गोडा मिच्नका लागि बुढाबुढी भएका बाआमा नभनी, आफ्नो परिवार नभनी माले साँढेको गोडा मिच्ने गर्दथे । यिनीहरूले कसरी चित्त बुझाउँलान् ?”

“ए गोठाला हो, पीर नगर । तिमीहरू सबैले माले साँढेको सेवा गरेका रहेछौ, मैले थाहा पाएँ तिमीहरू प्रत्येकले ५०/५० रुपियाँ बक्सिस पाउने छौ । रुने काम बन्द गर” राजाले हुकुम गरे । 

त्यसपछि त वैद्य घुँक्क घुँक्क गर्दै रुन थाल्यो । उसले भन्यो, “सरकार, मैले त भर्खर बिहे गरेकी श्रीमतीको माया पनि नभनी माले साँढेको सेवा गरेर बसेँ । अब माले साँढे नै नरहेपछि मैले कसरी चित्त बुझाउनु ? सरकार !” यति भनेर वैद्यले छातीमा मुड्की बजारेको थियो । 

राजाले त्यसैबेला आदेश दिए, “पीर नगर वैद्य, एक सय रुपियाँ बक्सिस पाउने भयौ । अब माले साँढेलाई गाड्ने व्यवस्था गर । म माले साँढेको पार्थिव शरीरमा फूलगुच्छा चढाएर दरबार फर्कन्छु ।” राजा साँढेको शवमा फूलगुच्छा चढाएर दरबारतिर लागे ।

राजा दरबारतिर लागेपछि वैद्य र गोठालाले मुखामुख गरे । उनीहरू हाँसे । मक्ख परेर कोदाला लिएर मुसुमुसु हाँस्दै, खुसी हुँदै माले साँढेको चिहानका लागि खाल्डो खन्न थाले । खाल्डो तयार भएपछि सबै गोठालाले होस्टे हैंसे गर्दै माले साँढेलाई खाल्डोमा हालेर पुरपार पारे ।

त्यहीबेला एक जना गोठालेले भन्यो, “हान्ने साँढे थियो, आजदेखि म¥यो, अब ढुक्क भयो ।” 

उनीहरू सबैले वैद्यको बुद्धिको प्रशंसा गरे । वैद्यले त्यति बुद्धि नपु¥याएका भए उनीहरूको हविगत पनि धेरै वर्ष पहिले पुत्ले साँढे मर्दा गोठाला र वैद्यको जे हविगत भएको थियो त्यही हुने थियो । अर्थात् सबै मारिनु पथ्र्याे ।   

   मुना